हरेक वर्षको थिंलापुन्हि अर्थात् धान्य पूर्णिमाको दिनलाई नेवार समुदायले यःमरिपुन्हिका रूपमा मनाउने गर्छन्। धानको भकारी अर्थात् धान्यलक्ष्मीको पूजा गरिने भएकाले धान्य पूर्णिमा भनिएको कथन पनि छ। यस दिन यःमरि पकाएर खाने गरिएकाले कालान्तरमा यसलाई यःमरिपुन्हि भन्न थालिएको हो। नेवारीमा यःको अर्थ मनपर्ने र मरिको अर्थ रोटी हो। यसरी मनपर्ने रोटी भएकाले यसलाई यःमरि भन्न थालिएको हो ।
नयाँ धानको चामल पिसेर त्यसमा विशेषगरी चाकु र तिलको झोल अथवा खुवा हालेर यःमरि बनाइन्छ।
यःमरिपुन्हिको किंवदन्ती
यःमरि बनाएर अन्नभण्डार अथवा भकारीमा चढाउने, यःमरि माग्ने, यःमरि दान गर्ने र यःमरिपुन्हि पर्व मनाउने चलन कहिलेदेखि चल्यो भन्ने विषयमा यकिनसाथ भन्न सकिने कुनै तथ्य तथ्यांक छैन। तथापि लिच्छविकालदेखि नै यो चलन चलेको भन्ने मान्यता रहिआएको पाइन्छ। इतिहासविद् भुवनलाल प्रधानले आफ्नो पुस्तक ‘नेपालको इतिहास र संस्कृतिका केही पक्ष’मा उल्लेख गरेअनुसार लिच्छवि राजा वृषभदेव (४४७–४७२) को पालादेखि नै यःमरिपुन्हि मनाउन थालिएको अनुमान छ।
यःमरिपुन्हिसँग सम्बन्धित एउटा ऐतिहासिक किंवदन्ती नेवार समुदायमा निकै प्रचलित छ। संस्कृतिविद् लीलाभक्त मुनंकर्मीले आफ्नो पुस्तक ‘नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन’ मा लेखेअनुसार पाञ्चाल प्रदेश (हालको पनौती) मा सुचन्द्र नाम गरेका एकजना धर्मात्मा महाजन सपरिवार व्यापारकर्म गरी बस्थे। सुचन्द्रका जोईपोइ दुवै नै विष्णु भगवान्का भक्त थिए।
धनधान्य र समृद्धिका देवता कुवेरलाई ती जोईपोइ परोपकार र दानधर्ममा कत्तिको उदार रहेछन् भन्ने जाँच्न मन लागेछ। एकदिन कुवेर एउटा गरिब ब्राह्मणको भेष गरेर तिनीहरूको घरमा भिक्षा माग्न गएछन्। आफ्नो घरको ढोकामा एकजना गरिब ब्राह्मण भिक्षा माग्न उभिएको देखेर सुचन्द्र पत्नीको मनमा दया पलाएछ। उनले ती ब्राह्मणलाई ठुलो सत्कार गरी घरको माथि लगेर नयाँ लुगा फेर्न लगाई आफूले तयार पारिराखेको यःमरिसहित अरू मिठो भोजन गराएछन्। गरिब ब्राह्मणको भेषमा आएका कुवेरले सुचन्द्र दम्पतीको भक्तिभाव र उदारताबाट प्रसन्न भएर आफ्नो सक्कली रूपको दर्शन दिएछन्। त्यसपछि यःमरिको गुणको वर्णन गर्दै आफूले ल्याएको एउटा बिमिरो पनि दिएर कुवेर अन्तर्ध्यान भएछन्।
सुचन्द्र दम्पतीले त्यो बिमिरोलाई धानको भकारीभित्र राखी कुवेर, गणेश, लक्ष्मी आदि देवीदेवताका मूर्ति आकारका यःमरि बनाई भकारीमा चढाई भक्तिभावपूर्वक पूजा गरेछन्। त्यस दिनदेखि उनीहरूको धनसम्पत्ति वृद्धि भई जति झिके पनि नसिद्धिने भएछ। त्यो कुरा एक कान, दुई कान हुँदै सर्वत्र फैलिएछ। त्यसपछि अरूले पनि धान्य पूर्णिमाको दिन यःमरि पकाई धनधान्यका देवता कुवेर तथा अन्नभण्डार र भकारीको पूजा गर्न थालेछन्। त्यसै बेलादेखि यःमरिपुन्हि पर्व मनाउने चलन चलेको भन्ने मान्यता नेवार समुदायमा रहेको पाइन्छ। यस दिन पनौतीको धनेश्वरमा ठुलो मेला लाग्ने गर्छ।
स्वास्थ्यवर्धक यःमरि
यःमरिलाई स्वास्थ्यका दृष्टिकोणले अत्यन्त गुणकारी मानिएको छ। जाडो बेला शरीरलाई न्यानो बनाइराख्न बाहिरी लुगाले मात्रै पुग्दैन। शरीरलाई न्यानो बनाइराख्न र चिसोबाट बचाउन शरीरभित्रैदेखि न्यानो अर्थात् ऊर्जा उत्पादन गर्नु आवश्यक हुन्छ।
विशेषगरी चाकु र तिललाई ऊर्जाप्रदायक परिकारको रूपमा लिइएको छ। त्यही चाकु र तिलको झोल हालेर बनाइएको तात्तातो यःमरि खानाले शरीर भित्रैदेखि ऊर्जा उत्पन्न गरी शरीरलाई चिसोबाट बचाउने हुँदा यसलाई स्वास्थ्यवर्धक परिकारका रूपमा लिने गरिन्छ।
यःमरिको प्रकार
यःमरि दुई प्रकारको हुन्छ– बायो र मायो। बायो शंखाकारको हुन्छ। यो पितृलिङ्गको बिम्बबोधक हुन्छ। मायोचाहिँ त्रिकोणाकारको हुन्छ। यो मातृयोनिको बिम्बबोधक हुन्छ। यसरी हेर्दा यःमरिमा जीवनदर्शन पनि पाइन्छ। हाम्रा मौलिक संस्कृतिभित्र यस्ता बिम्बबोध र जीवनदर्शनका धेरै उदाहरण भेटिन्छन्। हाम्रा संस्कृतिले बिम्ब र जीवनदर्शन बोकेको पाउँछौं। त्यसैले हाम्रो संस्कृति र हाम्रो सम्पदाको मूल्य र महत्त्व अतुलनीय छ।
स्मरणीय के छ भने बायो यःमरिमा चाकु र तिलको झोल अथवा खुवा हालिन्छ भने मायो यःमरिमा चाकु र तिल हालिन्न। मायो यःमरिमा मास, मुँगलगायतका दालसँगै लसुन, अदुवा, हिङ, सुकुमेल, मरिच आदि मसलाजन्य पदार्थ पिसेको धुलो हालिन्छ।
यसरी बायो र मायो यःमरिमा गुलियो र नुनिलो स्वादको भिन्नता पाइन्छ। यःमरिले जाडोमा शरीरलाई आवश्यक पर्ने ताप र ऊर्जा दिने र चिसो लाग्नबाट बचाउने भएकाले यसलाई स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिएको छ। यद्यपि अचेल मान्छेले आफ्नो रुचि र स्वादअनुसारका खाद्यवस्तु हालेर पनि यःमरि बनाउने गर्छन्।
यःमरि बनाउने कला
यःमरि बनाउनु पनि एउटा कला नै हो। जोसुकैले सही आकारमा यःमरि बनाउन सक्दैनन्। जसरी चित्रकारले सजिलै भनेजस्तो चित्र बनाउँछ तर अरूले सक्दैनन्। त्यसैगरी यःमरि पनि नेवार समुदायका विशेषगरी महिलाले सही आकारमा यःमरि बनाउन सक्छन्।
फरक आकारका बायो र मायो नामका यःमरि बनाउनु पनि एउटा कला नै हो। नफुट्ने र नबिग्रने गरी सही आकारका यःमरि बनाउन सक्नु एउटा कला नै हो। नयाँ धानबाट बनेको लस्सादार चामल छनोट गर्नु, त्यसलाई उमालेको तातो पानीमा हालेर मुछ्नु, मुछेर हल्का गिलो भएको पिठोको डल्लोबाट हातमा हल्का तेल दलेर शंखाकार र त्रिकोणाकारका बायो र मायो यःमरि बनाउन सक्नुलाई असल कलाकारिता नै मान्नुपर्छ। सही आकार र ढंगको यःमरि बनाउनु कला नै हो। कला नहुनेले बनाएका यःमरि बेढंगका हुन्छन्।
यःमरि बनाउने कला विशेषगरी नेवार जातिमा मात्रै पाइन्छ। त्यसैले यःमरिलाई नेवार जातिको विशेष परिकारको रूपमा लिइन्छ। अचेल नेवारी परिकारमा यःमरि निकै लोकप्रिय मानिन्छ। नेवारी परिकार रुचाउने पारखीहरूको रोजाइमा यःमरि पनि पर्छ।
अन्नपूर्णा देवीको पूजा
यःमरिपुन्हिको दिनमा पकाइएको यःमरि सर्वप्रथम धानको भकारीलाई कुवेरको प्रतीक मानेर चढाइन्छ। साथै लक्ष्मी, गणेश, नारायण, कुमार, कुवेर, महादेव, पार्वती आदिको मूर्ति आकारका रोटी र सानासाना पात आकारका रोटी (ल्होँचामरी) बनाएर अन्नको भकारीलगायत अन्नभण्डार र घरका देवीदेवतालाई पूजा गरेर चढाउने चलन पनि छ। यसो गर्दा धनधान्य वृद्धि हुने विश्वास छ।
यःमरिलाई कुवेर र गणेशको प्रतीकका रूपमा पनि लिइन्छ। यसरी यःमरिले भूमि अर्थात् प्रकृतिको पनि पूजा गरिन्छ भन्ने दर्शाउँछ। नेवार समुदायमा यःमरिपुन्हिलाई अन्नपूर्णा देवीको पूजाको रूपमा पनि लिइन्छ। अन्नपूर्णा देवीले अन्नले पूर्ण गराउँछिन् भन्ने विश्वास छ।
अन्नभण्डार, धानको भकारी र देवीदेवतालाई चढाइएको यःमरि चार दिनपछि प्रसादका रूपमा परिवारका सदस्यबीच बाँडेर खाने चलन छ। साथै विवाह गरेर गइसकेका छोरीचेलीलाई पनि बोलाएर खुवाउने चलन छ।
स्थानीय उत्पादनलाई प्रोत्साहन
यःमरि बनाउन स्थानीय उत्पादन नै प्रयोग हुन्छ। यःमरि बनाउनका लागि आवश्यक लस्सादार पिठो स्थानीय ताइचुन जातको धानबाट प्राप्त हुन्छ। ताइचुन धानलाई कुटेर तयार पारिएको चामललाई पिसेर लस्सादार पिठो तयार पारिन्छ।
यसैगरी यःमरि बनाउनका लागि आवश्यक चाकु, तिल र खुवा पनि स्थानीय स्तरमै उत्पादन हुन्छन्। तेल पनि स्थानीयस्तरमै उत्पादन हुन्छ। यसैगरी मायो यःमरिमा प्रयोग हुने मास तथा मुँगको दाल, लसुन, अदुवा, हिङ, सुकुमेल, मरिच आदि मसलाजन्य पदार्थ पनि स्थानीय स्तरमा देशभित्रै उत्पादन हुन्छन्। यसरी स्थानीय उत्पादनकै प्रयोग गरिने हुँदा यःमरिपुन्हिले स्थानीय उत्पादन वृद्धिका लागि प्रोत्साहन प्रदान गरेको देखिन्छ।
धार्मिक/सामाजिक विश्वास
यःमरिपुन्हिको दिनदेखि दिन लामो हुने र जाडो घट्दै जाने मान्यता पनि छ। यःमरिको चुच्चो जति लामो भयो उति नै जाडो छोटो हुने विश्वास छ। विश्वासै त हो। हाम्रो समाज धेरै कुरामा विश्वासमै अडेको छ। हाम्रो संस्कृतिको धेरै वटा पक्ष पनि विश्वासमै आधारित छन्। विश्वास गरेपछि हरेक कुरालाई सकारात्मक आँखाले हेर्ने प्रवृत्ति बस्छ। हाम्रा संस्कृतिका धेरै पाटा शास्त्रले भन्दा विश्वासले आर्जेको सकारात्मक दृष्टिकोणका परिणाम हुन्।
प्रकृति पूजा
यःमरिपुन्हि खासगरी नेवार किसानको पर्व हो। किसानहरू प्रकृतिका पूजक पनि हुन्। आगामी वर्षमा बढी अन्न उत्पादन होस् भनेर अन्नको भण्डारलाई पूजा गर्ने चलनले यही तथ्यलाई पुष्टि गरेको पाइन्छ। तथापि पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशैभरि खेतीयोग्य जमिन कम हुँदै गएको र अन्न उत्पादन नै कम हुन थालेको स्थितिमा यःमरिपुन्हि मनाउनुको औचित्य नै विलाएको देखिन्छ।
यति हुँदाहुँदै पनि नेवार समुदायको विशेषगरी ज्यापु समुदायको मौलिक संस्कृतिको रूपमा विकास भएको यःमरिपुन्हिलाई यहाँ विशेषगरी ज्यापु समाजले निरन्तरता दिइरहेका छन् र आफ्नो संस्कृतिलाई जोगाउने प्रयत्न गर्दै आएका छन्।
ज्यापुको पर्व
यःमरिपुन्हि ज्यापुहरूको पर्व हो। ‘ज्या’को अर्थ काम र ‘यायेफु’को अर्थ गर्नसक्ने हो। यसरी ज्यायायेफु (काम गर्नसक्ने) बाट अपभ्रंश भई ज्यापु हुन गएको हो। खेतीकिसानीको कठिन काम गर्नसक्ने जाति भएकोले विशेषगरी काठमाडौं उपत्यकाका नेवारलाई ज्यापु भनिएको हुनुपर्छ।
हरेक वर्ष यःमरिपुन्हिकै दिनलाई ज्यापु दिवसको रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम गरेर मनाउन थालेका छन्। ज्यापुहरूले आफ्नो संस्कृतिको संरक्षण र सम्वर्धन गर्नुका साथै त्यसलाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने प्रयत्न गर्दै आउनु सह्रानीय छ।
काठमाडौं उपत्यकाका नेवारहरूले २०६१ सालदेखि यःमरिपुन्हिको दिनलाई ज्यापु दिवसका रूपमा मनाउन थालेका हुन्। २०६५ साल पुस ११ गते सरकारले यःमरिपुन्हिको दिनलाई ज्यापु दिवसका रूपमा राष्ट्रिय दिवसको मान्यता दिएपछि यो कार्यक्रममा सरकार प्रमुखसमेत निरन्तर सहभागी हुँदै आएका छन्।
सांस्कृतिक निरन्तरता
बढ्दो सहरीकरण र कृषिमा आधुनिकीकरणले गर्दा कृषिमा ज्यापुहरूको भूमिका न्यून हुँदै गए पनि उनीहरूले आफ्नो संस्कृतिलाई निरन्तरता दिइरहेका छन्। हिजोका दिनमा खेतीमा रमाउने ज्यापुहरू आज शिक्षा र सभ्यताको माध्यमबाट निकै आधुनिक भइसक्दा पनि आफ्नो मौलिक संस्कृति संरक्षणमा भने निकै जागरुक देखिएका छन्। हरेक वर्ष धुमधामले ज्यापु दिवस मनाउने प्रयत्नले यसै तथ्यलाई पुष्टि गर्छ।
यःमरिपुन्हि नमनाउने गाउँ
स्मरणीय के छ भने विशेषगरी काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने भए पनि यःमरिपुन्हि यहींका सातगाउँ अर्थात् न्हय्गाँ(कीर्तिपुर, पाँगा, नगाउँ, सतुङ्गल, लोहँकोट, बोसीगाउँ र मच्छेगाउँ) का नेवारले भने यःमरिपुन्हि पर्व मनाउने अथवा यसलाई खासै महत्त्व दिने गरेका छैनन्। सातगाउँको जात्रा यःमरिपुन्हिकै अघि हुने भएकाले उनीहरूले यःमरिपुन्हिलाई त्यति महत्त्व नदिने गरेको बताइन्छ।
यःमरि माग्ने चलन
यःमरिपुन्हिमा यःमरि माग्ने चलन पनि छ। तिहारमा गैरनेवार हिन्दुहरूले देउसी–भैलो खेल्ने चलन भएजस्तै नेवारहरूको पनि यःमरिपुन्हिमा यःमरि माग्ने चलन छ। तिहारमा देउसी खेल्दा ‘भन–भन भाइ हो’बाट सुरु गरिएजस्तै यःमरि माग्दा ‘त्यछिं त्यः बकछिं त्यः’ बाट सुरु गरिन्छ। यद्यपि काठमाडौं उपत्यकामै पनि काठमाडौं, भक्तपुर र ललितपुरमा यःमरि माग्दा भट्याउने गीतमा थोरै भिन्नता रहेको भेटिन्छ। त्यो भिन्नता स्थानीय भाषा र बोलीचालीको भिन्नताको कारण देखिएको मान्न सकिन्छ। यःमरि गीतमा हास्य र व्यङ्ग्य समेत मिसिएको पाइन्छ।
यःमरि माग्ने गीत
यःमरि माग्दा भट्याइने गीत यस्तो छ:
त्यःछिं त्यः बकछिं त्यः
लातापाता कुलिंचा जूछिंत्यः
बिउसा ल्यासे मबिउसा बुरीकुटी ...।
(दुई कुरुवा आधा कुरुवा भए पनि ठिकै
लथ्याङमथ्याङ कुरुवा भए पनि ठिकै
दिए तरुनी नदिए बुढीकुटी।)
यःमरि माग्ने चलन संस्कृतिको रूपमा विकास भएकोमा पछिल्लो समय यो चलन हराउँदै गएको छ। तिहारमा देउसी–भैलो खेल्न नयाँनयाँ देउसी–भैलो गीतहरू सिर्जना भइरहेको सन्दर्भमा नेवार समुदायले चाहिँ समयसापेक्ष रूपमा यःमरि गीतहरूको सिर्जना गर्न नसक्नु र आफ्नो यःमरि माग्ने चलनलाई नै संरक्षण र सम्वर्धन गर्न नसक्नु दुःखद पक्षका रूपमा रहेको छ। ज्यापु दिवसको अवसरमा विशाल यःमरि बनाएर प्रदर्शन त गर्ने गरिएको छ, टोलटोलमा यःमरि गीत गाएर यःमरि माग्ने चलन चाहिँ करिब लोपकै सँघारमा पुगिसकेको छ।
सांस्कृतिक महत्त्व
नेवार संस्कृतिमा यःमरिको विशेष महत्त्व छ। धनधान्य वृद्धि हुने विश्वासले नेवार समुदायमा यःमरिपुन्हिको दिनमा यःमरि पकाई विभिन्न देवीदेवतालाई चढाउने र दान गर्ने चलन छ। शुभकार्यमा प्रयोग गरिने हुँदा यःमरिलाई शुभकामनाको परिकार पनि भनिन्छ।
नेवार समुदायमा बच्चाको जन्मदिन मनाउँदा सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै १२ वर्षसम्म यःमरिको माला लगाइदिने चलन छ। यस्तो गर्दा बच्चाको उमेरअनुसार जोर वर्षमा जति वर्ष लागेको हो त्यति नै संख्यामा यःमरिको माला उनेर लगाइदिने चलन छ।
जस्तै दुई वर्षमा दुईवटा यःमरि, चार वर्षमा चार वटा यःमरि, ६ वर्षमा ६ वटा यःमरि गर्दै १२ वर्षको उमेरमा १२ वटा यःमरिको माला उनेर लगाइदिने चलन छ। जंक्व अर्थात् भीमरथारोहणका बेला पनि यःमरिको अनिवार्य प्रयोग हुन्छ।
यसैगरी छोरीचेली गर्भवती हुँदा माइतीबाट दहीचिउरा खुवाउन जाने चलन पनि छ। यसरी दहीचिउरा खुवाउन जाँदा एक सय आठ वटा यःमरि लिएर जाने चलन पनि छ। यद्यपि यसरी दहीचिउरा खुवाउन जाँदा बायो यःमरि मात्रै लाने चलन छ, मायो यःमरि लाने चलन छैन। बायो यःमरिलाई मात्रै शुभकामनाको सगुन मानिन्छ। यो मान्यतामा पितृसत्तात्मक समाज अर्थात् पुरुषप्रधान मनोविज्ञानको प्रभाव रहेको देखिन्छ।
नयाँ घर बनाउँदा घर निर्माण सम्पन्न भइसकेपछि घरपूजा गर्दा घरको धुरीबाट यःमरि खसाल्ने चलन छ भने मन्दिर बनाउँदा निर्माण सम्पन्न भइसकेपछि मन्दिरमा गजुर र पताका चढाउँदा मन्दिरको धुरीबाट यःमरि खसाल्ने चलन छ। यस दृष्टिकोणमा पनि यःमरिको महत्त्व झल्किन्छ।
यःमरि पकाउनु, देवीदेवतालाई चढाउनु, धानको भकारीमा चढाउनु, पछि प्रसादका रूपमा ग्रहण गर्नु हिजोका दिनमा हाम्रो धर्मले निर्दिष्ट गरिदिएको धार्मिक कार्य मात्रै थियो। आज यो नेवार समुदायले अपनाउँदै आएको संस्कृति भएको छ।
धर्मको निर्देशनअनुसार नगरे पनि नेवार समुदायले आफ्नै चलनअनुसार यःमरि बनाउने, चढाउने र खाने संस्कृतिलाई निरन्तरता दिँदैछन् र यसलाई आफ्नो पहिचानको एउटा अंग बनाएका छन्।
सामाजिक सद्भाव र सामाजिकीकरण टोलवासी अथवा समुदाय मिलेर पनि यःमरिपुन्हि पर्व मनाउने परम्पराले सामाजिक सद्भावलाई बढावा दिएको पाइन्छ। विगतका रिस, राग र द्वेषलाई बिर्सेर सबै एकै ठाउँ भेला भई सामुहिक रूपमा यःमरिपुन्हि मनाउने र पछिल्लो समय ज्यापु दिवस मनाउने परम्पराले नेवार–नेवारबीच सामाजिक सद्भाव बढाएको विश्वास गर्न सकिन्छ।
यःमरि माग्ने क्रममा केटाकेटीहरू ‘त्यछिं त्यः बकछिं त्यः’ भन्दै भट्याउँदै घरघरमा गएर यःमरि माग्ने चलन छ। यसरी केटाकेटीहरू आपसमा घुलमिल भएर, मिलेर, रमाउँदै, गाउँदै घरघरमा यःमरि माग्न जाँदा उनीहरूबीच सामाजिकीकरण प्रक्रिया चलिरहेको पाउँछौं। यसरी यःमरि माग्ने क्रममा टोल तथा समुदायका बालबालिकाबीच सामाजिकीकरण हुने हुँदा यःमरिपुन्हिलाई सामाजिकीकरणका दृष्टिकोणले पनि महत्त्वपूर्ण पर्वका रूपमा लिन सकिन्छ।
मतिना पारु
पछिल्लो समय यःमरिपुन्हिको एउटा अर्को रोचक पक्षको पनि चर्चा हुन थालेको छ। त्यो हो मतिना पारु। यःमरिपुन्हिको भोलिपल्ट को दिनलाई मतिना पारुको रूपमा चर्चा गर्न थालिएको छ।
संस्कृतिविद्हरूले मतिना पारुका बारेमा अनभिज्ञता प्रकट गरे पनि विकिपिडिया, अनलाइन पत्रपत्रिका, फेसबुकलगायतका सामाजिक सञ्जालहरूमा मतिना पारुका बारेमा लेखिएको पाइन्छ। २०७७ साल पुस १८ गतेको गोरखापत्रमा यलु जोशीले ‘नेवारी समाजमा मनाइयो प्रेमदिवस’ शीर्षकको समाचार नै लेखेकी छिन्।
प्रकाशित: २९ मंसिर २०८१ ०७:२० शनिबार