‘एउटा मानिस अक्सिजनबिना लगभग तीन मिनेट, पानीबिना तीन दिन र खानाबिना कैयौं हप्तासम्म बाँच्न सक्छ तर आशाबिना एक क्षण पनि बाँच्न सक्दैन’ कतै सुनेको यो कथन कति सही छ, त्यो आफ्नो ठाउँमा होला। बाँच्ने समयावधि पनि परिस्थितिअनुसार फरक फरक हुन सक्ला तर यस कथनको सार हो– हावा, पानी र खानाजस्तै आशा पनि जीवनका लागि आवश्यक छ। आशाबिना बाँच्ने इच्छाशक्ति कम हुँदै जान्छ। आशाका रङहरूको सपना र आनन्दमा जिउन उमेरले बाधा पुर्याउँदैन। आशा त्यो प्रतिपलको हो, जसले जीवन यात्रालाई चम्काइरहन्छ। त्यसैले त जीवन सदासर्वदा विद्यमान रहन्छ।
भर्खरै रङको पर्व होली मनायौं हामीले। होली अर्थात् फागुपूर्णिमा वसन्तको आगमनसँगै एकअर्कामा रङ साटेर तिनै रङमार्फत जीवनमा प्रेम, सद्भाव, खुसी र आनन्दको नयाँ रङ महसुस गर्ने एउटा बहाना न हो।
यो बहानालाई कुनै उमेरले छेक्दैन, किनकि बढ्दो उमेरसँगै आउने शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक परिवर्तनलाई स्विकार्न सकियो भने जीवन आफैं तनावमुक्त बन्छ। हरेक उमेरले फरक किसिमको सुन्दरता ल्याउँछ। त्यसैले यसको आनन्द लिन जान्नुपर्छ। उमेर बढेसँगै कपालको रङ परिवर्तन भएर सेतो हुन्छ। यदि तपाईं आफ्नो कपाललाई रङ लगाउन चाहनुहुन्छ भने रङ लगाउनुहोस्। रङ लगाउन मन छैन भने जे जस्तो छ, स्विकार्नुस् र ऐना हेरेर मुसुक्क मुस्कुराउनुस्।
शरीरको वजन कम गर्ने इच्छा छ भने प्रयास गर्नुस्। नयाँ रङको कपडा लगाउन चाहनुहुन्छ भने लगाउनुहोस्। युवा तथा केटाकेटीजस्तै खुलेर हास्नुहोस्। आफ्नो जीवनमा जे छ, त्यसप्रति राम्रो सोच्नुहोस्। आफ्नो वातावरण राम्रो राख्ने प्रयास गर्नुस्। ऐनामा हेर्दै आफ्नो अस्तित्व स्वीकार गर्नुहोस्।
कुनै पनि क्रिमले सेतो बनाउँदैन, कुनै स्याम्पुले कपाल झर्न रोक्दैन, कुनै तेलले कपाल बढाउँदैन, कुनै जोन्सन बेबी साबुनले तपाईंलाई बच्चाको छाला दिँदैन। सबैले आफ्नो सामान बेच्न ब्रान्ड बनाएर विज्ञापन गर्छन् तर तपाईंको शरीर, छाला, कपालमा आउने परिवर्तन सबै प्राकृतिक हो। उमेर ढल्कँदै जाँदा हरेक तरिकाले परिवर्तन आउँछ। जसरी तपाईं पुरानो मेसिन मर्मत गर्न सक्नुहुन्छ र राम्रोसँग चलाउन सक्नुहुन्छ तर तपाईं यसलाई नयाँ बनाउन सक्नु हुन्न। त्यसैगरी बढ्दो उमेरसँगै आउने परिवर्तन र असहजतालाई राम्रो बनाउने कोसिस गर्ने हो।
न त कुनै टुथपेस्टमा नुन हुन्छ, न त कुनैमा निम। कुनै पनि क्रिममा केसर हुँदैन किनभने दुई ग्राम केसर पनि पाँच सय रूपैयाँभन्दा कम मूल्यमा पाइँदैन। तपाईंको नाक लामो भए पनि, थेप्चो भए पनि, तपाईंको आँखा सानो भए पनि, तपाईं कालो, गोरो, अग्लो, होचो जस्तो भए पनि प्रकृतिले जस्तो बनायो धन्यवाद दिएर आफ्नो सुन्दरता चिन्नुहोस्। कसैको प्रशंसा प्राप्त गर्न देखिने सुन्दरताभन्दा आफ्नो आन्तरिक सुन्दरता महसुस गर्नु बढी महत्त्वपूर्ण छ।
हरेक बालबालिका सुन्दर देखिन्छन् किनभने उनीहरूमा छलकपट हुँदैन, निर्दोष हुन्छन्। तपाईं पनि छलकपट र पैसाले किनेको सुन्दरता होइन, निर्दोष मनको सुन्दरतामा ध्यान दिनुहोस्। मोटो, दुब्लो जे हुनुहुन्छ फरक पर्दैन, यसले लज्जित हुन आवश्यक छैन। यदि तपाईंको उमेरसगै शरीरमा परिवर्तन आउँछ भने तौल पनि त्यहीअनुसार बढ्छ या घट्छ। सारा इन्टरनेट र सोसल मिडिया विभिन्न प्रकारका उपदेशले भरिएका छन्, यो नखानुहोस्, त्यो खानुहोस्। चिसो पेय होइन, तातो खानुहोस्। कपालको स्याहारका लागि होस् वा शरीरको स्फूर्तिका लागि, बिहान कागती पिउनुहोस्, रातमा दुध पिउनुहोस्। लामो गहिरो श्वास लिनुहोस्, खाना खाएपछि दाहिनेतिर कोल्टो लिएर सुत्नुहोस्। बिहान बह्ममुहुर्तमा उठ्नुहोस् र एक घण्टा हिँड्नुहोस्। हरियो सागसब्जी खानुहोस्। दालमा प्रोटिन हुन्छ, दालले क्रिएटिनिन बढाउँछ, के के मात्र सुन्नु र पढ्नुहुन्न तपाईं।
यदि तपाईंले दिनभरि सबै अर्ती पढ्न थाल्नुभयो भने तपाईंलाई लाग्न सक्छ, यो जीवन बेकार रहेछ। खानका लागि केही बाँकी छैन र बाँच्नका लागि पनि केही बाँकी छैन। तपाईं अरूकै कुराले निराश हुनुहुनेछ। यो सम्पूर्ण अर्गानिक, एलोभेरा, लौका, मेथी र निमले मस्तिष्कमा दही बन्छ। अवश्य पनि स्वस्थ हुँदा तनावबाट मुक्त भएर आनन्दको जीवन बाँच्न पाइन्छ तर आफ्नो शरीर र मनले पनि त बोध गर्छ नि के खाने, के नखाने, कस्तो व्यवहारमा जिउने। एक दिनको मृत्यु कुर्नकै लागि त यो जीवन बाचिएको छ।
बजारमा सबै चिज उपलब्ध भए पनि अजम्मरीका लागि अमृत बिक्री हुन थालेको छैन। सबै कुरा सही मात्रामा खानुहोस्, सही र सत्य व्यवहार गर्नुहोस् अनि तपाईंलाई मन पर्ने सबै चिजको अनुभव गर्नुहोस्। भोजनको सम्बन्ध मनसँग हुन्छ र राम्रो खानाले मन प्रसन्न हुन्छ। मनलाई मारेर खुसी हुन सकिँदैन। सकेजति शारीरिक काम गरिरहनुहोस्, हिँडडुल गर्न जानुहोस्, हल्का कसरत गर्नुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, मनलाई शरीरभन्दा बढी सुन्दर राख्नुहोस्।
बाँकी जे देख्नुहुन्छ र सुन्नुहुन्छ, स्वीकार गर्नुहोस् किनकि अध्ययनकै कुरा गर्ने हो भने त ‘द जर्नल अफ जेरोन्टोलोजी’मा गरिएको अध्ययनले आत्म–स्वीकृति, वृद्धहरूमा आउने तनाव र चिन्ता कम गर्न आफ्नो रूप, क्षमता र जीवनशैलीमा आएको परिवर्तनलाई स्वीकार्न सके मात्र आन्तरिक शान्ति बढ्छ भनेको छ। अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपिए) ले बताएको छ– तनाव र चिन्ताको मुख्य कारण मानसिक सोच हो। सकारात्मक सोच्न र वर्तमानमा जीवन बिताउन जाने मात्र अझ बढी सन्तुष्टिको अनुभव गर्न सकिने बताएको छ, जुन उमेर र अनुभवले हामी सबैलाई सिकाउँदै गएको पनि छ।
हार्वर्ड मेडिकल स्कुलका अनुसन्धाताहरूले वृद्धावस्थालाई सकारात्मक रूपमा हेर्नेहरू लामो र स्वस्थ जीवन बिताउने कुरालाई निक्र्योल गरेका छन्। वृद्धावस्थालाई कमजोरीका रूपमा हेर्नुको साटो यसलाई अनुभव, बुद्धि र वृद्धिको चरणका रूपमा अँगालेर जीवनको सन्तुष्टि बढाउन सकिने बताउँछन्।
यो समाजले प्रायः जवानीको महिमा र चासो गर्छ। तर, उमेरअनुसारको अनुभवलाई बुझ्दै आफूले जे प्राप्त गरियो, त्यसलाई सन्तोष र सफलताको स्तरबाट हेर्दै सुखी र आनन्ददायी जीवन बिताइरहेको महसुस गर्नुपर्छ। जीवनमा जे प्राप्त भयो, त्यसका लागि केवल कृतज्ञता, आत्म–करुणा र सकारात्मक दृष्टिकोणबाट हेर्दै खुसी र परिपूर्ण जीवनको अनुभव गर्न सकिन्छ।
उमेर बढ्दै जानु भनेको बुढो हुनु मात्र होइन, विवेकको वृद्धि, अनुभवहरूको वृद्धि र त्यसलाई कदर गर्ने अनि अर्थपूर्ण जीवन बिताउने नयाँ तरिका पत्ता लगाउने समय पनि हो। उमेरसँगै आशावादी जीवन, आत्म–स्वीकृति, जीवनको उद्देश्य र भावनात्मक कल्याणलाई स्मरण गर्दै अहोभावमा जिउनु पनि हो। आफ्ना अनुभव आफ्ना सन्तानलाई बताउने र जीवनलाई धन्यसाथ जिउन सिकाउनु पनि हो।
उमेरसँगै गर्न सकिने सानातिना रचनात्मक कार्यलाई पनि आफैंले महत्त्व दिएर उमेरको हिसाब नगरी सक्रिय रहनु हो। उमेरअनुसार एक्लोपनले सताउन सक्छ तर कुन उपायद्वारा एक्लोपनको आनन्द लिने ? धार्मिक पुस्तक अध्ययन गर्ने कि मन्दिर पूजाआजामा सक्रिय रहेर सामाजिक सम्बन्धलाई समय दिने? त्यो तय गर्नुपर्छ। विगतका दुःखलाई होइन, वर्तमानको परिवेशप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो अनुभवलाई आत्मसात गर्नु नै स्वस्थ र प्रेमिल भएर जिउनु हो। निराशा होइन, आशाको दियो जलिरहेको देख्नु बुद्धिमत्ताको गुणवत्ता हो।
समय बित्दै जाँदा व्यक्तिले सिकेका गुण, अनुभव र मूल्यमान्यता हाम्रा लागि पनि मार्गनिर्देशन बन्न सक्छन्।
प्रकाशित: २ चैत्र २०८१ १०:४७ शनिबार





