४ माघ २०८२ आइतबार
image/svg+xml
कला

र्‍यान्डममा निबन्धकार ‘साेलु’ को ‘तुइन जिन्दगी’ को परिचर्चा

र्‍यान्डम रिडर्स सोसाइटी, पाेखराले डा. रेणुका ‘सोलु’ को निबन्धसंग्रह ‘तुइन जिन्दगी’ को परिचर्चा गरेको छ।

कृतिको परिचर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ‘सोलु’ ले निबन्धमा सत्यमाथिको अन्याय, अत्याचार र थिचोमिचोविरुद्ध परिवार, समाज र सरकारसित कडा प्रतिवाद गरेकी बताए। ‘आमाहरू र समस्त नारी जातिमाथिको विभेद तथा विभेदपूर्ण समाज, संस्कार तथा परिवेशहरूमाथिको उनको यो खबरदारी साँच्चै प्रशंसायोग्य छ।’

डा. अधिकारीले भने, ‘एउटी नारीको सङ्‍घर्षपूर्ण जीवनको लामो फेहरिस्त किताबमा छ।’ जीवन बाँच्ने वा बाँच्न चाहने धेरै आमादिदीबहिनीको भावनालाई कृतिले समेटेको बताउँदै उनले सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक दुर्गमता तथा दुरवस्थाले गाँजिएका आम नारीको चेतना र सङ्‍घर्षको दस्तावेजका रूपमा कृति आएको बताए।

‘तुइन जिन्दगी’ नारीमाथि गरिएका अन्याय, अत्याचार, कुसंस्कृति, धार्मिक–सामाजिक असामानता, विभेद आदि इत्यादिका विरुद्ध उभिएको एउटा लिखित दस्तावेजहरूको समष्टिगत स्वरूपका रूपमा आएको डा.अधिकारीको भनाइ थियो।

निबन्धकार ‘सोलु’ले आफूले जीवनमा भोगेका तितामिठा कुराहरूलाई अनुभूतिको गहिराइमा पुगेर लेखेको बताइन्। कृतिमा लेखिएका निबन्धहरू यथार्थको धरातलमा टेकेर लेखिएको बताउँदै डा. ‘सोलु’ ले आज पनि महिलाले भोग्नुपरेको अनेकौँ पीडा लेखिसाध्य नै नभएको बताइन्। विश्वविद्यालय जस्तो प्राज्ञिक निकायमा समेत महिला हिंसाको कहालीलाग्दा घटना आफूले देखेको बताउँदै उनले समाज परिवर्तनका लागि सचेत वर्गले आवाज उठाउन छोड्न नहुने बताइन्।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गुञ्जन साहित्य समाजकी अध्यक्ष जलेश्वरी श्रेष्ठ र संस्थापक अध्यक्ष पद्मावती सिंहले शुभकामना दिएका थिए। सोसाइटीका सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा डा. रजनी ढकाल, कुमार तामाङ, बाबुराम सुवेदी लगायतले टिप्पणी गरेका थिए।

प्रकाशित: २९ पुस २०८१ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App