३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

स्वरसम्राट नारायण गोपालको चाैत्तीसाैं स्मृति दिवसमा तीन स्रष्टा सम्मानित

स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन स्रष्टालाई सम्मान गरिएको छ। नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो।

स्वरसम्राट नारायण गोपालसँग सामिप्य रहेका र सङ्गीतमा विशेष योगदान दिएका स्रष्टालाई योगदानको कदरस्वरूप जनही ५१ हजार रूपैयाँ र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले बताए।

“स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरे पनि पुग्दैन”, उनले भने, “अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसङ्गीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ। उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ।”

अध्यक्ष केसीले देशभर उनको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका बताए। उनले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताए।

सम्मानित सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्त्व रहेको बताए। उनले भने, “नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ। छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ। यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो। यो सम्मान मेरो लागि अस्कर अवार्डभन्दा ठूलो छ। उहाँको गीत सुन्न पाउनु, सामीप्य राख्न पाउनु मेरा लागि गौरवको विषय हो।”

‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत स्रष्टाहरूले उनलाई गीतमार्फत सम्झेका छन्। गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छायाँ’, गायक साजन लामाले ‘यति चोखो यति मिठो’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन्’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन’, गायक सम्भव जङ्गम थापा र सङ्गीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छकी मूर्तिमा माया’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपाल सम्झिए।

विसं १९९६ असोज १८ गते जन्मिएका स्वरसम्राट नारायण गोपालको २०४७ मङ्सिर १९ गते निधन भएको थियो। प्रत्येक वर्ष मङ्सिर १९ गते उनी र गीतसङ्गीतलाई सम्झिदै स्मृति दिवस मनाइन्छ। 

प्रकाशित: २० मंसिर २०८१ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App