४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

१२खरी कथा प्रतियोगितामा ‘माग्युद् खोना’ कथाले जित्याे १ लाख पुरस्कार

बाह्रखरी मिडियाले १२ खरी कथा प्रतियोगिताको छैटौं संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता-२०८१’को नतिजा सार्वजनिक गरेको छ।

यस वर्षको डिशहोम १२कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ। यस्तै कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ ले तृतीय पुरस्कार प्राप्त गरेको छ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा छैटौ) संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथामध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा-२०८१’ पुस्तकको लोकार्पण पनि गरिएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाह्रखरी उत्कृष्ट कथा–२०८१ कथाकृतिको लोकार्पणका साथै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कथाकारसहित उत्कृष्ट २५ कथाकारलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१ मा उत्कृष्ट २५ कथाका कथाकारहरूमा वर्णानुक्रमानुसार क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजंग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहेका छन्।

डिशहोम बाह्रखरी कथा–२०८१ को टाइटल स्पोन्सर डिश मिडिया नेटवर्क लिमिटेड रहेको थियो। सहयोगी संस्थाहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, एनएमबी बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड रहेका थिए। यस्तै, एयरलाइन्स पार्टनरमा यती एयरलाइन्स र हिमालय एयरलाइन्स रहेका थिए।

कथा लेखन प्रतियोगिताको छैटौँ संस्करणमा उत्कृष्ट २५ कथाको सँगालो बाह्रखरी उत्कृष्ट कथा–२०८१ पुस्तक पब्लिसिङ पार्टनर फाइनप्रिन्टले बजारमा ल्याएको छ। यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन्।

१२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो। बाह्य निर्णायकहरूमा प्राडा ज्ञानू पाण्डे संयोजक रहेकी थिइन् भने साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य थिए।

साहित्यमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षणमा देखिएको कमीले गर्दा बाह्रखरी मिडियाले विश्वव्यापी कथा प्रतियोगिताको आयोजनलाई महत्त्व दिँदै आएको हो। यस प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतका कथाकारको सहभागिता रहने गरेको छ।

यस वर्ष पनि विगतझैँ नेपालसहित भारतका मुम्बई, असम, दार्जिलिङ, मणिपुर, गुवाहाटी तथा अन्य मुलुकहरू चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्डलगायत देशमा बसोबास गर्ने नेपाली भाषी कथाकारहरूले सहभागिता जनाएका थिए।

१२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’को निर्णायक मण्डल संयोजक प्राडा ज्ञानु पाण्डेले बाह्रखरी प्रतियोगिता नयाँ प्रतिभाका लागि प्ररेणाको स्रोत भएको बताइन्।

“यो किसिमको साहित्यिक कदम कथा साधकहरूका लागि सम्मान र प्रेरणा जगाउने माध्यम हो। नवोदितहरूका लागि ठूलो प्रेरणा हो,” उनले भनिन्, “साहित्य आर्थिक, राजनीतिक, मनोवैज्ञानिक सबै क्षेत्रको प्रतिनिधित्व गर्ने क्षेत्र हो। अन्य विधामा पनि बाह्रखरीले जस्तो अभ्यास होस्।”

बाह्रखरीका उत्कृष्ट २५ कथा नेपाली साहित्यलाई हेर्ने आँखीझ्याल भएको उनको भनाइ छ। बाह्रखरीले कथा छनोटका लागि बनाएको प्रक्रिया गजव रहेको उनले बताइन्।

“उत्कृष्ट २५ मा परेका कथा कसका हुन् र लेखक को हुन् भन्ने हामी निर्णायकहरूलाई नै थाहा छैन,” उनले अगाडि थपिन्, “कथासंग्रह विमोचनको स्टेजमा उभिएर बोल्दा पनि हामीलाई कुन कथा प्रथम भयो भन्ने थाहा छैन।”

बाह्रखरी कथाका सम्पादक नयनराज पाण्डेले कथा लेखनको शैलीमा परिपक्वता आउँदै गएको बताए। भविष्यमा यसले नेपाली साहित्यलाई विशिष्ट स्थानमा पुर्याउने उनको विश्वास छ।

“सुन्दर कथा संग्रहका रूपमा बाह्रखरी कथाको नयाँ संस्करण आएको छ। भविष्यका नेपाली कथाकारहरूप्रति म आशावादी छु,” उनले भने।

डिशहोम मिडियाका निर्देशक हेमराज ढकालले बाह्रखरी कथा प्रतियोगिताले नेपाली मिडियामा नयाँ आयम थपेको बताए। मिडियाले कथा प्रतियोगिता आयोजना गरेर नयाँ सन्देश दिइरहेको उनको भनाइ छ।

ढकालले बाह्रखरी मिडियाले पठनसंस्कृति विकास गरिरहेको बताए। “पठन संस्कृति नभएको समाज सभ्य हुँदैन। पठन संस्कृति आवश्यक रहेको र त्यो काम बाह्रखरीले गरेको छ,” उनले भने।

सामाजिक सञ्जालमा भुलिएर पठन संस्कृति हराउँदै गएको सन्दर्भमा यो प्रतियोगिता कोसेढुंगा हुने उनको विश्वास छ। यस्ता प्रतियोगिता र कार्यक्रम आगामी दिनमा पनि हुँदै जानुपर्ने बताए। साहित्य समाज बुझ्ने माध्यम भएको उनको भनाइ छ।

कन्दरा ब्यान्ड भोकलिष्ट विवेक श्रेष्ठले साहित्यसँग संगीत जोडिएको बताए। संगीतमा साहित्य जोडिएर मात्रै नहुने भन्दै उनले संगत पनि हुनुपर्नेमा जोड दिए।

साहित्य सरल रुपमा प्रस्तुत गरेर संगीतमा ल्याउनुपर्नेमा उनको जोड छ। कन्दरा ब्यान्ड साहित्यकारसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले सातौँ संस्करणबाट बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिने बताए।  यद्यपि, उनले पुरस्कार राशि कति बढाउने त्यो भने खुलाएनन्।

बाह्रखरी कथा प्रतियोगिताले वर्तमान नेपाली समाजको इतिहास जोगाउने काम गरेको बताए। “संसारभरका नेपाली जो अर्को पुस्तादेखि नेपाली रहँदैनन्, उनीहरूलाई पनि नेपाली भाषा र साहित्यसँग जोडिरहने प्रयत्न बाह्रखरी कथा प्रतियोगिताको हो,” उनले भने।

आयाेजककाे प्रेस विज्ञप्ति अनुसार बाह्रखरी कथा प्रतियोगितामा आएका सबै कथा समाजको दर्पण भएको प्रधान सम्पादक प्रधानको भनाइ छ। “अहिले छानिएका पहिलो, दोस्रो र तेस्रो तथा उत्कृष्ट २५ कथा समाजका दर्पण हुन्,” उनले अगाडि थपे, “प्रतियोगितामा प्राप्त ९३७ सबैमा केही न केही समाजका विषय छन्।”  

प्रकाशित: १७ मंसिर २०८१ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App