अमेरिकी युवाहरू मोजमस्ती छाडेर बाइबलतिर ढल्किएका छन्। यो वर्षको अक्टोबरसम्म आइपुग्दा सारा प्रकाशन उद्योग जम्मा एक प्रतिशतले उकालो लागेको छ, बाइबलको बिक्री भने २२ प्रतिशतले बढेको देखिएको छ। सिर्काना बुकस्क्यानले जारी गरेको तथ्यांक अनुसार जीवनमा पहिलो पटक बाइबल खरीद गर्ने पुस्ता बढेका कारण बाइबलको बिक्री पनि बढेको हो।
पछिल्लो समय संसारमा अनिश्चितता र निराशा बढ्दै गएका कारण अमेरिकी युवाहरू धर्मशास्त्रतर्फ आकर्षित भएको हुन सक्ने इभान्जेलिकल क्रिस्चियन पब्लिसर्स एसोसिएसनका अध्यक्ष जेफ क्रस्बी बताउँछन्।
लभ आइल्यान्ड युएसए टेलिभिजन शृंखलामा भाग लिएकी २८ वर्षकी सेली भजक्वेजले जीवनमै पहिलो पटक हालै बाइबल किनिन्। हुन त उनकी आमाले एउटा उपहारमा दिएको बाइबल नभएको होइन तर ‘अब आफ्नै बाइबल र आफ्नै जीवन चयन गर्नुपर्यो भन्ने लागेर’ उनले नयाँ बाइबल किनेको बताएकी छन्।
उनी भन्छिन्, ‘जीवनमा केही हराइरहेको महसूस गरिरहेकी थिएँ, बाइबल पढ्न थालेपछि अलि चैन बढेको छ।’
फेथ एन्ड लाइफ पुस्तक पसलकी व्यवस्थापक बेथानी मार्टिनले पनि आफ्नो पसलबाट पहिलो पटक बाइबल पढ्न चाहनेहरू बढेको पाएको बताएकी छन्। उनको पसलमा थरिथरिका बाइबल पाइने हुनाले आफ्नो रुचि अनुसारका बाइबलहरू क्रेताहरूले लिने गरेको उनी बताउँछिन्।
‘हामीकहाँ बाइबल कमिक्सदेखि ९५ डलर पर्ने ठूलो बाइबल र आठ डलरको सानो पकेट साइजको बाइबल पाइन्छ। अडियोबुकदेखि सबैभन्दा महँगो ८३२ डलर पर्ने खसीको छालाले मोरिएको बाइबलसमेत छ,’ उनी भन्छिन्।
गएको मार्चमा डोनाल्ड ट्रम्पले आफू चुनावमा उठ्ने घोषणा गर्दा उनले ‘गड ब्लेस द युएसए बाइबल’लाई आफ्नो आधिकारिक बाइबल घोषणा गरेका थिए। सो बाइबलको मूल्य ६० डलर तोकिएको थियो। सो बाइबल पनि निकै बिक्री भएको तर सिर्काना बुकस्क्यानले भने यसलाई गणना गरेको छैन। त्यो बाइबल पनि निकै बिक्री भएको जनाइएको छ।
अमेरिकामा बाइबल मोह बढ्दै जानुमा यो मुलुक सेक्युलर नरहेको संकेत रहेको विज्ञहरू बताउँछन्। पिउ रिसर्च सेन्टरको पछिल्लो सर्भेमा २८ प्रतिशत वयस्कहरूले आफूलाई कुनै पनि धर्म नमान्ने बताएका थिए। यद्यपि यही वधिमा भने बाइबलको बिक्री अचाक्ली बढेको छ।
सन् २०२३ मा एक करोड ४२ लाख प्रति बिक्री भएको थियो। जबकि सन् २०१९ मा ९७ लाख प्रति बिक्री भएको थियो। रोचक त २०२४ शुरु भएपछिको १० महिनामा एक करोड ३७ लाख प्रति बाइबल बिक्री भइसकेको छ।
प्रकाशित: २३ मंसिर २०८१ ०९:५४ आइतबार