अभिनेत्री शिल्पा पोखरेलले आफ्नो व्यक्तिगत जीवनको बारेमा विभिन्न हल्ला फैलाइएकोमा कानुनी उपचारमा जाने चेतावनी दिएकी छन्।
निर्माता छवि ओझाबाट चार करोडको’ घर लिएर छुट्टिएको भन्ने समाचार बाहिरिएपछि उनको चेतावनीपूर्ण अभिव्यक्ति आएको हो।
उनले लेखेकी छिन्, 'कसैको पनि व्यक्तिगत जीवनको समाचार बनाउनु कसैको पनि तस्बिर सार्वजनिक गर्नुअघि एकपल्ट सम्बन्धित व्यक्तिसँग पनि धारणा लिनुपर्छ भन्ने कुरा जानी राख्ने हो कि पत्रकारज्यूहरू ? सम्पूर्णको लागि कानुन बराबर छन् यदि कसैले पनि कसैको व्यक्तिगत जीवनलाई लिएर अनावश्यक भ्रम फैलाउने कसैको पनि मानसिक स्वास्थ्यमा असर पर्ने गरी कुनै पनि न्युज अथवा कुनै पनि कुराहरू सामाजिक सञ्जालमा आउँछन् भने सम्बन्धित व्यक्तिले त्यसलाई लिएर पनि कानुनमा कडाभन्दा कडा सजाय हुने गरी कानुन बनाइएको छ त्यो पनि दिमागमा राखौँ।'
उनले सो भनाइसँगै एक सञ्चारमाध्यमलाई दिएको आफ्नो अन्तरवार्ता पनि राखेकी छन्। सो अन्तरवार्तामा उनले उक्त घर चार करोडको नरहेको बताएकी छन्। उनले उक्त घर एउटा खण्डहर जस्तो रहेको र जसलाई आफैले ४० लाख रुपैयाँ खर्च गरेर आज बस्न योग्य बनाएको बताएकी छन्।
छविसँग उक्त घर लिएको भन्दा पनि छविसँग रहँदा आफूले कमाएको पैसा बापत सो घर लिएको उनको भनाइ छ। ६ वर्ष छविसँग काम गर्दा आफूले र छविले कमाएको पैसा एकै ठाउँमा राखेको र आफ्नो पैसाको हिसाब गरेर सो घर लिएको उनको दाबी छ।
प्रकाशित: ९ माघ २०८१ १५:०३ बुधबार