रङ्गकर्मी दीया मास्केले अहिले युवापुस्ताको नाटकमा लगाव बढेको बताएकी छिन्।
टीकापुरमा आयोजित टीकापुर साहित्य महोत्सवको एक सेसनमा बोल्दै उनले सो कुरा बताएकी हुन्।
'अहिले युवापुस्ताको नाटकमा लगाव बढेको बताइन्छ। सिनेमामा धेरै कलाकारले ख्याति पाए। त्यस कारण ८० प्रतिशत विद्यार्थी यही सोचेर नाटकमा आएका छन्', दीयाले भनिन्। उनले नाटकबाट फिल्ममा गएका कलाकारहरूलाई फर्किन आग्रह पनि गरिन्। 'फिल्मबाट जानुभएको नाटकमा फर्किनुस्। तपाईँको जग यही हो। नाटक गर्नुस्', उनले भनिन्,'तपाईंको पपुलारिटीले नाटकलाई पनि फाइदा होस्।'
दियाले व्यावसायिक भनेको पैसा कमाउनु मात्र नभएको औँल्याइन्। थिएटर पैसा कमाउने माध्यम नभएको प्रस्टाइन्। व्यावसायिकता भनेको हामीले कति क्वालिटीका काम गर्छौं, त्यो होला, उनले भनिन्,'भलै लोकप्रिय नहोला। तर समाजलाई रुपान्तरण गर्न सक्ने शक्ति नाटकमा हुन्छ।'
त्यस्तै रङ्गकर्मी सुनील पोखरेल रङ्गमञ्चले गोरेटो बनाएको बताए। सुनिलले भने,'हाम्रो रङ्गमञ्चले गोरेटो बनाएको छ। राजमार्ग बन्न बाँकी छ। उनले रङ्गमञ्चलाई कसरी व्यावसायिक बनाउने भन्नेबारे आफूलाई थाहा नभएको बताए। हामी व्यावसायिकताबारे कुरा गर्छौं। रङ्गमञ्चलाई कति व्यावसायिक बनाउने थाहा छैन।'
सुनिलले आफूले रङ्गमञ्च रोज्नुको कारणबारे पनि सुनाए। उनले भने, 'नेपाली रङ्गमञ्चमा यात्रा गर्नुको कारण अरु केही नजानेर हो। संभवत यो मेरो प्यासन हो। मलाई नाटक गर्दा आनन्द आउँछ।'
प्रकाशित: २६ फाल्गुन २०८१ १७:३४ सोमबार





