खोटाङ सदरमुकाम दिक्तेलदेखि चखेवाभन्ज्याङ जोड्ने निर्माणाधीन सडकको ग्यावियन पर्खाल भासिएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डकोदिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पास्थितमाम्खामा ग्यावियन पर्खालभासिएको हो ।
सो ठाउँमा लगाइएको तारजालीको पर्खाल भासिएको यो दोस्रो पटक हो । स्थानीयका अनुसार डिभिजन सडक कार्यालय हर्कपुर ओखलढुङ्गामार्फत निर्माणाधीन ‘हाइवे इम्प्रभमेन्ट वर्कस’अन्तर्गतकोसो ग्याबियन पर्खाल वर्षासँगै जेठ–१५ गतेदेखि भासिन थालेको हो ।
सडक बनाउने जिम्मा लिएको दोभान निर्माण सेवा धनकुटाले ग्यावियन पर्खालको काम अन्तिम चरणमा पुगेकै बेला बीचभाग भासिएको जनाएको छ । साँघुरो सडक फराकिलो बनाउन तारजाली लगाएरमाटो भरेको ठाउँमा सम्याउँदा भाँसिएको निर्माण कम्पनीले स्वीकारेको छ । स्थानीयले भने भित्तातर्फको चट्टान काटेर सडक चौडा बनाउनुपर्नेमा ग्यावियन पर्खाल लगाउदा यस्तो समस्या आएको बताएका छन् ।
स्थानीय भीमराज राईलेसामान्य वर्षामै सडकभासिएपछि त्यसभन्दा तलतिरको बस्तीनै पहिरोको जोखिममा परेको बताए । उनका अनुसार आफुसहित देबेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई र नरबहादुर राईको घर अहिलेपहिरोको उच्च जोखिममा परेका छन् । सडक भासिदा घरहरु मात्र जोखिममा नपरेर मकैबारीका गह्राहरु पनि चर्किएको राईले बताए ।
ठेकेदारले जाली पर्खाल लगाउँदा काममा लापरबाही गरेकाले पनि भासिएको गुनासो गरेका छन् । ढुङ्गा बढी हालेर जाली भर्नुपर्नेमा खाली ठाउँमा माटो मात्र पुरेकाले पनि सडक भासिएको हुनसक्ने उनीहरुको भनाई छ ।
झण्डै दशकअघि मध्येपहाडी लोकमार्ग कालोपत्रे गर्ने क्रममा सो ठाउँमा लगाइएको आरसीसी पर्खाल पनि भासिएको थियो । त्यसबेला कालोपत्रे गर्न तयार भएको अवस्थामा आरसीसी पर्खाल ढल्किएपछि त्यत्तिकै छाडेर बाँकी खण्डमा कालोपत्रे गरिएको थियो । कालोपत्र गरेको लामो समयसम्म त्यत्तिकै छाडिएको सो ठाउँमा हाल लगाइएको ग्याबियन पर्खाल पनि भासिएपछि अव के गर्ने भन्नेबारे छलफल भईरहेको छ । डिभिजन सडक कार्यालय प्रमुख (डिई) सविन जोशीकोप्राविधिक टोलीलेभासिएको ठाउँको अवलोकन गरेर फर्केको र प्रतिबेदन पेश गरेपछि थप कुरा प्रष्ट्याउने बताइएको छ ।
प्रारम्भिक अनुगमनमा कमजोर भूबनोटले गर्दापर्खाल भासिएको डिई जोशीले बताएका छन् । पटकपटक पर्खाल भासिने माम्खाको प्राविधिक समस्या अलि फरक भएको बताउँदै जोशीले ठेकेदारको कमजोरी हो या अन्य कारण भन्नेबारे यकिन गर्न हाललाई नसकिएको बताए । विज्ञ प्राविधिकलाई यसबारे अध्ययन गर्न दिनुपर्ने तर्क पनि उनको छ ।
निर्माण कम्पनीले दिक्तेल–चखेवा खण्ड सडकका विभिन्न ठाउँमा ग्याबियन वाल, प्लम वाललगायतकाम गर्न २ करोड ७९ लाख ७७ हजार ९ सइ १२ रुपैँयामा लिएको ठेक्काको काम गत वैशाख ६ गतेभित्रै सक्नेगरि २०८२ मङ्सिर–४ गते ठेक्का सम्झौता गरेको थियो । तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि ०८३ असार–१५ गतेसम्म म्याद थपिएको काम पर्खाल भत्केपछि अलपत्र परेको छ ।
दिक्तेल–चखेवा खण्ड सडकअन्तर्गत पङ्खुखोलामा निर्माणाधीन पक्की मोटरेबल पुल पनि अधुरै छ । पुल नहुँदा वर्षायाममा यातायात कठिनाईले स्थानीयबासीलाई समस्या पर्दै आएको छ ।निर्माणाधीन पक्की पुल अलपत्र परेपछि केही समयअघि पङ्खुखोलामा श्रम सँस्कृति पार्टीकाकार्यकर्ताले श्रमदानमा काठे पुल लगाएर आउजाउलाई सहज बनाएका छन् ।
दिक्तेल–चखेवाकै अर्को सेखुवा खण्डको १० किलोमिटर कालोपत्रे गर्ने काम पनि ठेकेदार कम्पनीको चरम लापरबाहीले अलपत्र परेको छ । ०७५ फागुन–३० गतेभित्र निर्माण सक्नेगरि ३२ करोड रुपैँयामा ०७२ चैत–२ गते सम्झौता गरेको सो कार्य विगत ४ वर्षयता अलपत्र परिरहेको छ ।
प्रकाशित: २१ जेष्ठ २०८३ १६:४७ बिहीबार





