गाउँमा एउटा कामी सिपालु मूर्तिकार थियो। उसले बनाएका मूर्ति जीवन्तता जस्ता देखिन्थे। गाउँका मानिसहरूले गाउँमाथिको थुम्कोमा मन्दिर बनाउने निश्चय गरे। सबै गाउँका भद्रभलाद्मीहरू उपस्थित भएर आर्थिक सहयोग संकलन गरे। मन्दिरमा राख्नका लागि भगवान्को मूर्ति चाहिने भयो। मूर्ति बनाउनका लागि त्यस क्षेत्रकै सिपालु मूर्तिकार मिठ्ठे कामीलाई लगाइयो।
छ महिना लगाएर मिठ्ठेले कामीले भगवान्को मूर्ति बनायो। गाउँका सबै मनिस मिलेर मन्दिरमा मूर्ति प्रतिस्थापना गरे। मन्दिरमा मूर्ति प्रतिस्थापना गर्दाको दिन बाहुन पढाइएको थियो। मन्दिरमा मूर्ति प्रतिस्थापनपछि पूजा गर्न लामै लाम थियो। त्यस लाइनमा सबै जातिका मानिसहरू थिए। पालैपालो मन्दिरमा दर्शन गर्न लाम लगाइएको भए पनि पानी नचल्ने जातलाई प्रवेश गर्न दिएको थिएन। ‘अरूलाई नदिए पनि मलाई त अवस्य पूजा गर्न देलान्। यो मूर्ति नै मैले बनाएको हो’ लाममा बस्दा उसले यस्तै सोचिरहेको थियो। मन्दिरको ढोकामा मिठ्ठे कामी पुग्नेबित्तिकै पुजारीले भने, ‘अछुतले मिन्दिरमा पस्न मिल्दैन। तिमी लामबाट हटिहाल!’
‘यो मन्दिरको मूर्ति मैले बनाएको हो। मैले दर्शन गर्न पाउनुपर्छ। यो सामूहिक मन्दिर हो। अछुतले प्रवेश नपाउने नियम कहाँ छ हजुर। भगवान् सबैका साझा हुन्छन्।’ उसले भित्रैदेखिको तागत निकालेर प्रतिवाद ग¥यो।
‘हामीले स्वस्थिशान्ति गरेर मूर्ति राखेका हौँ। यहाँ पानी नचल्ने जातले दर्शन गर्न मिल्दैन। भनेपछि छिटो हट, नत्र मान्छे लगाएर हटाउँला’ पुजारीले हप्कायो।
‘अछुतले बनाएको मूर्ति चल्ने तर पूजा नचल्ने, यस्तो पनि कुनै धर्म हुन्छ हजुर। मूर्ति त मैले नै बनाएको हो त मालिक!
‘मूर्ति बनाएको पैसा तिरिसकेको छ। पैसा तिरेपछि बोल्ने हक छैन। मूर्ति शुद्ध गर्न स्वस्तिशान्ति गरिसकिएको छ। तिमी यहाँबाट निस्किहाल’ पूजारीले उसलाई लामबाट घचेडी दियो। मिठ्ठे कामी केही नबोली मनमनमा भुत्भुत्यायो ‘भगवान् कुनै जाति, धर्मका मात्र नभई मानव जातिका हुन्। यिनीहरूलाई धर्म होइन पाप हुनेछ। थुक्क! यिनीहरू पापी रहेछन्।’
प्रकाशित: १२ फाल्गुन २०८१ ११:३२ सोमबार





