१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला

विडम्बना मात्र छ, सम्बन्ध धनको तुलोमा हाल्न थाले!

मुक्तक

१) मुक्तक

बिर्सिन्छ आफैँलाई अनि अर्कोलाई औँलो ठाडो गर्छ ऊ

अहङ्कारले चुलिन्छ र कागले झैँ आफ्नै बखान छर्छ ऊ

दोस्रोको जरो खनेर चोर सावित गर्न लागिरहन्छ सधैंभरि

गिरेको छ आफैँ भित्रभित्रै र पनि खै किन मक्ख पर्छ ऊ।

२) मुक्तक

विडम्बना मात्र छ, सम्बन्ध धनको तुलोमा हाल्न थाले

उनैको चुलो हमेसा चाकरीका गुणगानले बाल्न थाले

मात्र अघिपछि फाइदा र स्वार्थको दैलो देख्नेहरू जति 

इमानजमान स्वाभिमान बेची झुटलाई अँगाल्न थाले।

) मुक्तक

हो जब तिमी मुस्कुराइदिन्छौ मेरै सामु आएर

मिठो स्पर्शले विन्दास पार्छौ काउकुती लाएर

तिमी छौ र त खुसी सजाएकी छु नयनमा सदा

गर्व गर्छु माछापुच्छ्रे शिरमा तिमीलाई पाएर।

४) मुक्तक

आजकल खै किन हो जो हेरे पनि उस्तैउस्तै लाग्छ

फरकफरक तवरले श्वास फेरे पनि उस्तैउस्तै लाग्छ

सबैको मनमा मेरो मनमा झैं निर्मल गङ्गा हुन्छ ठान्थें

फरक मनका फरक नक्सा केरे पनि उस्तैउस्तै लाग्छ।

५)) मुक्तक

हाँसोखुसी, दुखसुख, प्रीत यस्तै जिन्दगीको

कहिले हार, कहिले जित रीत यस्तै जिन्दगीको

कसैगरी जोड्नु संयमित भई पुल समावेशीको

त्यसैले रमाउँदै मिली गाऔँ गीत यस्तै जिन्दगीको।

६) मुक्तक

तड्पाउँछ गलाउँछ पलपल आफैंलाई कति झिर बनाउँछ

चाहेर पनि सकिन्न बिर्सन, दुखाइ सधैंलाई पीर बनाउँछ

विचलित मन निकै, नजिक नहोऊ, नगर प्रस्ताव भन्दा मान्दैनौ

हो बुझ्दैनौ तिमी प्रेमले लान्छ अँध्यारोमा, कति अधिर बनाँछ।

७) मुक्तक

राखेकी छु मुटुको हर धड्कनमा तिमीले महसुस गर्न सक्छौ र

तिम्रै यादहरूले गहिरिएका खाडलहरू के तिमीले भर्न सक्छौ र

मस्तिष्कमा अनेक प्रश्न उब्जन्छन प्रिय अचेल यस्तैयस्तै हेर

छोडेर दुनियाँ केही क्षण भए नि मेरा छटपटीहरू हर्न सक्छौ र।

८) मुक्तक

एकमुष्ट बस्ने चलनको अर्को अर्थ सँगौरी भयो

कसैले केही दिंदा प्रेम थियो पछि जडौरी भयो

काम लिन अगाडि चेपारो पार्ने पछि डन्क मार्ने

विषालु डस्ने चिज कसरी गुनिलो मौरी भयो!

९) मुक्तक

आलो घाउझैँ सधैं जिन्दगी दुख्यो, कसलाई भन्न जाऊँ

सहन सकिन दुखाइ, भो अब त पुग्यो, कसलाई भन्न जाऊँ

सधैं टुटिरहे सपनाहरू, छुट्यो खुसीको रेल, भेट्नै सकिएन

टेकेको जमिन पनि त भाग्यले लुट्यो, कसलाई भन्न जाऊँ!

१०) मुक्तक

नगरी साधना हेर सद्भाव बर्सिँदैन, ख्याल राख्नू

यात्रा नथाली गन्तव्य उसै सर्किँदैन, ख्याल राख्नू

फुस्रा बात धाक धक्कुले धेरै खोक्नु भो महाशय,

कमिलाले टोक्दैमा हात्ती तर्सिँदैन, ख्याल राख्नू।

प्रकाशित: ५ फाल्गुन २०८१ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App