८ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/संस्कृति

कंगना-जावेदको विवाद : अब यस्तो बयान नदिने भन्दै माफी मागेपछि मिलाप

कंगना रनौत र जावेद अख्तरबीच विगत पाँच वर्षदेखि चलिरहेको मानहानि मुद्दा शुक्रबार टुंगिएको छ। मुम्बईको बान्द्रा अदालतमा दायर गरिएको बयानमा अभिनेत्री कंगनाले आफ्नो कारणले जावेद अख्तरलाई भएको असुविधाप्रति माफी मागेकी छिन्। 

यो विवाद सन् २०२० मा सुरु भएको थियो, जब जावेदले कंगनाविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए। कंगनाले एक अन्तर्वार्तामा जावेदले उनलाई फिल्म ुक्रिश ३ु को समयमा राकेश रोशन र उनको परिवारसँग सम्झौता गर्न दबाब दिएको दाबी गरेकी थिइन्, जतिबेला कंगना र ऋतिक रोशनको प्रेम सम्बन्धको चर्चा पनि चलेको थियो। 

कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी सेयर गर्दै लेखेकी छिन्, ‘आज जावेदजी र मैले मानहानि मुद्दा सुल्झायौं। जावेदजी एकदमै राम्रो व्यक्ति हुनुहुन्छ र उहाँले मेरो आगामी फिल्ममा निर्देशकको रूपमा गीत लेख्न पनि सहमति जनाउनुभएको छ।’ अदालतमा भएको एक घण्टाको सुनुवाइमा कंगनाले भविष्यमा यस्ता बयान नदिने प्रतिबद्धता जनाइन्। 

सुनुवाइमा दुवै पक्ष उपस्थित थिए र कंगनाका वकिल रिजवान सिद्दीकी तथा जावेदका वकिल जय कुमार भारद्वाजले तर्क प्रस्तुत गरे। मेलमिलाप मध्यस्थकर्तामार्फत भएको थियो। कंगनाले त्यतिबेलाको बयान बुझाइमा भएको कमजोरीका कारण दिएको भन्दै फिर्ता लिएकी छिन्। 

रिजवान सिद्दीकीले भने, ‘हामी लामो समयदेखि मेलमिलापको प्रयासमा थियौं। हामीले मस्यौदा साझा गरेर अन्ततः समस्या समाधान गर्‍यौं। कुनै ठूलो समस्या थिएन, केवल शब्दहरू मिलाउन बाँकी थियो, जुन आज पूरा भयो।’

यो विवाद सुशान्त सिंह राजपूतको मृत्युपछि सन् २०२० मा कंगनाले एक टिभी अन्तर्वार्तामा महेश भट्ट, करण जोहर र जावेद अख्तरलाई ‘आत्महत्या गराउने गिरोह’ को संज्ञा दिएपछि सुरु भएको थियो। त्यसपछि पिंकभिल्लासँगको अन्तर्वार्तामा उनले जावेदले आफूलाई घरमा बोलाएर ऋतिक रोशनसँगको झगडाको सन्दर्भमा धम्की दिएको आरोप लगाएकी थिइन्। 

कंगनाको बयानपछि जावेदले नोभेम्बर २०२० मा भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४९९ अन्तर्गत मुद्दा दायर गरेका थिए। जवाफमा कंगनाले पनि प्रत्युत्तर मुद्दा दायर गरेकी थिइन्। डिसेम्बर २०२० मा जावेदले बयान दिँदै कंगनाले बिना प्रमाण झूटा आरोप लगाएको बताएका थिए। यो लामो विवाद अन्ततः अदालतमा मेलमिलापसहित टुंगिएको छ।

प्रकाशित: १७ फाल्गुन २०८१ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App