खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणको अभियानलाई विस्तार गर्ने सरकारको योजना रहेको बताएका छन्।
बुधबार वीरगञ्ज महानगरपालिकाले १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम प्रदान गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले यो कार्यक्रम सुरुवात मात्रै भएको बताए।
उनले वीरगञ्जबाट सुरु भएको यो अभियानलाई देशका अन्य जिल्लाहरूमा पनि विस्तार गर्दै किशोरीहरूको आत्मरक्षा र सशक्तिकरणको लागि तालिम सञ्चालन गरिने जानकारी दिए।
उनले भने, ‘यो कार्यक्रम मात्र सुरुवात हो। आगामी दिनमा अन्य जिल्लामा पनि यस्ता तालिम सञ्चालन गरेर महिला सशक्तिकरणलाई थप विस्तार गर्ने सरकारको योजना छ। किशोरीहरूको आत्मबल, आत्मविश्वास र शारीरिक-मानसिक सशक्तिकरणका लागि सरकारले अब ढिलाइ नगर्ने कटिबद्धता जनाएको छ। आत्मरक्षाको सीपले हिंसाजन्य गतिविधिको प्रतिकार गर्न र महिलाहरूलाई हिंसाविरुद्ध सशक्त रूपमा उभिन प्रेरणा दिन्छ।’
महानगरपालिकाले यो तालिम १० हजारभन्दा बढी किशोरीलाई एकसाथ प्रदान गरेर गिनिज बुकमा विश्व रेकर्ड कायम गर्ने लक्ष्य राखेको छ। मन्त्री यादवले आत्मरक्षाको यो तालिमले किशोरीहरूको आत्मबल र आत्मविश्वासलाई बढाउनका साथै, शारीरिक र मानसिक रूपमा बलियो बनाउँदै हिंसाजन्य घटनाहरूको प्रतिकार गर्ने साहस प्रदान गर्ने बताए।
प्रकाशित: २८ कार्तिक २०८१ १६:११ बुधबार