१४ फाल्गुन २०८१ बुधबार
image/svg+xml ५:३४ पूर्वाह्न
कला

शहीद

लघुकथा

“यो बूढाले कैलै सुख देनन्। बाँचुञ्जेल हाम्रो लागि एक पैसा कमाएर ल्याएनन्।” छोरो जङ्गिएको देखेर सत्तरी वर्षे बूढा बा थर्कमान भए। दुईचार रोपनी जमिन र एउटा मध्यम स्तरको घर, बूढा बाकै मेहेनतको कमाइ थियो। तैपनि छोराले नकमाएको भन्दा उनको चित्त फाट्यो। जवाफ फर्काउँ भने छोराले हातपात गर्नसम्म तम्सने हुँदा उनी मौन रहे।

देशमा नयाँ बिहानी ल्याउने भनी नेताहरूले आन्दोलन चर्काउन थालेका थिए। बूढा बा पनि त्यो आन्दोलनमा चाहेर या नचाहेर सरिक भए। आन्दोलनकारीले उनलाई अग्रपंक्तिमा राखी आफ्नो सुरक्षाको ढाल बनाए। वद्धको समेत परिवर्तनप्रति चाहना रहेको भनी पत्रिकामा हल्ला ठोके। सुरक्षाकर्मीको तारो हट्टाकट्टा विद्रोही हुन्थे। बूढा बालाई छुँदै छोएनन्।

जति नै कटबाँसको लाठी हानिदा होस् या जवाफी ढुङ्गा फर्काउँदा होस् या अश्रुग्यास, पानीको फोहोरा, रबरको गोली केहीले पनि बूढा बालाई छोएन। त्यो देखेर बूढा बा झोक्किएर आफैंसँग बोल्दथे, “हैन यो निशाना मलाई नलागेर अरूलाई किन लाग्छ? म अभागीलाई घरले जाजा बनले आइजआइज भनेको छ। यी किन बुझ्दैनन् कुरा?”

एक दिन सुरक्षाकर्मीले सिसाको गोली चलायो। आन्दोलनकारीहरू ज्यान जोगाउन न्वारनको बल झिकेर दौडिए। चाहेको भए बूढा बा पनि भाग्न सक्थे तर उनी जानाजान हुलमुल भएको सडकको बीचमा गएर घोप्टिए। आफ्नो ज्यान बचाउन दौडिएका कैयौं खुट्टाले तिनको ढाडमा, पिँडुलामा र टाउकोमा समेत कुल्चिए। सडक सुनसान हुँदा उनी जिन्दगीका अन्तिम श्वास लिइरहेका थिए। उनको आफ्नो भन्ने त्यहाँ कोही थिएन। सुरक्षाकर्मीले देखेर बचाउने आशामा अस्पताल पुर्‍याए। सोधखोज गरी छोरालाई तुरुन्तै झिकाए।

आफ्नो छोराको मुहार देख्नासाथ बूढा बा भक्कानिदै बोले,“बाबू! अब त भन्दैन होलास् नि बाउले केही गरेन भनेर। हेर् तेरै लागि म शहीद हुँदैछु। यो सत्ता परिवर्तनपछि नेताजीले शहीद परिवारलाई पचास लाख दिने भनेका छन्।”

छोराको वाक्य फुट्नुअघि नै बूढा बाले सधैंका लागि आँखा चिम्लिए।

प्रकाशित: १८ माघ २०८१ ११:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App