३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

चाँदनीबाट झरेको फिलुङ्गाको मुस्लो: जब एउटा मान्छे हराउँछ

पुस्तक

कविताभन्दा बाहिरबाट, संस्कृत विद्वान आचार्य भामहले कवितालाई अर्थयुक्त परिभाषा गर्दै काव्यालङ्कार ग्रन्थमा भनेका छन् कि शब्द र अर्थको कलात्मक सहभाव नै कविता हो। उस्तैउस्तै चिन्तन आचार्य विश्वनाथको  साहित्यदर्पणमा पनि छ। उनले भनेका छन्, वाक्यम् रसात्मकम् काव्यम् अर्थात् कविता हुनका लागि सरसता प्रधान कुरा हो। त्यसो त रसगङ्गाधरका लेखक जगन्नाथले रमणियार्थक प्रतिपादकस् शब्दम् काव्य भनेर त्यसलाई रस,कला र मनोरञ्जनसँग पनि जोड्न भ्याएका छन्।

उता हड्सनले कल्पना र संवेग मिलाएर गरिएको जीवनको व्याख्यालाई कविता भन्ने स्वीकृति दिन्छन् भने जोन्सनले गण  र छन्दको मिलनमा मात्रै कविता देख्छन्। विलियम वर्डस्वर्थ र देवकोटालाई एकै ठाउँमा राखेर हेर्ने हो भने कल्पना, अनुभूति र स्वच्छन्द अभिव्यक्तिको गुञ्जनले कविताको बान्की मिल्दो हो र कार्लाइलले भनेजस्तो जहाँबाट साङ्गीतिक तराना पनि झङ्कृत होओस्।

सबै दृष्टिकोण आकलन गर्दा लाग्छ, जीवनको सङ्गीत र लय मुस्कुराउन सक्ने शब्दकला सायद कविता होला जहाँ रुँदा रुँदै थाकेको मनको आकाश पनि छ्याङ्ग खुलोस्। यस्तै निर्मल भावहरूको एक बिटो कविता रहेछ चन्द्र गुरुङसँग।

उनले ‘जब एउटा मान्छे हराउँछ’ सङ्ग्रहमा त्यसलाई जोरजम्मा गरेर बाहिर ल्याएका छन्। चन्द्र गुरुङले आफ्नो कवितासङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ प्रकाशन गरेको पनि झन्डै दुई वर्ष बितिसकेको छ र मैले किताब पठाइदिन आग्रह गरेको पनि सायद त्यति नै भयो। झुट बोल्न कहर लाग्ने मैले यी दुई वर्ष चन्द्रलाई ढाँटे जस्तै सुलुत्त चिप्लेर गएका छन्। उनलाई कवितामाथि आफ्ना टिप्पणी सुनाउछु भनेको थिएँ। पत्तै नपाई समयले  टाप ठोकिसकेछ। सायद उनले ठाने होलान्, कस्तो झुट शब्द खेतालो रहेछ! तर चन्द्रजी मैले यति समयमा टिप्पणी सुनाउँछु त भनेको थिइन नि! धन्न तपाईको धैर्यको बाँध फुटेन। समयलाई साधुवाद छ।

आजभोलि चिनजान केलाई भनिन्छ भनेर साेध्ने हो भने उत्तरका लागि एकछिन अलमलिनुपर्छ। चन्द्रसँग मेरो परिचयको उत्तर सायद यस्तै अलमलकै होला। भौतिक रूपमा देखभेट भएको छैन न टेलिफोन वार्ता नै भएको छ। मेरो चेला कविताका कोपिला रेशम बोहोराले उनका कुरा गरेपछि मैले फेसबुक खोलेर हेर्दा कुन विधाताले साथी बनाएछन् थाहा भएन तर हामी अपरिचित साथी रहेछौ। मैले अलि खोतलेर हेरें।

उनका कविताहरू र अनुवाद रचनाहरू पनि हेरें। खिपेर, बान्की पारेर चिटिक्क बनाइएका शालीन तर गुरु गम्भीर शब्दका भव्य कलाकारिता देखें। मन लोभ्यायो। चन्द्रलाई छाम्दा उम्दा र मिहीन मोहनी पाएँ। उनी छापिएका केही पत्रपत्रिका पनि सुमसुम्याउन भ्याएँ। सायद त्यसपछि मेरो चेतनाले चन्द्र गुरुङकाे एक बेग्लै र भव्य आकृति स्केच गरेको हुन सक्छ।

शालीन, सौम्य र भद्र स्वभाव तथा उस्तै मधुमय शब्दशिल्पी। तर कविता हात परेपछि भने मनस्थितिमा कोरेको आकृति भत्केर बादलको अमूर्त आकार जस्तो बनेको छ। छिनछिनमा बदलिरहने वाचाल, वाक्पटु र दृढ। ठाक्कै उनको कविताको मुठो जस्तो! उनी ‘जब एउटा मान्छे हराउँछ’ भित्र पर्गेलिन्छन् तब समाज बोध गर्दै र परिवर्तनकामी क्रान्तिचेतले धपक्क बलेको नायक जस्तो र कताकति उखान टुक्का र ग्राम्य लवज भेउ नपाइ प्रयोग गर्न हतारिएको अल्लारे कवि जस्तो अथवा भनौ एक्लै कुनामा बसेर आफ्ना निजी अनुभूति एक्लै बोलिरहने यात्रीजस्तो।

२०० कविताभित्र पसेपछि चन्द्र गुरुङले आफ्नो कविता सङ्ग्रहको मङ्गलाचरण र पूर्णता प्रयोगशील ढाँचाबाट गरेका छन्। आफ्नै पिताजीको अनुहारको दर्शन गराएर प्ररम्भ गरेको कविताको भाव गङ्गा मातृतीर्थको शब्दसरितामा रोकिन्छन्। कविताका ८ विभाग छन् अष्ठकोणयुक्त तेजिलो सूर्यरश्मि जस्तो। तिनीहरूमा यसरी चञ्चु प्रवेश गरेर निफन्ने प्रयत्न गरेको छु:

क) गीत गाइरहन्छ जीवन

यसभित्र बाको अनुहार, निर्बन्ध खुसी,यस साँझ, गीत गाइरहन्छ जीवन लगायत आठै शीर्षकका कविता छन्। जहाँ आफू बाकै पदचापमा स्वाभीमानपूर्वक बाँचिरहेको गौरव, श्रम र सङ्घर्षमा जीवन बाँच्नुको निर्बन्ध खुसी, भूकम्पको पीडामा मल्हम दल्ने आग्रह, आकाशमा चम्किरहने जून, रहरका पालुवाहरू पलाएका ओठ र पहाडको आँचलमा चुम्मा खान लम्केका बादलहरूको प्यारपूर्ण लुकामारी जस्तै रङ्गीन सपना र जीवन चन्द्रको कवितामा परिकल्पत छ। सँगसँगै उनले कवितामा वर्षाद्को विषादले लथालिङ्ग बनाएर आर्तनाद ओकलिरहेको झरीसँग पनि परदेश जानुको विदीर्ण मनोविज्ञानलाई प्रकारान्तर तरिकाले अर्थगुम्फन गराएका छन्।

स्वाभिमान बन्दक बनाएर आफूभित्र हरियो चेतनालाई सुकेको मृत काठ बनेको चाप्लुस साथीलाई थप्पड मार्दै पद प्रतिष्ठा प्राप्तिका लागि सहिद बन्नेहरूको लज्जानत अनुहार देखाएर उदाङ्गो बनाएका छन्। 

यस विभागको अब्बल कविता ईश्वरको हत्याभित्र उनले परोपकारी आदर्शहरूलाई निमोठेपछि ईश्वरको हत्या हुनेछ भन्दै उपकारी मन र सत्कार्यका नायकहरूलाई दैवीकरण गरिएकोछ।

ख) भोक र नपुङ्सक सरकार

यसभित्र नौ शीर्षकका नौ काव्यमुस्लाहरू छन्। जहाँ कतै प्रकारान्तर व्यङ्ग्य र कतै सोझा त्रिशूल कविताहर त्रिशुल। यश खण्डमा उनी क्रान्तिचेतका धारिला शब्द तिखार्ने कवि देखिन्छन्। यस खण्डका कविताहरू प्रोज्वल आगोका फिलुङ्गा जस्ता चम्किला छन् , ओजस्वी छन्।

बुढो ल्याम्पपोष्ट शीर्षकबाट कविता आरम्भ भएको छ र यसमा देश उज्यालो दिन नसक्ने जीर्ण बत्तीको खम्बा जस्तो छ जसलाई भत्किनु र सक्किनुको पनि चिन्ता छैन, देश सम्भावना नभएका र घाइते स्वान जस्ता, मनोविज्ञान बिग्रेका र हुल्याहाले मात्रै  ठेकेदारी गर्न थालिपछि स्वाभिमानीहरू बिदेसिए भन्ने चिन्ता व्यक्त भएको छ।

देश हड्डी र कुकुर कवितामा वर्तमानमा देश चारैतिरबाट कुकुरहरूले लुछेको हड्डीजस्तो मात्रै भइसकेको नग्न दृष्य प्रस्तुत गरिएको छ। उनले देशमा भग्न,नग्न र विद्रुप दृष्य मात्रै देखेका छैनन्। संविधान बनेपछि आाशाहरू झ्याँगिनुपर्छ र देश रङ्गहरूको वाटिका बन्नुपर्छ भन्ने रहरलाग्दो कल्पना यसरी बुनेका छन्:

फरक कुची

फरक रङ्ग

फरक क्यानभास

फरक कलाकार

चित्रमा कोरिनुपर्छ

तर एकै देश

उनले यस खण्डमा कार्यकर्ताहरू अन्धा, लाटा र बहिरा जस्ता बनेका र उनीहरूले आफू सम्बध्द संस्थालाई न सुधार्न सके न आफू नै सुध्रन सके भन्ने थकथकी पोखेका छन्। विदेशमा रहनुको पीडा र देशप्रतिका अभिघात न्याँस्रोले रुझेका रहरलाग्दा शब्दहरू यस खण्डमा कविले खर्चेका छन्।

ग) चराहरूले छोडेर गएपछि

यस  विभागमा पाँच  शीर्षकहरू छन्,चराहरुले छोडेर गएपछि, माटोको माया, बाँकी देश,छोडेर जानेहरू, मरुभूमि एउटा मृगतृष्णा यी कविताहरूमा पनि देश छोड्नुको  अौडाहा जलन पोखिएको छ। वनमा डढेलाले खाएका धोद्रा रुखहरू रहे जस्तै देशमा पनि निरश र रुग्ण समय चलिरहेको छ पखेटा लागेका बचेराहरू हराएजस्तै देश सुक्दै गरेको धरमराएको वनस्पति भएको छ। परदेशिएकाहरूले देश आँखामा मुटुमा, शिरमा  सजाएर लगेका छन् र जानेहरूको प्यारमा देश अनन्तसम्म दुखिरहन्छ भन्ने यसभित्रका प्राय: सबै कवितामा अभिरेखाङ्कित छन्।

घ) यादको झरी

यस विभागमा कविले पाँच शीर्षकका कविताहरू सजाएका छन्। आकाशमा चहकिने जूनलाई प्रेमिको संस्मरणको तीर्खासँग जोडेर मरुस्थलको उत्तापमा स्वप्निल याद यसरी पोखेका छन्:

एकदिन

पखेटा फिंजाउँदै उडिजानेछन् दुःखहरू

भरिनेछ घाउको गहिरो सागर

सुक्नेछ आँसुको लामो नदी

जीवनको अँध्यारो ओढारतिर

बिलाउनेछ पीरव्यथाको आदिम चीत्कार।

युगौसम्म मग्मगाउनेछ

मात्रै

हृदयमा प्रेम।

उनी प्रेमिल भावका कवि हुन्। सुदूर मरुस्थलमा बसेर भीडमा काम गर्दा पनि हृदयमा कविता वर्षिरहेजस्तो र प्यार झ्यालबाट पोखिरहेको जस्तो अनुभूतिको गहिरा सागरहरूमा चुर्लुम्म डुबेर उनले यस खण्डका काव्यहरूको पृथकिकरण गरेका छन्।

ङ) अचेल हामी भेट हुँदा

जीवनको लय संयोग र वियोगका घटना परिघटनाहरूसँग जोडिन्छ नै। यात्राको लामो गोरेटोमा भेटिनु र छुट्टिनुका अगणित योग, संयोग भई नै रहन्छ तर कतिपय भेटमा मुस्कुराउन पनि कष्टकर हुन्छ भन्ने कहालीलाग्दो तस्वीर यस खण्डका कवितामा उभ्याएका छन्। नभेट्न पाए हुन्थ्यो भन्यो छ्वास्स भेटिन्छ। लुक्न खोज्दा देखिन्छ। लामो समय प्यारको तन्तुले जोडिएर बाध्यताले टाढिएकाहरूको कहरपूर्ण भेटलाई उनले सजिलोसँग देखाएका छन् यस खण्डमा। भित्र सबै मक्किएर धुजाधुजा भए पनि सब ठिकठाक भन्नु संस्कारजस्तै भइसकेकोछ। भित्र आँधी छ,अौडाहा छ,ज्वालामुखी छ, अतृप्ति, अशान्ति र अभावको मुस्लो छ तर कुन बाध्यताले सब ठिकठाक छ भन्नु परेको होला भन्दै आश्चर्य बोध गरेका छन्।

जीवन सुख र दुःखको चक्र हो भने पनि परिवर्तनको फेरोमा यो दिन र रात जस्तै चलिरहन्छ, शीत र तापजस्तै मान्छेलाई भोगाइरहन्छ र  देखाइरहन्छ उज्यालो र अँध्यारोका भ्रम तथा यथार्थहरू अनि कसरी सधैं सब ठिकठाक हुनसक्छ! कविमा नमेटने जिज्ञासा उत्पन्न हुन्छ।

यस खण्डमा सात कविता छन् र तिनमा मान्छेका कृतिमता र देखावटीपन झ्याँगिदै गएकोबारे चोटिलो र यथार्थपरक व्यङ्ग्य पस्किएका धारिला कविताहरू छन्।

च) कवि र कविता

यस खण्डमा चार कविता समेटिएका छन्। जहाँ कवि र कविताको अमरगाथालाई चित्रित गरिएको छ। कवि आखिर को हुन्? उनले संसारलाई दिने चिज के हो? किन कविताको मूल्य महिमामय र गरिमामय हुन्छ? हर जीवन कवितामय  हुन्छ नि बोध गर्न सके भन्ने सत्यलाई यसरी प्रकट गरेका छन्:

जीवन एउटा कवि हो

निस्कन्छ एकदिन नयाँ यात्रामा

र छोडेर जान्छ

कविताजस्ता सुन्दर यादहरू।

यस खण्डमा बुढो पहाड, कवि र कविता, मातृभाषा शीर्षकमा काव्य सरिता निस्सृत छन्। कवि स्वाभिमान, श्रम र समयको भीष्म पितामह हो जो मर्छ तर झुक्दैन उसैसँग मान्छेहरू जिस्कन्छन्, हेप्छन् र हेय दृष्टिदिन्छन्। निष्ठाको सगरमाथा कविमनले कविता हुर्काएको छ अभाव,चोट र व्यथाहरुको महासङ्ग्रममा पनि भन्ने आशय र मातृभाषाप्रतिको सम्मोहन यस खण्डका कविताहरूमा छन्।

छ) पानी नचल्ने मान्छे

यस खण्डका कविताले पनि आगो ओकलेका छन्। बअछुत हुनुको पीडा, गाउँमा विकासका नाममा मान्छेहरुले भित्र्याएका विकृतिका डङ्गुर, समृध्दिका नाममा मानव सभ्यताप्रति गरिएका दुराचारप्रति यस खण्डका कविताले उछित्तो काढेका छन् र तीखा शब्दशर प्रहार गरेका छन्।

माघ १९ को स्वतन्त्रता अपहरण र यसले मान्छेभित्र फराक बन्दै गएको क्रान्तिको राप तापको अभीप्सालाई पनि कविले सम्बोधन गर्न भ्याएका छन्। यस खण्डमा जम्माजम्मी छ शीर्षकका कविता छन्।

हिमाल र विधवालाई तादाम्यता गरिएको र छ विधवाला जीवन रसमय रङ्गमय र सिर्जनामय बनाउन प्रेरित गरिएको छ।  कवितामा आँधि ठण्डी,घाम र तापबाट आहत हिमाल समय पाउनेबित्तिकै प्रभात र सन्ध्यामा नलजाई रङ्गमय भइदिन्छ भने विधवाको पनि मनको कुनामा रहहरु छन् त्यसले जीवनमा आलोक दिन्छ र रङ्ग भर्न सिकाउँछ भन्ने तर्क गरेका छन्।

भूकम्पबाट थिल्थिलो भएको वस्ती र मनहरूलाई सजाउन चाँदनी ताप, वसन्तको बतास, वृध्दको भरोसा र घाउको मल्हम बन्न नसकेको र बन्न जरुरी भएको सरस सन्देश पनि यस खण्डका कविताका अभिप्रायहरू छन्।

ज) जब एउटा मान्छे हराउँछ

कविताको राशभित्र यो शीर्षक  मियो हो। केन्द्रीय कथ्य पनि यसै मा छ। नागरिकहरू बिदेशिनुको पीडा,कहर ,अभिघात आहतका छहराहरू केलाइएका छन्।   डायस्पोरिक दर्द ओकलिएका छन्।

नारायणघाटमा माछा खोजिरहने दिलबहादुरलाई प्रतिनिधि बनाएर आम अबोध आमाबाहरूको आँसु,आक्रोश र भविष्यका अँध्यारा कहरहरू उनले पोखेका छन्।परदेशमा न खुसी साट्ने परिवार छ न दुःख बाढ्ने साथ छ। सफलतामा पनि पीडा निचोरेर रुनुपर्ने र विफलतामा पनि उसै थिलथिलो हुनुपर्ने व्यथाहरू काव्यको जीवन्त भाषामा पोखिएका छन्।

धुरी खाँबो हराएपछि घर भत्किएजस्तै हराउनेको खुसी ,पर्खनेको रहर,गाउँको सम्भावना सबै टुहुरिन्छन् र हराउँछन् भन्ने भाव यस खण्डका कविताहरुमा छन्। जम्मा जम्मी ७ शीर्षक रहेको यस खण्डमा आमालाई सम्बोधन गरिएको छ र भनिएको छ पानीको आगमनमा रुझेपनि फूलले खुसीको मुस्कान छोडेजस्तै परदिशिएको सन्तानको आगमनमा आमाको अनुहारमा पनि फूल मुस्कुराउँछ भन्ने अभिप्रायका साथ अन्तिम कविताको बिट मारिएको छ।

३) लालित्य

जब एउटा मान्छे हराउँछ गद्यशैलीको कविता सङ्ग्रह हो र यसमा भरपूर बिम्ब प्रयोग भएका छन्। बाको अनुहारलाई घामजूनको बिम्बमा यसरी लालित्यपूर्ण दृष्टिगोचर गरिएको छ:

त्यो अनुहारमा

हरेक बिहान नयाँ दिनको भारी बोक्न

उदाउँछ एउटा घाम

जो साँझमा दुःखको धर्सा छोप्दै

खुसीको ससाना पोकन बोक्दै

आइपुग्छ उज्यालो पार्दै घरआँगनमा।

चन्द्रले शब्द प्रयोगलाई अर्थान्तर गर्दै भाँचकुँच पारेर नयाँ बाटिका सिर्जन गरेका छन्। गालाको डिलबाट चिप्लिगएको,मुस्कान, उज्यालोलाई मनको ल्याम्पपोष्टमा झुण्ड्याएको कल्पनामा परिलक्षित जीवन, भरियालाई बाटो देखाउन आएको जून, पहाडलाई अँगालोमा बेर्ने मायालु बादल, झरीमा रुझेका जीवनका भाका, पातमाथि पानीको चित्कार, किलामा तुन्द्रुङ्ग झुन्डिएको र भिजेको दैनिकी, बलेको पानीको मसला, भोकको बिरुध्द,जीवन र पानीको बहाइ ,कालो छाया र अहम्, हड्डीको टुक्राजस्तो देश, फरक रङ् र क्यानभासमा देश,थोत्रो भाँडो, रित्तो थैलो र चिसो चुलोको वर्तमान ,घामजून टिपेर आफ्नै कपडामा जोडेपछि मुटुबाट रगत झिकेर पोत्दै बनाएको झण्डा आदि अनेक परिकल्पित अर्थविचलनको  ध्वन्यात्मकताभित्र  व्यङ्ग्यचेत जोडजाड गरिएकोछ। वास्तवमा यहाँ कविताको कारिगरी गजबले कुँदिएको छ बिम्ब कलापारखमा।

४) कताकति हलुवामा बालुवा

छानामाथि बर्सातले प्रहार गर्छ

पातमाथि पानीको चीत्कार सुनिन्छ।

पातमाथि पानीको चित्कार, जहाँ प्रयोग भएको छ त्यहाँ शीर्षकको सिंङ्गो केन्द्रीय कथ्यसँग यसले अर्थ विरोधाभास ल्याउँछ किनकि पानीले बाढीबाट ध्वंश गर्दैछ भनेर खलनायकी बनाइएको छ र पानी विध्वंशक रहेको छ उसले बरु यस अवस्थामा अट्टाहस गर्ला तर चीत्कार गर्दैन। चीत्कार गर्ने त भेल बाढी र पानीको आगोबाट प्रताडना सहनेले हो। त्यसैले यहाँ शब्दको संयोजनले अर्थमा विचलन र भ्रम सिर्जना गरेको छ। कविता त बन्यो तर अर्थको तहमा सग्लो सौन्दर्य यसले खजमज्याएको छ।(झरिरहेछ पानीको मुसलधारे आगो)

तिमी त पहाडमाथिको ढुङ्गाझैं चकनाचूर हुने गरि झुक्यौ

सुकेको  रुखझै भाँचिने गरि झुक्यौ

छहराझैं अनुहारको चमक हराउने गरि झुक्यौ

साथी

तिमी गलत झुक्यौ।

छहराझै अनुहारको चमक हराउने गरि झुक्यौ भनेर एक चाकडीवाजलाई छहरासँग किन दाँजेको भन्ने प्रश्न उब्जाउने ठाउँ कविताले दिएको छ र म पनि प्रश्न गर्छु विचरा स्निग्ध सफेद बन्न हाम्फाल्दै गरेको छहराले कसैको चाकडी गर्छ र! छहराकहाँ चमक हराएर झुक्छ,बरु पहरा फोडेर हाम्फाल्छ र बग्ने पानीभन्दा स्निग्ध सफा,चहकिलो पो  हुन्छ त हाम्फाल्ने झरना र छहराहरू (झुक्दा झुक्दै)

मन अमिलो बनाउँदै

गाली गर्छन्

झपार्छन् हेप्नु हेप्छन्

(पानी नचल्ने मान्छे)

यहाँनेर कवि चिप्लिएका छन् किनकि गाली खानेहरुले मुख अमिलो पार्छन् गर्नेहरुले होइन। हुन सक्छ, सानैमा घर छोडे पल्टनको सङ्गतमा रमेका र हाम्रा गाउँघरका उखान  टुक्काबाट  अलि पर्तिर रहेकाले पनि कविमा कताकति यस्तो भैदिन सक्छ।

अन्त्यमा

चन्द्र गुरुङकाे प्रस्तुत कविता सङ्ग्रह बोधको गहिराइबाट निस्केको आलोक हो जहाँ कवि मन कतै पिताको श्रमशील जीवनप्रति अनुग्रिहित छन्,कतै स्वतन्त्रताको उन्मेषले निर्बन्ध र स्वच्छन्द विचरण गर्दै मस्ताराम उड्न चाहेका छन्। अनुभूतिको सैसला खेलेर कतै  देश दुखेको चिन्तामा रुन्छन्,बिदेशिनुको कहरमा हतभागिता महशुस गर्छन्। कतै खबर्दारीको अौलो ठड्याउँछन्। कवि कतै प्यारका आल्हादकारी आनन्दमा रमाउँन खोज्छन् र आफ्नै टुटेको प्यारको आलोघाउ झ्यालबाट हेर्दै कोट्याउन चाहन्छन्। आफू जहाँ जसरी रहेको भए पनि मातृप्यारको मुहान सुक्नुहुन्न ,रसाइरहनुपर्छ भन्छन्।

आमाको देदीप्यमान अनुहार सन्तानको खुशीमा झनै झलझलाकार भइरहन्छ भन्ने भावलाई उनले काव्यकलामार्फत पस्किएका छन्। देखिएका छिटपुट गिर्खाहरूबाहेक कविताहरू सशक्त छन् र ओझिला छन्।

उनको प्रस्तुतिको तरिका शालीन भएर पनि कडा र मर्मश्पर्शी छ। सजिला भाषिक संरचनामा उनका कविताहरू आगो ओकल्छन् र विसङ्गत मानसिकतामा छिनुले छेडे जस्तै, भालाले रोपेजस्तै बनाउँछन्। उनको काव्यसाधना अबबल छ र अर्को अवतारमा अझ निखार, अझ मिहीन र अझै सुकिलो कविताको बान्की दिन सक्छन् चन्द्र गुरुङ्ले। उनी सग्लै कवितामय मान्छे हुन्। अझै उज्यालो र अझै धारिलो कविता समयले मागिरहेको छ चन्द्र गुरुङ्सँग।

प्रकाशित: २ पुस २०८१ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App