सानोमा उसलाई
जिस्किँदै सोधियो-
आमा रोज्छौ कि बाबा?
ऊ नाजवाफ भयो।
बिहेपछि
उसलाई प्रियाले सोधिन्-
बाआमा रोज्छौ कि मलाई?
ऊ फेरि बोल्न सकेन।
बुढो भएपछि
आफ्नै छोराहरूले सोधे-
जेठाको घर कि
कान्छोको घर?
यी प्रश्न
फगत प्रश्न होइनन्
तरबार हुन्।
प्रश्नहरूले
गम्भीर बनाउँछन्,
जब आफैंलाई सोधिन्छ-
उमेर कति भयो?
प्रगति कति गरियो?
प्रश्नहरूले
पीडा कम गर्छन्,
जब दुःखमा सोधिन्छ-
मद्दत चाहिन्छ?
थाकिस् कि?
प्रश्नहरूले
काउकुती लगाउँछन्,
जब बैंसमा सोधिन्छ-
कसैलाई मन पराउँछस्?
बिहे गर्छस् त?
केही प्रश्न,
मनले गर्छन्-
शान्ति खोइ?
सन्तुष्टि खोइ?
प्रेम खोइ?
केही प्रश्न
मस्तिष्कले गर्छन्-
तर्क खोइ ?
इज्जत खोइ?
पैसा खोइ?
अरूले जस्तै,
विदेश लैजान्नौ?
गहना किनिदिन्नौ?
समय दिन्नौ?
श्रीमतीका प्रश्नहरू !
बिहे कहिले गर्छस्?
तलब कति छ?
के काम गर्छस्?
आफन्तका प्रश्नहरू !
हाकिमले सोध्छन्-
काममा ध्यान खै?
साथीभाइले सोध्छन्-
माया मारिस् त?
सन्तानले सोध्छन्-
के ल्याइदिनुभयो?
सबैका प्रश्न सुन्दा सुन्दै
उसले बिर्सन्छ-
म के चाहन्छु ?
केही प्रश्नका उत्तर
मृत्युशैयामा भेटिन्छन्-
कसरी बाँच्नुपर्ने रहेछ?
केही प्रश्नका उत्तर
प्रेममा परेपछि भेटिन्छ-
कसैको याद किन आउँछ?
केही प्रश्नका उत्तर
बा बनेपछि भेटिन्छ-
बाका बाध्यता के रहेछन्?
केही प्रश्नका उत्तर
आमा बनेपछि भेटिन्छन्-
आमाका दुःख के रहेछन्?
केही प्रश्नका उत्तर
खाडी गएपछि भेटिन्छन्-
घर भनेको के रहेछ?
पढाइ के रहेछ?
केही प्रश्नका उत्तर
आपतमा पर्दा भेटिन्छन्-
आफ्नो को रहेछ?
पराइ को रहेछ?
केही प्रश्न मान्छेले
लास देखेपछि मात्र गर्छन्-
पाप कति गरियो?
ईर्ष्या कति गरियो?
प्रकाशित: ३ कार्तिक २०८१ ११:१३ शनिबार