म आफैं एक्काइसौं शताब्दीकी महिला हुँ। मेरो जन्मसँगै जीवनका १२ औं वसन्त पार गर्दैगर्दा अपाङ्गता वरण गर्न पुगेकी छु। महिला, घरेलु, लैंगिक हिंसाको तलाउलाई छिचोलेर बल्ल बल्ल जुरुक्क शिर उठाएर हिँड्न सक्ने भएकी छु।
यो कसैले गरिदिएर वा गराइएर भएको भने होइन। म आफैं त्यो दलदलमा भासिन पुगेकी हुँ, बस समय र परिस्थितिको उपजको उपक्रममा पुरुष रंगभेदले च्याप्पै जरा गाडेको मनस्थितिमा हुर्केको रोगी पुरुष मानसिकताको सिकार हुन खोजेकी मात्रै थिएँ तर मैले मेरो आवाज सम्मानसहित बुलन्द बनाएकै कारण आज यो समाजमा मेरो उपस्थिति बनाउन सक्षम भएकी छु।
म हालको परिस्थितिसम्म आइपुग्न असाध्यै अप्ठेरा पहाड, कान्ला, कन्दरा, मरुभूमि अनि चट्टानजस्तो कठिन परिस्थिति झेलेर यहाँसम्मको बाटो तय गरेकी हुँ। जुन बाटो तय गरेर यहाँसम्म आइपुगेकी छु, त्यो बाटो तय गर्न म आफैंसँग लडेकी छु, आफ्नासँग लडेकी छु अनि मुतको न्यानो दिने आफ्ना भनिनेहरूसँग समेत लडेकी छु।
मजस्तै यो समाजमा हिम्मत लिएर अडिन हाम्रो समाजमा पक्कै सजिलो भने छैन तर गर्दै गयो भने असम्भव भन्ने पनि केही छैन। लैंगिक हिंसा भयो भनेर आफ्नो अधिकार खोजिरहँदा आफ्नो अधिकारको एकतर्फी चस्माले अर्कोतर्फलाई भने हिंसा नहोस्, मेरो कामना छ।
हालको विश्वव्यापी सम्पूर्ण वातावरणलाई हेर्ने हो भने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँगै माहोल गर्माएको अवस्था छ। विशेषतः यो अभियान महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा ‘सेन्टरफोर ओमन्स ग्लोबल लिडरसिप’को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूूहले सुरुवात गरेको थियो।
लाग्छ, यो १६ दिने अभियानले महिलाका अधिकारबारे राम्रोसँग वकालत गरेको छ अथवा भनौं महिलाका समस्या छुमन्तर भएको छ। म आफैं एक महिला भएर इमानदारीपूर्वक लैंगिक हिंसाको समस्या समाधानका लागि कति काम गरेँ अनि म आफैंमाथि भएका हिंसामाथि कति खरो रूपमा उत्रिन सकेँ भन्ने कुराले महत्त्व राख्छ। त्यसमा पनि अपाङ्गता भएका महिलाका सम्बन्धित विषयमा कति बोल्न सकियो भन्ने कुराले महत्त्वपूर्ण अर्थ राख्छ।
वर्षौंदेखि अपाङ्गता भएका महिलाका सम्बन्धित विषयमा बोल्ने संस्थाहरूले आफ्नै क्षेत्रमा आफूपछिको दह्रो नेतृत्व क्षमता भएको योग्य व्यक्ति तयार गर्न नसकेको कुरा देखेर मलाई भने हास्यास्पद मात्रै होइन, नेपालको राजनीतिको अवस्था र अपाङ्गता अधिकारसम्बन्धमा वकालत गर्दै आइरहेको अघिल्लो पुस्ता अर्थात् अग्रजहरूको र उहाँहरूको नेतृत्वशैलीमा भने प्रश्न सोध्न मन लाग्छ ? के अब अर्को नेतृत्व क्षमता भएको व्यक्ति तयार गर्ने बेला भएन र ? र पनि मलाई थाहा छ समावेश भएर सक्रियतामा म नआए पनि महिलाका समस्या समाधानका लागि नै भनेर बर्सेनि कति संस्था यसमै काम गर्छन् भने महिलाको अवस्था दयनीय छ वा सुधारोन्मुख छ भनी विश्वव्यापी सम्मेलनमा हरेक वर्ष छलफलसमेत हुने गर्छ।
अर्को कुरा विश्वव्यापी महिलाका मुद्दामा कति प्रतिशतले अपाङ्गता भएका महिलालाई समेटेर कार्यक्रम गरिन्छन् होला ? नेपालमा यसले कस्तो प्रभाव पारेको छ ? सम्बन्धित क्षेत्रमै बर्सेनि यसमै काम गरिरहनुभएकाले महिलाबारे कतिपटक कुरा उठाउनुभयो होला? हामी यस्ता कार्यक्रममा जोडिन के गर्नुपर्ला? यो विषय मलाई मात्रै होइन, अधिकांशलाई थाहा छैन। त्यसैले यो विषय गम्भीर छ। अब नयाँ नेतृत्व तयार गर्ने बेला भएन र ? राजनीतिक वृत्त र तपाईंहरूमा कुनै फरक देख्दिनँ म।
सीमित महिला मात्रै सामेल हुन सक्ने यस्ता कार्यक्रमबाट लैंगिकता र लैंगिकताका लागि उठेका मुद्दामा साच्चिकै समेटिनुपर्ने महिला समेटिन्छन् त? या हात्तीको देखाउने दाँत र चपाउने दाँत भनेको जस्तै हो भन्दा फरक नपर्ला। अर्थात् हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने १६ दिने अभियानले केही माखो मार्नेवाला छैन।
महिलाहिंसा वा लैंगिक विभेदविरुद्ध हुने कार्यक्रमले तय गरेको बाटोले असहजताको दाम्लो फुकाउने कोसिस गरेको छ तर त्यही दाम्लो चुँडालेर स्वतन्त्रता महसुस गर्न भने अझै दिएको छैन। यसका लागि महिला आफैं सचेत हुनुपर्ने देखिन्छ। आफ्नो जिन्दगी परिवर्तनको संवाहक आफैं हुनुपर्छ नत्र हात्ती आयो हात्ती आयो फुस्साबाहेक केही हुने छैन।
यति मात्रैमा लैंगिक विभेदको अभियान सीमित कहाँ हुन सक्छ र ? कदापि सक्दैन किनकि यस्ता विभेदमा महिला मात्रै नभई अझै तथ्याङ्कमा नै देखा नपर्नेगरी त अपाङ्गता भएका महिला र वर्गीय तथा जातीय जाँतोमा थिचिएका महिला पर्नेगरेका छन्।
तथ्याङ्कले महिला मात्रै विभेदमा पर्ने गरेको बताएको छैन। पछिल्लो समय त झन् पुरुषसमेत बडो अप्ठ्यारो परिस्थितिबाट विभेदमा पर्ने गरेका समाचार सार्वजनिक हुने गरेका छन्। यस्तो किसिमको विभेदको कुरा गर्दा सम्पत्तिको नाममा महिलाहरूबाट नै पुरुषहरू पीडित हुने गरेको आश्चर्यपूर्ण तथ्याङ्कले देखाउँछ। साथै यस्तो अवस्थाको सिर्जना भने महिलामा व्यावहारिक हुनेभन्दा पनि छोटो समयमा सम्पत्ति कमाउने मोहको नराम्रो लतले गर्दा बढ्दै गएको प्रवृत्तिजस्तो बन्न गएको छ। यसलाई कानुनी दायरामा ल्याउन सकिएन भने विकराल समस्याका रूपमा समाजको मूल समस्या नबन्ला भन्न सकिन्न। त्यसैले महिला र पुरुष दुवै संयमित र अनुशासित भएर असल समाज निर्माणमा योगदान पुर्याउनुपर्ने देखिन्छ।
लैंगिक हिंसाविरुद्धको यो ३३ वर्षले बोल्न सक्ने बनाएको छ मात्रै भनेर उम्कन उचित हुँदैन। हिंसाविरुद्ध आफू सामेल भइरहँदा अरूलाई भने हिंसा नगरेको मार्ग तय गर्नेमा भने हेक्का रहोस्।
–सुवेदी ‘एमएस नेपाल इन्टरनेसनल २०२३’ विजेता साथै शास्त्रीय नृत्याङ्गना हुन्।
प्रकाशित: २९ मंसिर २०८१ ०७:४४ शनिबार