१) समाज
मंसिर महिना यसै त बिहेको महिना भनिन्छ। हप्ता दिनको फेरो पारेर गाउँमा दुइटी बुहारी भित्रिए। नयाँ दुलही भित्रिएपछि दलमान र धनराजको घरको रौनक नै अर्कै थियो।
दलमानको छोरो नरेश कामविशेषले मधेस जाँदै थियो, बाटोमा धनराजकी बुहारी अर्पना पनि गाडीमा चढिन्। उनी पनि कामविशेषले माइती जाँदै थिइन्।
बर्सातकाे बेला पहाडी बाटो कुहिरो हुस्सुले लुकामारी खेल्दै थियो। गाडी उचाइमा पुग्दा बाक्लो हुस्सु थियो। अचानक विपरीत दिशाबाट आएको गाडीसँग ठोक्किन पुग्यो र अनियन्त्रित हुँदै भिरबाट तल खोल्सामा खस्यो।
क्षणभरमै गाउँघरका मान्छे भेला भए, उद्धारमा जुटे। गाउँ शोकमा डुब्यो। एउटा घरले छोरा र अर्को घरले बुहारी गुमाएको थियो।
तेह्रौं दिनको पुण्य तिथि, छरछिमेक गाउँलेहरू दिउँसोपख धनराजको घरमा भेला भएका थिए। भर्खर भित्र्याएको दुलही गुमाएको उसको घर अरू बेलाझैं सामान्य थियो। गाउँलेहरूले धनराजलाई एकान्तमा लगे र छोरालाई अर्को विवाह गर्न सुझाए।
साँझपख तिनै गाउँले छरछिमेकीहरू दलमानको घरमा भेला भए। छोरा गुमाएको कारण दलमानको परिवार अझै शोकमा डुबेको थियो। गाउँलेहरूले दलमानलाई निकै सम्झाए, मृतक छोराको गुणगान गाए।
तिनै गाउँले, छरछिमेक, त्यहीं समाज, चियाखाजा खाँदै गर्दा फुसफुसाए। “दलमानले कस्तो अलच्छिनी बुहारी भित्र्याएछ! बिहे गरेको महिना दिन भएको छैन लोग्ने टोकी।”
२) आरोहण
“ह्याप्पी हनिमुन, यु गाइज!” माउन्ट एभरेष्टको आधार शिविरबाट एभरेष्ट आरोहणमा निक्लदै गरेका एक हुल पर्वातारोहीले पिटर र एनालाई शुभकामना दिए।
मौसमअनुकूल भएर आकाश खुलेकाले टहटह जून लागेको थियो। चन्द्र प्रकाशले सेतै टल्केको हिमालको काखमा गाडिएको पालभित्र पिटर एना यौनसमागममा लीन थिए। यो उनीहरुको मधुरात्रि याने सुहागरात।
पिटर एना पर्वतारोही हुन्। साहसिक पर्यटन उनीहरुको रूचिको विषय। लामो प्रेम सम्बन्धमा रहेका उनीहरू बिहेपछि एभरेष्टको आधार शिविरमा सुहागरात मनाउने पूर्वयोजना थियो।
आफ्नो योजना साकार भएकोमा उनीहरू प्रफुल्ल थिए। शरीरमा स्फूर्ति बढेको थियो। सबेरै आरोहणका लागि उनीहरू पनि निक्ले।
प्रतिकूल मौसमसँग जुझ्दै हन्डर खाँदै उनीहरू अगाडि बढिरहे। ठाउँठाउँमा पर्वतारोहीहरूका शव पनि देखापरे। एनाको होस उड्ला जस्तो भइरहेको थियो तर पिटरको साथले उनको हौसला बुलन्द थियो।
कठिन हिलारी स्टेप पनि पार गर्दै अन्ततः उनीहरू शिखरमा पुगे। शिखरमा पुगेपछि एकले अर्कालाई लामो आलिब्गन गरे। चुम्बन गरे।
एनाले पिटरलाई भनिन्, “एभरेष्टमाथि विजय प्राप्त गरेकोमा तिमीलाई कस्तो अनुभूति भइरहेछ?”
पिटरले मस्किदै भन्यो, “मलाई त त्यही जुनेली रात अनि मधुर सुहागरातको ’फिलिब्स’ आइरहेको छ।”
अनि फेरि दुवै जना मज्जाले मस्किए।
आरोहण सफलताको खुसियाली मनाउन पिटर एनाले भव्य कार्यक्रमको आयोजना गरे। निम्तालुहरू र स्वयं पिटरलाई आश्चर्यचकित पार्ने गरी एनाले पिटर बाबु बन्न लागेको कुरा घोषणा गरिन्।
हल तालीले गुञ्जायमान भइरहेको थियो। त्यसैबिच पिटरले हर्षविभोर हुँदै एनाको निधारमा चुम्बन गर्यो अनि निम्तालुहरूतर्फ फर्केर एनाको पेट सुमसुम्याउँदै भन्यो,“माउन्ट एभरेष्टपछिको मेरो अर्को सफल आरोहण।”
३) धारे हात
ऊ अन्तर्वार्तामा फेल भयो। रमालाई दोहोरो खुसी प्राप्त भयो। एउटा आफ्नो छोरो पास भएको अर्को ऊ याने सौतेलो छोरो फेल भएको।
खुसीको उत्सव मनाउँदै छोरालाई अबिर टीकाले सज्जित गर्दै सौतेलो छोरोप्रति धारे हात लगाउँदै भनिन्, “ठिक्क पर्यो त्यसलाई।”
“त्यसो नभन्नु आमा! हजुर सौतेलो छोरो भनेर दाइलाई धेरै घृणा गर्न‘ हुन्छ। दाइ तपाईमा पनि आफ्नो आमाको रूप खोज्नुहुन्छ। म आफ्नै बुताले पास भएको होइन। म फेल हुँला भनेर दाइले अन्तर्वार्ता नै दिनुभएन।” दाइप्रति कृतज्ञ हुँदै भाइले भन्यो।
छोराको कुराले रमालाई अलिकति पनि छोएन। सौतेलो भनेको सौतेलो नै हो भन्ने उनको सोचाइ थियो। त्यसैबेला ऊ यानेकी सोतेलो छोरा टुप्लुक्क देखापर्यो। उसले भाइलाई बधाई दियो र खुसी हुँदै आमालाई भन्यो, “आमा! मलाई आशीर्वाद दिनुस् ...! म छात्रवृत्तिमा अमेरिका पढन जान पाउने भएँ।”
तर रमाले मुख अमिलो पार्दै ऊ कोठाभित्र छिरेपछि धारे हात लगाइहालिन्।
रमा दीर्घरोगले अस्पतालको बेडमा थिइन्। उनको छोरा उनलाई भेट्नसम्म आएको थिएन। उनी अर्धचेतमै छोरा सम्झेर बर्बराइरहेकी थिइन्।
जब उनको चेत आयो र आँखा खोलिन् उनको पाउनेर ऊ यानेकी सोतेलो छोरो उनको सेवामा उपस्थित थियो। यसबेला भने उनको धारे हात उठेन।
४) नरक
कचहरीको कुनामा धुमधुम्ती बसिरहेका एउटा भुँडे मान्छे र अर्को ख्याउटे मान्छेलाई इब्गित गर्दै यमराजले भने, “उनीहरू को हुन्? कहाँबाट आएका हुन?“
“उनीहरू नेपालबाट आएका हुन् महाराज। त्यो मोटे भुँडे मान्छे सरकारी कर्मचारी हो। ऊ त्यहाँको नेता पनि हो। उसको सिप भनेको घुस र कमिसन नखाइ डेग चल्दैन। त्यो ख्याउटेचाहिँ सर्वसाधारण व्यक्ति हो। घुस नखुवाइ उसको कामै बन्दैन’, चित्र गुप्तले भने।
“अहो...! सर्वसाधरणलाई त्यस्तो सास्ती?” यमराज चकित परे। कुरा बुझने मनसायले उनी नेपाल झरे।
बसयात्रा गरिरहेका थिए। खाल्टाखुल्टी बाटो। एकठाउँ बसले उफारेर उनको तालुमा टुटुल्को उठ्यो। बल्लतल्ल सहर पुगे। शहरमा पनि बाटाभरि पानी जमेका खाल्टाखुल्टी थिए। यमराज बाटोको छेउमा उभिरहेका थिए।
एउटा चिल्लो गाडी उनलाई हिलो छ्याप्दै अघि बढ्यो यमराज हक्क न बक्क भए । एउटा गाडीमा चढ्न खोजे । गुन्द्रुक खँदाइ मान्छे थिए।
सर्वसाधरणलाई कति सास्ती रहेछ यमराजलाई बुझ्न समय लागेन। विभिन्न कार्यालयमा हुने ढिलासुस्ती, घुसखोरी, कमिसन कालोबजार, अभाव, फोहरको डंगुर, दूषित खोलानाला अहो कुरा गरेर साध्य थिएन। अपितु ठूलाबडा भनाउँदाहरूलाई कुनै फरक परेको थिएन। आममान्छेलाई नरक रहेछ, उनलेयस्तो बुझे।
यमराज जति घुम्दै गए दूषित वाावरणले उनलाई सास फेर्न गाह्रो भयो। आत्तिएर उनी यमलोक पुगे। पुग्नासाथ चित्र गुप्तलाई आदेश दिँदै भने, “त्यो ख्याउटे मान्छेलाई स्वर्ग पठाउनू। त्यो भुँडे मान्छेलाई सर्वसाधरण व्यक्ति बनाएर नेपाल पठाइदिनू। सबैभन्दा ठूलो नरक त त्यता पो रहेछ।”
५) अपशकुन
एउटा राम्रो चारकुना मिलेको जग्गा सस्तो दाममा पाइएकोले श्रीमतीलाई साथमा लिएर जग्गा देखाउने अनि बैना पनि गर्ने मनसायले म बाइकमा जाँदै थिएँ। बाटोमा श्रीमतीले भनिन्, “मेरो साथीको घर पनि त्यतै बाटोमा पर्छ, सिकिस्त बिरामी छे, त्यसलाई पनि भेट्न जाओैँ है?“
“हुन्छ नि”, मैले भनेँ।
बाइक आफ्नै रफ्तारमा थियो। एक्कासि बाटोमा एउटा कालो बिरालोले बाटो काट्यो।
“ए ..! रोक्नू, रोक्नू, रोक्नू!” श्रीमतीले आत्तिँदै भनिन्।
मैले बाइक रोकेँ र भनेँ, “किन? के भयो?”
“कालो बिरालोले बाटो काट्यो देख्नुभएन? अपशकुन हुन्छ। फर्किनुपर्छ, फर्किउँ अब।” उनले जोडबल गर्दै भनिन्। अन्ततः हामी घरै फर्कियौँ।
अर्को पटक फेरि त्यै कामका लागि हामी जाँदै थियौँ। केही टाढा शंख फुक्दै मानिसहरू शवयात्रामा आइरहेका थिए।
लास देखेर श्रीमतीले भनिन्, “अहो! साइत पर्यो आज त, काम बन्ने भयो।”
हामी जति नजिक पुग्दै थियौँ, उति नै चिने जानेका मानिसहरू मलामीका रूपमा देखापर्दै गए। मैले बाइक रोकेँ। श्रीमती हत्त न पत्त बाइकबाट ओर्लिन् र हतप्रभ भएर ठिंग उभिरहिन्। उनको आँखाभरि आँसु थियो। त्यो लास हामी भेट्न भनी हिँडेको उनकै साथीको थियो।
अप्रत्याशित रुपमा मलाम जानुपरेकाले मैले त्यहीँबाट जग्गा धनीलाई फोन गरेर भनेँ, “हेलो सर! त्यो जग्गाको बैना गर्न म भोलि आउँदै छु है, कि छिट्टै पास गरौँ भन्नुहुन्छ भने त्यो पनि तयार छु।”
उताबाट जवाफ आयो, “माफ गर्नुहोला सर, त्यो जग्गा त हिजै गइसक्यो।”
- शुक्रराज कुँवर (कुँवरका लघुकथासंग्रह बगैंचामा संग्रहीत।)
प्रकाशित: २७ मंसिर २०८१ ११:५७ बिहीबार