आफ्नै विशिष्ट शैलीको गायनका कारण कुनै बेला दर्शक तथा श्रोतामाझ लोकप्रिय चर्चित पप ब्यान्ड आस्थाको पुनरागमन हुने भएको छ।
पछिल्लो एक दशक दर्शक माझ गुमनामजस्तै भएको आस्था पुनः एक पटक साङ्गीतिक माहोल जमाउन स्टेजमा उत्रँदैछ। जसको घोषणा ब्याण्डले गरिसकेको छ।
कन्सर्टकै लागि सुदीप गुरुङ बेलायतबाट काठमाडौं आउँदैछन् भने काठमाडौंमै रहेका नरेन लिम्बू कन्सर्टको तयारीमा छन्। दशकअघि नेपाली साङ्गीतिक जगतमा पप पारखीमाझ लोकप्रिय यस ब्याण्डका सदस्यहरू तितरबितर भएपछि केही समय दर्शकका अगाडिबाट अलगिएको थियो। यही समय सुदीप बेलायत उडे भने नरेन काठमाडौंमा रहे।
पछिल्लो एक दशक ‘आस्था’ गुमनामजस्तै थियो। अब भने ब्यान्ड जुरमुराउने भएको छ। दशक लामो रिक्ततालाई तोड्दै आस्था पप पारखीमाझ फर्किने निश्चित भएको छ। कमब्याक तयारीका लागि ब्याण्डले काठमाडौं र पोखरामा कन्सर्टको घोषणा गरेको छ। ब्यान्ड २४ डिसेम्बरमा पोखराको रोलिङ स्टोन रक बारमा गुञ्जिनेछ। काठमाडौंको एलओडी क्लबमा २८ डिसेम्बरमा ब्याण्डले प्रस्तुति दिने कार्यक्रम तय छ।
ब्याण्डले अंग्रेजी नयाँ वर्षमा नयाँ गीत ल्याउने तयारी गरिरहेको छ। भोकलिस्ट नरेनले अहिले गीतको कम्पोज भइरहेको बताए। उनका अनुसार गीत सार्वजनिक भएपछि ब्यान्ड अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्स लगायतका मुलुकमा टुरका लागि निस्कनेछ। हरपल, सफलता, आइ देऊ, अन्तिम माया, बिर्सना ब्याण्डका हिट गीतहरू हुन्।
प्रकाशित: २४ मंसिर २०८१ १३:०० सोमबार