१२ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

हविगत

लघुकथा

१) हविगत

‘बचाऊ! बचाऊ! ऐया! मरे, मरे।’ निस्सासिए जस्तो र पीडित स्वरमा कोही कराइरहेको थियो। जनताले यसो हेर्‍याे, कतै कोही देखेन।

‘बचाऊ, ऐया मरे।’ ऊ कराउन भने छोडेन। सबैतिर हेरेपछि बल्ल पत्ता पायो। यो आवाज आएको राम शाहपथ नजिकै सिंहदरबारमा रहेछ। नजिकै गयो र हेर्‍याे। कोही पुरिएर छटपटाइरहेको रहेछ। यो दृष्य देखेर जनता निकै डरायो तर ‘जो भए पनि आपतमा परेकालाई सहयोग गर्नुपर्छ’ भनेर बाले भनेको सम्झ्यो।

‘को हौ तिमी!’ जनताले सोध्यो।

‘कृपया मलाई उद्धार गरिदेऊ। परिचय पछि दिउँला।’ ऊ आत्तिंदै बोल्यो।

जनतालाई उसको उद्धार गर्न सकूँला जस्तो लागेन। तर पनि चिन्नु त पर्‍याे भनेर भन्यो, ‘म सक्दो गर्नेछु, तिम्रो नाम त भन अनि कसरी यस्तो हालतमा पुग्यौ हँ।’

‘म तिम्रो आफ्नै हुँ। मलाई पालन गर्ने जिम्मेवार आफ्नैले यस्तो हालतमा पुर्‍याए। म तिम्रो भलाइ गर्न चाहन्छु। यसरी त म आफैँ मर्ने भएँ। कृपा गरेर मलाई बचाऊ।’ निस्सासिँदै भन्यो। ऊ कृपावाद, नातावाद र पैसाका बिटै बिटाले थिचिएको थियो।

‘ल बाबा, कोसिस गर्छु तर नाम त भन।’

‘म न्याय हुँ, जनता यार।’

२) योनीमा मृत्यु

‘आमा, म स्कूल जान्न।’

सधैं उत्साहित भएर पढ्न जाने छोरीको यस्तो कुरा सुनेर आमा छक्क परिन्।

‘के भयो र छोरी के भनेकी त्यस्तो! पढ्नुपर्छ। ठूलो मान्छे हुनुपर्छ। समाज र देशका लागि केही गर्नुपर्छ। असल मान्छे बन्नुपर्छ। राम्रो शिक्षाले नै असल बनाउँछ।’

‘पढ्न पनि पर्‍या छैन मलाई। छोरीले मात्र असल बन्नुपर्ने हो र! छोराले असल बन्नु पर्दैन! समाज र देशका लागि केही गर्नु पर्दैन!

‘पर्छ नि, कसले पर्दैन भन्यो! तेरो दाजु त्यस्तो असल छ। अशक्तलाई सहयोग गर्छ। समाजमा सरसफाइ अभियान चलाउँछ। गरिबका लागि राहत जुटाउने काम गर्छ।’

‘मेरो दाजुले मात्र गरेर के गर्नु! सबै केटाले गर्नुपर्‍याे नि।’

एघार वर्षकी छोरीको मुखबाट आज अचानक यस्तो कुरा सुनेर आमा छक्क परिन्।

‘नानाथरी कुरा नगर छोरी। ढिलो भैसक्यो। छिटो स्कूल जा।’

उसले खै के सोची। अलिकति साहस बटुली र स्कूल हिँडी।

जङ्गलको बाटो जानुपर्थ्यो। बाटामा हिंड्दै गर्दा लुकेर बसेका राक्षसहरूले केके कुरा गरेको सुनी।

न्वारानदेखिको बल झिकी र पछाडि फर्केर नहेरी कुदी। जसरी पनि निर्मला र भागिरथी हुनबाट आफू बच्नुपर्छ भन्ने कुरा मात्र दिमागमा घुमिरह्यो। स्वाँस्वाँ गर्दै पसिनै पसिना भएर घर आइपुगी। पछ्याउँदै आएका तिन जना मान्छे फनक्क फर्केको देखेर आमा नराम्रोसँग तर्सिइन्।

भक्कानिएर घुँक्कघुँक्क गर्दै आमाको छातीमा टाँसिई। शरीर पसिनाले छ्याप्पै भिजेको र आगो जस्तै तातो थियो।

आत्तिँदै आँखाभरि आँसु पारेर सोधी, ‘आमा, हामी छोरीहरू कहिलेसम्म ‘योनीमा मृत्यु’ बोकेर हिंड्ने! आखिर कहिलेसम्म!’

३) सम्बन्धको एक्स रे

‘महिला र पुरुष बिचको सम्बन्ध’ विषयमा भर्खरै विद्यावारिधि सकेका मेरा अनन्य मित्र थिए डाक्टर विशेष कार्की। आज विहान अचानक उनीसँग भेट भयो।

‘के छ डाक्साब, हालखबर!’ के गर्दै हुनुहुन्छ अहिले’ मैले सोधेँ।

‘आजकाल अधिकांश पतिपत्नी बिचको सम्बन्ध बिरामी छ। त्यसमै लागिरहेको छु। के भएको भनी डाइग्नोसिस गर्न सकिरहेको छैन मित्र।’

हामी दम्पतीको सम्बन्ध पनि खासै स्वस्थ थिएन। म अरूका पत्नी राम्री लाग्ने, अरूकै पत्नीको माया लाग्ने र सर्वश्व दिऊ जस्तो हुने समस्याबाट ग्रस्त थिएँ। उनी रक्तचाप, मधुमेह र डिप्रेसनको सिकार भैसकेकी थिइन। डाक्टर मित्रले रोग वा औषधि पत्ता लगाए त हामी दम्पतीलाई पनि फाइदा पुग्थ्यो भन्ने आशामा थिएँ। तर, मित्रलाई सुनाउनचाहिँ सकेको थिइन।

खुशी मुद्रामा बेलुका फेरि चोकमा भेटिए डाक्टर। सोध्न मन लागिहल्यो, ‘सम्बन्ध विरामी हुनको कारण पत्ता लाग्यो त मित्र!’

‘लाग्यो, त्यसैले त खुशी छु नि।’

मलाई पनि आफ्नो समस्याको समाधान मिल्ला भनेर आशा पलायो। हतपत सोधेँ, “ए के रहेछ त!”

‘पश्चिमा संस्कृतिको प्रभाव र सामाजिक संजालको दुरुपयोग।’

४) खोजी

ऊ र उनी अग्रपङ्तिमा थिए। उनीहरूका पछिपछि एक हुल स्रष्टा थिए। बलेको मैनबत्ती बोकेका सर्जकहरूको ताँती माइतीघरतर्फ लम्किदै थियो। कुनै विषय सन्दर्भको विरोध जनाउन माइतीघर मण्डला गएका होलान् भन्ने लाग्यो मलाई। त्यस्तो गम्भीर राष्ट्रिय मुद्दा अहिले के रहेछ भनी सोच्न थालेँ। ताँती माइतीघर कट्यो। आफू साहित्यानुरागी भएकाले म पनि पछि लागेँ। ताँतीले चक्रपथ नै परिक्रमा गर्‍याे। सबै सर्जक मैनबत्ती बाल्दै केही खोजेझैँ गर्दै हिंडिरहेका थिए। म निकै थाकेँ। मेरा भने गोडा पनि दुखिसके।

सर्जक ऊ र उनीका अगाडि गएँ।

“नमस्कार हजुर, म इन्दिरा चापागाईं, साहित्य र साहित्यकारको शुभेच्छुक। एउटा जिज्ञासा लाग्यो।”

“भन्नुस् न के होला!” दुवैले एकै स्वरमा भने।

“दिउँसै बत्ती बालेर। मैले त केही बुझिनँ। समर्थन हो कि, विरोध हो कि विषय सन्दर्भ के हो।” विनयी भएर सोधेँ।

“ए, त्यस्तो केही पनि होइन।”

“केही नभए यो सब!” म झन् छक्क परेँ।

“सबैलाई रातारात साहित्यकार बन्नुपरेको छ” उनले भने।

“छिटोछिटो भाइरल हुनुपरेको छ” उनीले थपिन्।

म अक्क न बक्क परेँ र दुवैका मुखमा पालै पालो हेरेँ।

दुवैले एकैस्वरमा भने, “अझै बुझ्नु भएन! पाठकबिनाको सिर्जना के काम! हामीले पाठक खोजेका नि।”

५) पतन

“तिमी त मानव शरीर निर्माणको एक हिस्सा, पञ्चतत्त्वमध्येको एक। मानवको जन्मदेखि मृत्युसम्म अत्यावश्यक र महत्त्वपूर्ण तत्व” घिउले आगोको प्रशंसा गर्‍याे।

निकै सङ्घर्ष र मेहनतले ऊ आगो बनेको थियो। राष्ट्रिय गहना बनिसकेको थियो अन्तरार्ष्ट्रिय छवि बनाइसकेको थियो।

“तिमी त आयुर्वेदिक औषधि, मानिसहरूको भिटामिन प्रोटिनको स्रोत तिमीलाई म खुब मनपराउँछु” आगोले घिउलाई भन्यो।

यसरी आपसी प्रशंसा गर्दा गर्दै घिउले आगोलाई भेट्ने प्रस्ताव राख्यो। आगोले स्विकार्‍याे। उनीहरूले भेट गरे। प्यास मेटामेट गरे। त्यसपछि आगो अन्तर्राष्ट्रिय महायज्ञतिर लाग्यो।

केही दिनपछि घिउले मुद्दा हालिदियो कि “आगोले मेरो अस्मिता डढायो। सत्यनाश गर्‍याे।”

समाचार सनसनी फैलियो। अदालतले जाचबुझ गर्न भियाएकै थिएन। समयले जाँचबुझ गर्‍याे र निष्कर्ष निकाल्यो, “वास्तवमा घिउले आगोको अस्तित्व नामेट पारेको हो।”

 -इन्दिरा चापागाईं

प्रकाशित: २२ मंसिर २०८१ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App