‘सपनाको पहाड’ लघुकथासङ्ग्रह मेरा समीपमा दृश्यवान् भएको छ। मित्र ध्रुवराज थापा ‘पुरुष’ को दाह्रीमुहारचित्र दिमागका पत्रमा छ। कृतिको शीर्षक ‘सपनाको पहाड’ ले मलाई तानेको छ। मान्छेले आफ्नै जीवनका जस्केलामा जाँगरिलो सपनाको पहाड बनाउँछन् र बाँच्छन् विपनाको मैदानको चङ्गुलमा। यही यथार्थ हो मानव चोलाको।
प्रधान दुःखको कारण पनि त्यही हो। परिवार त्यसैगरी स्वप्नसौन्दर्यमा छ। समाज भ्रमका भ्रान्तिमा छ। राज्य रन्कामा रन्किएको छ। सपनाको पहाड बनाउँछ, विपनाको कहरमा तडपिन्छ। अर्थात् मानव जीवनको यथार्थ पाटालाई शीर्षकले सम्बोधन गरेको छ। यसरी हेर्दा कृतिशीर्षकले समाजको यथार्थ चारित्रिक दर्शन बोकेको छ।
लघुकथाभित्र डुबेको छु। लघुकथाकार ध्रुवराज थापा ‘पुरुष’ को खारिएको कलमबाट प्रस्फुटन भएका छन् लघुकथा। आलाकाँचा ठेट्ना होइनन् ध्रुव। २०२३ साल पुस २७ गते काभ्रे पनौतीमा जन्मिएका उनले उमेरका उँभौली मात्र भोगेका छैनन्, गम्भीर अनुभूति पनि सँगालेका छन्।
बुढानीलकण्ठ-१२ मा बसोबास गर्छन्। पेसाले सेनवानिवृत्त शिक्षक हुन् उनी। कर्मले पत्रकार पनि हुन्। रुचिले अभिनयकर्ता नायक हुन्। २०३९ सालदेखि नै गीत, कथा, कविता, हाइकु, मुक्तकमा पनि सरोबर कलम चलाउँछन्।
सम्पादन, यात्रा, साहित्य लेखन उनका पौरख हुन्। पाठ्यपुस्तक तथा शिक्षक निर्देशिकाका लेखक हुन्। उनी विशद क्षेत्र बोकेर ध्रुवराज थापा खासमा ‘पुरुष’ बनेका छन्। लैङ्गिक पुरुष होइन, सिम्बोलिक पुरुष। लघुकथाकारको यही चिनारीले पनि उनका लघुकथाको स्तरीयताको अड्कल काट्न सक्छन् पाठकले।
ध्रुवराज थापामा बहुविज्ञता देखिन्छ। उनी बाँचेको, देखेको, सुनेको, भोगेका, पढेको तथा अनुभूत गरेको परिवृत्तको घेरा व्यापक फराकिलो छ। यसैबाट अलगअलग विषयसन्दर्भका लघुकथाहरू निसृत भएका छन्। समाजभित्र हुने सामाजिक, पारिवारिक, राजनीतिक, धार्मिक, बेथिति उजागर पार्दै अग्रगम्य अभिष्ट भएको छ।
भ्रष्टाचारीकै प्रमोसन हुने परिपाटी, बलात्कारी नै नारीको सम्मान खोज्ने नेता, अपराधी छुटाउने देश, प्रविधिको दुरूपयोग, सांस्कृतिक विचलन, महिला तथा वृद्धका समस्या, राजनीतिक शक्तिको अदूरदर्शी तथा अपचलन जस्ता गम्भीर विषय उनका लघुकथामा उठान भएका छन्।
यद्यपि ‘सपनाको पहाड’ पहिलो लघुकथासङ्ग्रह हो, तर अनुभव, प्रयत्न तथा साधनाले खारिएका लघुकथाकार हुन्। यसो भएकाले कृतिमा रूपविधानलाई निकै ध्यान दिइएको छ। रूपविधान भनेको बुनौट सन्दर्भ हो। स्वरूप सन्दर्भ हो। लघुकथा विनिर्माण भनेको आकारमा छोटो मात्र पार्नु होइन; स्वरूपमा विशिष्टता समेत हुनु हो।
कौतूहलमय शीर्षक, आकस्मिक उठान, तीव्र र संक्षिप्त विकास, चुस्त उत्कर्ष, प्रतिध्वन्यात्मक समापन लघुकथाका आधारभूत तत्त्व हुन्। कथा भएकाले घटना, प्रयोजन, परिवेश, पात्र आवश्यक हुने नै भयो।
यी कुरामा लघुकथाकार ध्रुवराज थापा ‘पुरुष’ ज्यादै चनाखा भएका छन्। स्वैरकल्पनाको पनि प्रयोग गर्छन्। लघुकथाभित्र काव्यात्मक गुणहरू शब्दसामर्थ्य, लयमाधुर्य तथा भावगाम्भीर्य अटाउन भरमग्दुर प्रयत्न छन्। निबन्धको विशिष्ट गुण वैचारिक तत्त्व पनि कृतिभित्र समावेश भएका छन्। ‘अख्तियार’ जस्ता उत्कृष्ट मानक लघुकथा सङ्गृहीत भएका छन्।
सारमा म निर्धक्क भएर भन्न सक्छु लघुकथासङ्ग्रह ‘सपनाको पहाड’ पठनीय छ। यसभित्रका कतिपय लघुकथाले पाठकको झङ्कार ग्रन्थिलाई छुन्छ। तरङ्गित बनाउँछ। यद्यपि ज्ञानको जेनिथ असिमित छ। रूपविधान पनि समयसाल अनुसार फेरिन्छ। समाज परिवर्तनसँग कथ्यका प्रभावोत्कताका अर्थ पनि फेरिन्छन्। र, कृतिका अन्तर्य स्वाद पनि फेरिन्छन्।
यति सुन्दर लघुकथाकृति दिएर लघुकथाकार ध्रुवराज थापा ‘पुरुष’ ले नेपाली साहित्यलाई विशेषतः लघुकथावृत्तलाई गुण लाएका छन्। कृतिको उत्तरोत्तर प्रगतिको शुभकामना ध्रुव सर! जय लघुकथा!!
प्रकाशित: १५ माघ २०८१ ११:५४ मंगलबार