“अब यहॉंहरूलाई मनोरञ्जन गराउन आउँदै हुनुहुन्छ चर्चित गायक श्री पदम शर्मा।”
उद्घोषकको कुरा सुनेर म आश्चर्यमा परें। खासमा उनले जो गायक शर्माको नाम लिएका थिए उनी कतै कोणबाट पनि चर्चित थिएनन्। भलै एकदुई गीत सामान्य चलेका थिए होलान् तर जनजिब्रोमा झुण्डिने गीत उनको एउटा पनि थिएन। फेरि चर्चित भनिसकेपछि त सबैले चिन्ने नाम हुनुपर्याे। तर उनको नाम कतै कुनै पकेटका बाहेक अरू मिडियामा पनि आएको मलाई थाहा छैन।
गायक शर्मा मञ्चमा गाउन उक्लदै थिए। मेरो कौतुहल नमेटिएकाले होला, छेउमा बसेको दर्शक साथीलाई सोधें, “हैन गायक शर्माको गीत तपाईंले पहिले सुन्नुभएको छ?”
उनले सहजै भने, “अहँ छैन। उनको त नाम पनि पहिलोचोटि सुनें।”
त्यहीबेला मैले थपें, “त्यही त मैले पनि त्यति राम्रोसँग सुनेको नाम होइन। तर, उद्घोषकले त चर्चित गायक भन्दै सम्बोधन गरे त।”
उनले हॉंस्दै भने, “हैन हजुर पनि कति सोझो भन्या। त्यही कसैले नचिन्ने भएर त चर्चित भन्नुपर्याे नि। अकबरी सुनलाई त कसी लाउनै पर्दैन।”
प्रकाशित: २८ मंसिर २०८१ १०:४७ शुक्रबार