क्यानाडेली कलाकार जेन्भिभ सावर्डको ‘काली इन हर एलिमेन्ट’ शीर्षकको कला प्रदर्शनी पाटन संग्रहालयमा सम्पन्न भएको छ। प्रदर्शनी शुक्रबार सुरु भई आइतबार सम्पन्न भएको हो। कला शिक्षकसमेत रहेकी उनको यो कला प्रदर्शनीको संयोजन योङ पिकासो/कम्युनिटी स्कुल अफ फाइन आर्टस्ले गरेको हो। सावर्डले आफ्नो चित्रकलाको प्रारम्भ क्यानाडामा गरेकी थिइन्।
प्रदर्शनीमा सावर्डले हिन्दु देवी काली र पौराणिक पात्र जुडिथको तुलना गर्दै कालीलाई अन्धकारकी देवीको रूपमा चित्रण गरेकी छन्। अहंकार र विनाशलाई समाप्त गरी प्रेम र ब्रह्माण्डकी सृष्टि माताका रूपमा कालीलाई प्रस्तुत गरिएको छ।
उनका चित्रकलामा पञ्चतत्त्व (जल, वायु, आगो, आकाश र ब्रह्माण्ड) लाई समेटेर हिन्दु र बौद्ध धर्मका विभिन्न आयामलाई तेल रङको संयोजनबाट प्रकट गरिएको छ। प्रदर्शनीले कलाको माध्यमबाट सांस्कृतिक र आध्यात्मिक गहिराइलाई जोड्ने प्रयास गरेको बताइएको छ।
प्रकाशित: २६ कार्तिक २०८१ ०९:५४ सोमबार