राष्ट्रिय युवा सङ्घ नेपालले युवामा सकारात्मक सोचको विकास गर्न ‘युवा साहित्यिक सम्मेलन’ आयोजना गरेको छ। अहिले युवाहरूमा बढ्दै गएको नकारात्मक सोचलाई साहित्यमार्फत सकारात्मक बनाउन सम्मेलन आयोजना गरिएको सङ्घका उपाध्यक्ष प्रकाश गौतमले पत्रकार भेटघाटमा बताए।
‘अहिले सामाजिक सञ्जालमा युवाहरूका धेरै नकारात्मक कुरा आउने गरेका छन्,’ उनले भने, ‘हामीले सम्मेलनमार्फत वक्तृत्वकला, निबन्ध, कविता, गजल विधाबाट युवालाई सकारात्मक सन्देश दिन खोजेका छौँ।’ सम्मेलनमा भाषा, भाव र विचारको माध्यमबाट नेपाली साहित्यले समकालीन यथार्थ झल्काउनुका साथै युवालाई भविष्यको बाटो देखाउने प्रयास गरिने उनको भनाइ छ।
सङ्घका शिक्षा विभाग प्रमुख तथा सचिव कुवेर अधिकारीले युवाहरूमा सकारात्मक सोचको विकास गरी आत्मविश्वास दिलाउन र राष्ट्र निर्माणमा योगदान गर्न सम्मेलन आयोजना गरिएको बताए। ‘बौद्धिक र सकारात्मक सोचका युवाः युग परिवर्तनका खम्बा’ मूल नाराका साथ युवा साहित्यिक सम्मेलन यही २० गते काठमाडौँमा हुने छ।
वक्तृत्वकला प्रतियोगितामा पहिलो हुनेलाई १ लाख रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार तोकिएको छ। निबन्ध प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ दिइने छ। कविता र गजल प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ। पहिलो चरणमा सहभागी भएर छनोट भएका प्रतियोगीलाई सङ्घले तालिम दिएर दोस्रो चरणमा सहभागी गराउने सचिव अधिकारीले बताए। सम्मेलनमा युवाहरूले मुलुकका लागि सकारात्मक सन्देश दिने खालका कविता, गजल, निबन्ध र वक्तृत्वकला प्रस्तुत गर्ने छन्।
‘समावेशी लोकतन्त्र: राष्ट्र निर्माण र राष्ट्रियताको मूलमन्त्र’, ‘हरेक क्षेत्रमा विकास र सुधारको नयाँ थालनीः समृद्ध नेपाल, सुखी नेपाली’, ‘नागरिक एपको विकास र उपलब्धता: जनमुखी सेवा र विद्युतीय सुशासनको प्रतिबद्धता’, ‘समृद्ध नेपालको आधारः प्राविधिक शिक्षा र दिगो पूर्वाधार’, ‘सामाजिक कुप्रथा र विकृतिको अन्त्य: मानव अधिकारको वास्तविक प्रत्याभूति’, ‘सुन्दरता र विविधतायुक्त नेपाली संस्कृति र प्रकृतिः पर्यटन उद्योगको प्रसार र उन्नति’, ‘सामाजिक सञ्जालको तीव्र गति: सूचना प्रसार र सामाजिक सुधारमा तत्काल प्रगति’ लगायत २५ वटा विषयमा कविता, गजल, निबन्ध र वक्तृत्वकला वाचन गरिने छ।
प्रकाशित: ६ चैत्र २०८१ १०:०९ बुधबार