३ चैत्र २०८१ आइतबार
image/svg+xml २०:८ अपराह्न
कला

गहन कविताकृति ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’

पुस्तक

वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोरको उन्नाइसौं कृति ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ आद्योपान्त हेर्ने मौका पाएँ। नेपाली साहित्य भण्डारमा यो पुस्तक फरक लेखन तरिका र फरक विषय बोकेर आएकोले निकै महत्त्वपूर्ण र पठनीय बनेको छ।

डा. पुडासैनीको यो कवितासङ्ग्रहमा जम्मा ५३ थान कविता छन्, जुन १६४ पृष्ठमा फैलिएको छ।

डा. पुडासैनीले अमेरिका बसेर त्यहाँको परिस्थिति बुझेर लेखेकाले कवितासङ्ग्रह आफैंमा डायस्पोरिक मात्र छैन अमेरिकी परिवेश, अमेरिका र विश्व सम्बन्ध, अमेरिकासँगको आकर्षण र विकर्षण सबै प्रष्टसँग बुझ्न सकिन्छ।

यस सङ्ग्रहले ओगटेको दार्शनिक पक्ष, कविले लालित्यपूर्ण ढंगले निर्माण गरेका कविताले सबै पाठकले गहकिलो कृति पाएको महसुस गर्दछन्। यो कृति यति गहन छ कि यसले संसारलाई नै फरक ढंगले उचालेको छ। यसको गहनताबारे जति बयान गरे पनि कम नै हुन्छ, त्यो यहाँ सबै उतार्न सम्भव छैन। 

डा. दामोदर पुडासैनी किशोरको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कवितासङ्ग्रहले मान्छेहरू बिदेशिनुको पीडा, उनीहरू विदेश पुगेपछि आफ्ना सपनालाई कसरी सामना गर्छ त्यो पूरा गर्नु अमेरिका मात्र होइन कि संसारका व्यस्त शहरहरूकाे जिन्दगीबारे प्रष्ट चित्रण गरिएकाे देखिन्छ।

यो सङ्ग्रहले युद्धको कारुणिक विचलनको वृतान्त खोलेको पाइन्छ, जसमा युद्धबारे विशेष दोस्रो विश्वयुद्ध र त्यसपछिको युद्धको झल्को साथै हाल मध्यपूर्वी क्षेत्रको युद्धीय विचरणले निम्त्याएको कोलाहल, भौतिक संरचना  र मानवीय वितन्डाबारे गहन प्रश्न समेत तेर्साएको छ कविताले।

हाल विश्वका शक्तिशाली हुँ भन्ने राष्ट्रले युद्धको नाममा गर्दै ल्याएको समकक्षीदेखि निम्न ठानिने देशहरूमाथिको हैकमवादी आम राजनीतिक र व्यापारिक गतिविधिमाथि उदाङ्गो पार्दै यस्तो स्वार्थी गतिविधिप्रति खबरदारीर र पर्यावरणीय विचलन प्रतिको घोर भर्त्सना नै लेखक डा.पुडासैनीको कवितामा लुकेको महत्त्वपूर्ण पाटोको रूपमा लिन सकिन्छ। त्यसबाहेक यो संग्रहले युरोप अमेरिकाको व्यस्त जीवन, वर्तमान जीवनको पीडा र वैज्ञानिक चमत्कारले मानवमा ल्याएको परिवर्तनलाई अत्यन्त मीठो र मननीय ढंगले काव्यात्मक स्वाद पस्किएको छ।

विदेशमा बसेर लेखिरहँदा ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीतको पङ्तिले जस्तै यो संग्रहमा डायस्पोरिक भावना प्रचुर पाइन्छ र कविताले बसिरहेको ठाउँको, पारिवारिक मायामोहका आवेगहरू पोख्दै कर्णाली र फोक्सुन्डोको समेत उचालेको पाइन्छ, जसले जो जहाँ पुगे पनि देशको माया औधी रहन्छ भन्नु नै हो।

यसरी देशको माया पोख्दै पुडासैनीले देश र संसारले बेहोर्नुपरेको कोभिड जस्तो महामारीको झल्को, देशभित्रको संयन्त्र र प्रक्रियालाई अनैतिक अवलम्बनको कारण राष्ट्रले ब्यहोर्नु परिरहेको शरणार्थी प्रकरणको अपचलन र लाजमर्दो कार्य र राष्ट्रले समयमा अप्राप्त रसायनिक खादले मोफसलको ह्रास, समाजले भोग्नुपरेको मिटर ब्याजी काण्डको समेत कविता मार्फत सम्बन्धित निकायलाई प्रहार गर्नु अर्को मीठो पक्ष मैले कवितामा पाएको छु।

पुडासैनीले अर्को आफ्नो नियात्रा कृति ‘ग्रीष्मको नीलो बतास’ मा काठमाडौ खाल्डालाई विविध कारणले हाल अजिङ्गरको मुख हुँदै गएको काठमाडौ भनेका छन् झै हाल अमेरिकालाई पनि त्यस्तै कवितात्मक शैलीमा माछा पालिने पिजडा एक्वारियम हो भनेको पाइन्छ। यसरी

 ‘समुन्द्र खोज्दै आएका कुवाका माछाहरू

बिस्तारै जाकिएका छन् एक्वारियमभित्र

अक्सिजन बन्द गरिदिन्छ कि कसैले कुनै बेला

चिन्ताको श्वास घ्यारघ्यार चलिरहेछ।’

कवितासङ्ग्रहले यति मात्र होइन देशको जनशक्ति दिनानुदिन बाहिर पठाउनु परेको दुखद्  कुराप्रति पनि चिन्तित भइ निराकरण गर्नुपर्ने सुचित समेत गरेका छ।

समग्रमा डा. दामोदर पुडासैनी किशोरको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’  कवितासङ्ग्रहले विश्व मानवजगतलाई नयाँ ज्ञान र नयाँ चेतना प्रसार गर्न सफल पाइन्छ। त्यसैले यो विशेष पठनीय छ।

कविताका शब्द र शैली विशेष भएकाले ग्रामबेँसीतिरका सामान्य मानसपटलले भने जोत्न, दाँदे लाउन अलिक सजिलो छैन।

अन्तमा डा. दामोदर पुडासैनीको यो १९औँ पुस्तक ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’  नेपाली साहित्य क्षेत्रको विशेष कृतिको रूपमा प्रकाशमा आएको छ। यसलाई अङ्ग्रेजी र अरू भाषामा प्रकाशित गर्न सके संसारले नेपाली भाषामा पनि यति गहकिला कृति निस्केको जानकारी पाउने र यो कृतिबाट फाइदा लिन सक्ने थिए। यति गहन कवितासंग्रहका लागि कवि डा. पुडासैनीलाई हार्दिक बधाई तथा शुभकामना!

प्रकाशित: ११ फाल्गुन २०८१ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App