१) मुक्तक
मनभित्र राष्ट्रियता छातीभित्र देश अटाउनु,
देश बेच्ने दलालहरूलाई सीमापारि कटाउनु।
सधैं साँध वरवर सराउने संधियारका विरुद्धमा,
खुकुरीलाई धार लाएर वीर गोर्खाली खठाउनु।
२) मुक्तक
देशभक्तहरूको एकता भत्काउन पाइँदैन,
जनताको मुखमा ताल्चा लाउन पाइँदैन।
खबरदार! कसैले पनि स्वदेशको सिता खाई,
विदेशीको भजन अनि गिता गाउन पाइँदैन।
३) मुक्तक
कालो गयो गोरो आयो फरक यत्ति हो,
बाउ गएर छोरो आयो फरक यत्ति हो।
हिजो चटाइ ओछयाएर बस्नेहरूका लागि,
आज एक थान बोरो आयो फरक यत्ति हो।
४) मुक्तक
नजिक बनाउन खोज्छु ऊ टाढा भइदिन्छ,
म फूल जत्तिको मान्छु ऊ काँडा भइदिन्छ।
म उसको सहारामा लौरो बन्न खोज्छु तर,
ऊ मेरा लागि जहिले पनि भाला भइदिन्छ।
५) मुक्तक
जर्बजस्त गरीब कोही, भिकारी कोही बनायौ,
सत्य बोल्नेलाई जहिले पनि विद्रोही बनायौ।
गर्नलाई त महासागर मन्थन गरे जस्तै गर्याै,
तर के गर्नु अन्तमा न त दही न त मोही बनायौ।
६) मुक्तक
आफू संकटमा हुँदा, तिमीले कति मिठो बात गर्याै,
आज ती दिनहरू बिस्र्यौ, र पो विश्वासघात गर्याै।
मान्छे गुन लगायो भने, बदलामा गुन लाउँछन् भन्थे,
हैन रहेछ तिमीले त उल्टै म माथि खुरापात गर्याै।
७) मुक्तक
सधै विदेशी पैसा, अनुदानको मात्र भर किन हो?
घटदैछ आफ्नै खुट्टामा, उभिने जाँगर किन हो?
विश्वमा चिनिएको, वीर गोर्खाली तिमीसितै छ,
र पनि वैरीसामु औंला उभ्याउन डर किन हो।
८) मुक्तक
सामुहिक स्वार्थ देखाउँछन्, र पो जनता ढाँटन पाइन्छ,
दुई बित्ता माथि उफ्रेर, चोटिलो भाषण छाँट्न पाइन्छ।
आउ पाँच वर्ष पूरा भयो, गाउँगाउँ बस्तीबस्तीहरूमा,
यहाँ रक्सी अनि मासुभातसित, मतपत्र साट्न पाइन्छ।
९) मुक्तक
दैनिक ज्याला गरेर, छाक टार्नेहरूको पीडा कसले बुझ्छ?
ढिडो खाई, भात खाने इच्छा मार्नेहरूको पीडा कसले बुझ्छ?
भान्सामा पसेर बाबा आज हाम्रो चुलोमा भात किन पाकेन भन्दै,
धरधरी रुँदै रित्तो थालमा आँसु झार्नेहरूको पीडा कसले बुझ्छ?
१०) मुक्तक
दिनले बिर्साइदिन्छ सबै रातका कुरा,
एकान्तले सम्झाउँछ जमातका कुरा।
ज्ञानले मान्छेको सभ्यता झल्काउँछ,
अज्ञानताले गर्छ जात र भातका कुरा।
प्रकाशित: २८ फाल्गुन २०८१ ११:२७ बुधबार