१) जन्ती
झुप्रै भए पनि आज उनको घरमा महलको खुसी छाएको थियो। दुई कठ्ठा जमिन रुपैयाँसँग साटेपछि छोरीको बिहेको रौनक छाएको थियो। भोजभतेर, मिठाई र फलफूल तयारी गर्नेहरू सबै व्यस्त थिए। भित्र कोठामा दुलही श्रृङ्गार गरेर राखिएको थियो। जन्ती समयमा आइपुगेनन्। कुर्दा कुर्दै गंगालालको ओठमुख सुक्न लागिसकेको थियो। ऊ सोच्न थाल्यो,`दाइजो पनि भनेबमोजिम १७ लाख दिने सर्त पक्का भएर नै विहेको तयारी गरिएको थियो। तर किन जन्ती आएनन्?’
सबैमा कुतुहूल र चर्चा हुँदै थियो। उसैबेला पारिबाट खेतका कान्ला उक्लदै गरेका छिमेकी मोतीराम शर्मा देखापरे। उनी आँगनमा आएर फलाक्न थाले, ‘गंगे, तेरो घरको जन्ती तिलकपुर गए रे! बीस लाख दाइजो र लमीलाई एक लाख नगद र एकजोर लुगा दिने सहमति भएको रे!’
उसका कुरा सुनेर गंगालाल पुर्पुरामा हात पुर्याएर बर्बराए, ‘हरे! लमीलाई २५ हजार दिने सहमति नमान्दाको परिणाम भोग्नुपर्याे।’
२) चुनाव
‘सही उम्मेदवार छनौटका लागि भएको चुनावमा कसलाई मतदान गर्नु?’ भनेर उनी अलमलिरहेका थिए। पढेलेखेका विद्वान उनी एमाले दलप्रति आस्था राख्थे। राजतन्त्र र काङ्ग्रेसीलाई सानैदेखि सहँदैन थिए। आफूले पत्याएको दलले राजावादीसँग गठबन्धन गरेपछि उनी सोचमग्न थिए। अन्तत: मतदाता परिचयपत्र खल्तीमा हालेर बुथतिर लागे। मतदान सुरू भैसकेको थियो। मानिसहरू लाममा बसेर मत खसाल्दै घरतिर लाग्दै थिए। उनी पनि लाममा बसे। कुराकानीको दौरानमा कोही माओवादी, कोही काङ्ग्रेस त कोही एमाले र राप्रपा भन्दै खुसुरफुसुर गरेको उनले सुने। अवस्था सबै नियाले।
मनमनै सोचे, ‘आखिर जसलाई मत हाले पनि जित्ने तिनै अनपढ, गँवार र भ्रष्टाचारीले नै हो। यी डाँकालाई किन मत दिनु?’
अन्तत: आफैलाई स्याबासी दिंदै नङमा कालो रङ नदलेर नै उनी फर्किए।
३) बजेट
कृष्ण दर्नालको घर नगरपालिकामा भएकाले दलित समूहले उनलाई ठुल्लै नेता मान्दथे। मेयरसँग पनि उनको नजिकको सम्बन्ध थियो। त्यसैले उनले भनेकै ठाउँमा सबैले भोट हाल्ने गरेका थिए। नगरपालिकाले नगरस्तरीय बजेट प्रकाशित गर्याे। नगरका मेयर हस्ताक्षर गर्न सक्नेसम्मको शिक्षा हासिल गरेका थिए। वडाको बजेट प्रकाशित देखेर दर्नाल ज्यादै हर्षित देखिए किनभने उनको घर वरिपरि २ मिटरसम्मको लागि नगरले ५५ लाख विनियोजन गरेको थियो।
दर्नालले हालेको योजना अन्तर्गत आफ्नो घर वरपरको बाटो ढलान २३ लाख, उनको आँगन निर्माणका लागि ७ लाख, पर्खाल र गेट निर्माणका लागि ६ लाख, दर्नाल बन्दु गुठी ट्रष्ट निर्माणको लागि १५ लाख , मुलबाटो सुधारका लागि ४ लाख बजेट परेको थियो। वडाको सम्पूर्ण बजेट उनकै सिफारिसमा छुट्याएको थियो।
यसै खुसीमा घरमा बंगुरको मासु पकाएर सबै रमाउँदै थिए। दर्नालको फोनको घण्टी बज्यो। उताबाट बोलेको आवाज मैले प्रष्टै सुनेँ, ``तपाईको छोरो मोटरसाइकल चिप्लिएर लडेकोले खुट्टा भाँच्चिएको छ। तुरून्तै अस्पताल आउनु होला।’
४) टिकटक लाइक
विए पास गरेका उनी, एउटा सानो जागिरले गाउँपालिकामा बसेर जीवन चलाइरहेका थिए। जग्गामा कचिँगलोले छिमेकीसँग सम्बन्ध बिग्रेको थियो। त्यसैले नगरतिर सर्ने विचार गरे। घरसल्लाह मिलेपछि बसाइ सराइको निवेदन लेखे। उनी वडा कार्यलयमा पुगे। अध्यक्षज्यूलाई भेट्न गए। उनी पुग्दा मिटिङ छ, भित्र जान मिल्दैन भने। ठीक छ, भनेर कुरेर बसे। भित्र लामै बहस चलेको रहेछ। उनले ध्यान दिएर कान थापेर सुने, अध्यक्ष भन्दै थिए, ‘मेरो ३५० लाइक आयो। तिमी मलाई प्रलय नै मनपर्यो मा हेर्नुहोस्।’
अर्को आवाज सुनियो, ‘त्यो गीतमा त मेरो ३२१ मात्र पुगेको थियो। अध्यक्षको जति हामी सदस्यको त कहाँ पुग्छ र?’
अध्यक्षको आवाज फेरि सुनियो, ‘हेर्नुहोला आज बेलुका कसको बढी लाइक आउँछ?’
बाहिर समय कुरिरहेका उनले बल्ल कुरा बुझे, ‘भित्र त टिकटकमा लाइक विषयमा पो मिटिङ चलेको रहेछ।’
५) पेवा
रुकेश अफिसबाट आउनेबित्तिकै सम्झनाले भनिन्, ‘आज आमाको पेवा बाख्रा मैले १८ हजारमा बेचिदिएँ।’
‘किन बेचेको त? आमाको चिनो थियो।’
सम्झनाले झर्केर भनिन्, ‘अब म बाख्रा स्याहारेर बस्न सक्दिनँ। यो पैसा पनि म दिन्न, मेरो काम छ।’
रुकेश मौन बसे। मनभरि कुरा खेल्न थाले। बुढानीलकण्ठ मन्दिर पछाडिको पैतृक जग्गा बेचेर उनले ३ तल्ले घर त बनाए तर आमा त्यो घरमा धेरै समय बस्न पाइनन्। आमाले धर्ती छाडेको १ महिना नबित्दै प्यावा बाख्रा बुहारीले बेचिदिन्। छोरो १५ महिना मात्र टेकेको थियो। उनले मन्टेश्वरी भर्ना गरिसकेकी थिइन्। उनले बाहिरतिर नजर लगाए । छोरो कुकुरको सेतो छाउरोसँग खेल्दै थियो।
मैले सोधेँ, ‘त्यो कुकुर कसको हो? कसरी यहाँ आयो?’
उनले भनिन्, ‘आमाको पेवा बाख्रालाई मैले कुकुर पेवा बनाए।’
(कुहिरोभित्र लघुकथासंग्रहमा सङगृहीत।)
प्रकाशित: २४ मंसिर २०८१ १३:१५ सोमबार