२१ पुस २०८१ आइतबार
image/svg+xml
कला

रोबोटले बनाएको पहिलो चित्रकला

यस्ताे पनि!

चित्रकला बनाउने पहिलो रोबोट एआई-डाको पहिलो चित्रकला डेढ लाख डलरमा बिक्रीका लागि डाक बढाबढ गरिने भएको छ। ‘एआई गड’ नामक यो चित्रकला प्रख्यात कम्प्युटर वैज्ञानिक एलन टुरिङको कम्प्युटरकृत चित्रकला हो। यसलाई रोबोट कलाकार एआई–डाले बनाएकी हुन्।

दुई मिटर अग्लो यो चित्र गत मेमा संयुक्त राष्ट्रसंघमा प्रदर्शनी राखिएको थियो। चित्रकार रोबोटको नाउँ पहिलो कम्प्युटर प्रोग्रामर एडा लभलेसको सम्मानमा राखिएको हो। प्रदर्शनीमा राखिँदा कम्प्युटर ल्याङ्वेजबाट डाले भनेकी थिइन्, ‘मैले यो चित्र एलन टुरिङको सम्मानमा बनाएकी हुँ। उनले जहिल्यै पनि कम्प्युटरको प्रयोग जिम्मेवारीपूर्ण ढंगले गर्नुपर्छ भन्ने धारणा राख्थे। त्यो जिम्मेवारीका बारेमा झक्झक्याउन यो चित्र बनाएकी हुँ।’

रोबोटले बनाएको यो पहिलो चित्रकला भएकाले क्रेताहरूबीच आकर्षण बढ्ने अपेक्षा गरिएको छ। यसअघि एआई विधिमार्फत बनाइएका अन्य चित्रकलाहरूमध्ये ‘पोट्रेट अफ एडमन्ड डि बेलामी’ चित्रकलालाई  सन् २०१८ मा चार लाख ३२ हजार पाँच सय डलरमा बेचिएको थियो। त्यसयता डाल–ई, स्टेबल डिफ्युजन लगायतका अन्य सफ्टवेयरमार्फत चित्रकला बनाउनु निकै सजिलो हुँदै जान थालेको छ। सन् २०२२ मा एआईले बनाएका चित्रकलाले कोलोराडो स्टेट आर्ट फेयर आर्ट कम्पिटिसनमा पुरस्कारसमेत प्राप्त गरेको थियो।

एआईबाट कला सिर्जना गर्ने लुबा एलियट भन्छन्, ‘पछिल्लो पटक क्रिस्टीज र सोथबाई जस्ता लिलामी कम्पनीले एआईद्वारा निर्मित डिजिटल कला बेच्न निकै ठूलो काम गरिरहेका छन्। यस्तोमा शुरूमा ठूलो होहल्ला हुनु स्वाभाविक हो।’

हुन पनि विभिन्न ऐतिहासिक क्षेत्रमा कलाकार बस्ने र पर्यटकहरूको चित्रकला बनाउने र त्यसलाई बेचेर राम्रै आम्दानी गरिरहेको सन्दर्भमा अचानक एआईले त्यो कला र आम्दानीको स्रोत नै खोस्न थालेपछि बढी नै आलोचना हुनु स्वभाविक हो। तर आम्दानीको एउटा स्रोत सुके पनि एआईले आम्दानीको अर्को बाटो खोल्ने पनि लुबा बताउँछिन्। टुरिङको यो चित्रकला र एआई–डालाई बेलायती रोबोटिक कम्पनी मेलरले बनाएको हो। यो चित्रलाई आउँदो ३१ अक्टोबरदेखि नोभेम्बर ७ सम्म बिक्रीका लागि राखिने द टाइम्स अखबारले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८१ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App