१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

पौरखले बढाएको क्षितिज

पुस्तक

पंचम अधिकारीकृत चौधवटा कथाको सङ्ग्रह ‘प्रवासीको देश हुन्न’मा झन्डै आधा स्वदेशी र आधा परदेशी परिवेशका अनुभव-अनुभूति व्यक्त गरिएका छन्। किताबकै शीर्षक पाएको ‘प्रवासीको देश हुन्न’ भन्ने कथाबाट सुरु गर्दा अहिलेका नेपाली युवाले स्वदेशमा भोगेका अनेकौं बेथिति र अन्य देशमा देखेका नीतिनियम, पद्धति, प्रणालीको मोटामोटी झल्को दिन्छ। विदेश गएको युवक नेपाल फर्कंदै गर्दा आफ्नै देशको अध्यागमनमा नेपाली पासपोर्टको वैधानिकतामाथि अनेकन् आशंका गरिन्छ।

पासपोर्टधारी व्यक्तिलाई शंकालु भावले अनेक प्रश्नहरूबाट केरकार गरिएको एक युवकको आक्रोशको फेहरिस्त छ कथामा। अध्यागमनबाट सुरु भएको दिक्दारी शौचालयको अवस्थादेखि कर्मचारीको मनस्थिति, विभिन्न व्यक्ति र संस्थाको ठगी, यहाँको राजनीति र सरकारको लापर्बाहीजस्ता यावत् पक्षमा उसले सन्तोष गर्ने ठाउँ देख्दैन।

भारतमा जन्मेको, अमेरिका पढ्न गएपछि उतैको ग्रिनकार्ड लिएको र कामको सिलसिलामा क्यानडा र अन्यत्र पनि गइरहने फकिरकुमार दक्ष र सक्षम छ। यही दक्षताले उसलाई देशदेशावर जहाँ पनि आर्जन गर्ने अवसर मिलेको छ। जहाँ जान्छ, त्यहींको नीतिनियममा बस्छ, त्यहीं आर्जन गर्छ, त्यसै देशमा आफ्नो आर्जनको हिस्सा बुझाउँछ। त्यहाँ बसुन्जेल त्यहींको नागरिक हुँ भन्ने लाग्छ उसलाई। त्यसैले उसमा वैश्विक भावना जागृत भएको छ। बडो गर्वसाथ भन्छ, ‘मेरो अनुभव र अनुभूतिमा म अलिकति यहाँ अलिकति त्यहाँ, सबै ठाउँको हुँ। अथवा भनूँ, न यहाँ न त्यहाँको हुँ। के छ र जिन्दगी ? फकिरको घर हुन्न, प्रवासीको  देश हुन्न।’

कथाले अहिलेका युवाहरूको चुरो भावना बुझाएको छ। फुक्न चाहने दक्ष र पौरखी युवाहरूको यथार्थ भावना प्रतिविम्बन भएको छ यहाँ। उन्नति र प्रगतिको शिखर चुमेका समृद्ध देशमा पुग्ने हैसियत बनाएकाहरूका लागि आफ्नै देशको बेथिति र अस्तव्यस्त वातावरण झनै कहालीलाग्दो हुने रहेछ अनि त यसबाट उम्कने कोसिस गर्दा रहेछन् उनीहरू।

किताबमा अर्को रूचिकर पक्ष के छ भने कथाकारले अधिकांश प्रवासीले जस्तो जसरी पनि विदेश पुग्ने र देश छोड्नुपरेकोमा रोइलो गरेका छैनन्, भित्र एक कुरा बाहिर अर्कै स्वाङ पारेका छैनन्, द्वैधचरित्र प्रस्तुत गरेका छैनन्। ‘मुख्य कुरा मान्छे खुसी हुने रहेछ, ठिमाहा सोच राखेर दोधारमा बस्नु बेकार रहेछ,’ अर्को कथामा भनेका छन्। वास्तवमा ‘परदेशीको देश हुन्न’ भन्ने शीर्षक दिए पनि कथाकारको मनसाय मानिस फैलन पाउनुपर्छ भन्ने झल्कन्छ धेरैजसो कथामा।

यीबाहेक अरू कथाहरूले पनि समसामयिक समस्याहरूको उजागर गरेका छन्। कुनै यताका, कुनै उताका प्रसङ्ग छन् भने कुनै कुनैमा यताउता दुवैतिरका कुरा छन्। गाउँबाट सहरी परिवेशमा पुग्नेबित्तिकै किशोरीहरू कसरी असुरक्षित हुन पुग्छन् भन्ने ज्वलन्त उदाहरण छ ‘अनि ऊ भागी’ कथामा। निमुखा र कमजोरहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्न उद्यत जमातबाट महिलाको उन्नति र प्रगति गर्ने प्रयासमा कसरी तुसारापात हुन्छ भन्ने कुरा एक महत्त्वाकांक्षी किशोरी भाग्नैपर्ने परिस्थितिले देखाएको छ।

एक युरोपियन दम्पतीका साथ बेल्जियम पुगेकी बेबीसिटर सुनिताको कहानी उस्तै विडम्बनापूर्ण छ। उसलाई भरोसा दिने बहानामा नेपाली युवकद्वारा नै यौन शोषणमा परेकी युवतीको दारुण चित्र उतारिएको छ।

‘नेहा’ आफ्नो जवानीको उर्वर समय अन्यत्र बिताएकी एक्ली आमाकी एक्ली छोरीको कथा हो। नाम, दाम र इज्जत कमाए पनि यौवनको उत्तरार्धमा सन्तानको रहर जागेर आउँछ, ऊ आफ्नो बच्चाको बाबु बन्नलायक व्यक्तिको खोजी गर्छे। जसअनुसार बाबु बन्न इच्छुक सहृदयी पनि पाउँछे तथापि समय घर्किसकेकाले स्वस्थ र तन्दुरुस्त बच्चा जन्माउन सक्दिनँ। बच्चा चाहनेहरूको पश्चाताप मार्मिक व्यथा एकातिर ब्यहोर्दै गरेकी भए पनि आफ्नो रहरले बच्चा जन्माउन सक्षम महिलाको चित्रणले महिलाले खोजेको ‘मेरो शरीर, मेरो शक्ति’ भन्ने भावनालाई केही बल पुगेको मान्नुपर्छ।

‘लोकल हिरो’ मा गम्भीर र अध्ययनशील इन्जिनियरको शालीनता र उडन्तेहरूको संवाद उतारिएको छ। अन्य पेशागत दक्षता नभएकाहरू हाम्रो राजनीतिमा कसरी फिट हुन्छन् भन्ने व्यङ्ग्यात्मक प्रसङ्ग छ कथामा। राजनीतिको आडमा अवैध धन्दा गर्ने छट्टु साथीले आफ्नै साथीलाई दिएको अर्ती रमाइलोसँग उतारेका छन् कथाकारले ‘तिम्री स्वास्नी’ नामक कथामा। विसङ्गत राजनीतिको सपाट दृश्य अरू कथामा पनि राम्रोसँग उतारिएको छ।

‘फिरन्ते अनुराग’ मा एउटा नेपाली टुर–गाइडको मनोदशाको चित्रण छ। अंग्रेजी सिक्ने धुनमा सोफी नामकी गोरी पर्यटकसँगको हेलमेल बातचित रमाइलो पारामा उतारेका छन् कथाकारले। सोफीको घनिष्टतामा रमाएको गाइडले ऊसँग विवाह गरेर अमेरिका पस्ने योजना बुनेको हुन्छ र ऊ जाने बेलामा विवाहको प्रस्ताव गर्न पनि भ्याएको हुन्छ। ऊ आउँछे होला भन्ने आशामा रहँदै गर्दा सोफी भने पाँच–सात वटा अरू देश घुमिसकेकी हुन्छे।

विदेशमा कहिले भाषाको समस्या, कहिले कानुनी समस्या, सुरुसुरुका दिनमा खानेबस्ने समस्या सबैका लागि एकै हुन् तापनि प्रायः महिला नै पीडित र शोषित हुन पुग्छन्। यतिसम्म कि कुमारीहरू आमा बन्न रोकतोक नभएका मुलुकमा पनि ‘तिम्रो लोग्ने खै’ भन्दै महिलाको स्वतन्त्र अस्तित्वलाई नकारिन्छ।

‘इडियट’ र ‘नेहा’ यस अर्थमा फरक छन्। यी कथामा महिला सशक्त देखिएका छन्। समग्रमा, यसलाई पनि महिलाको स्वतन्त्र अस्तित्वको खोजीको क्रममा थोरै सक्षम बनेका र धेरै त अझै पनि पुरातनपन्थी धारणाकै सिकार बन्दै छन् भनेर बुझ्नुपर्ने हुन्छ। अहिलेको यथार्थ यही हो।

‘इडियट’ नामक कथा पढ्दा अधिकांश पाठक मजस्तै ‘पज्जल’ हुन सक्छन्। तथापि दोहोर्‍याएर पढ्दा थाहा लाग्छ, आफ्नै सेक्रेटरीसँगको यौन सम्बन्धबाट विचलित युवक डिप्रेसनमा पुग्छ र बन्द व्यापार नै बिग्रिन्छ। तर जसलाई उसले पहिला ‘पार्टटाइम प्रेमिका भन्थ्यो’, जसलाई उसले काम दिएको थियो, उसले अथाह उन्नति गरेकी छे। कथाको नायकको नाम पंचम लेखिएको छ। यसबाट साँच्चै लेखकको आफ्नै कथा हो अथवा अरूको घटनालाई आफ्नो नाममा लेखेका हुन्, छुट्याउन गाह्रो पर्छ। यो उनै जानून्।

पंचमका कथामा प्रवासी जीवनका ऊहापोह र नोस्टाल्जिक भावनाले ओतप्रोत कथावस्तु छन्। तर समकालीन नेपाली डायस्पोरिक साहित्यमा जताततै ओल्टाइपल्टाई पाइने नोस्टाल्जिक रोइलोले भक्कानिने समस्या छैन उनको लेखनमा।

प्रवासी पंचमको कथा भन्ने शैली बेजोडकै लाग्छ। कथा पढ्न थालेपछि छोड्न मन लाग्दैन। कथा समसामयिक विषयमा केन्द्रित छन्। वास्तवमा, फकिर जुन घरमा जति समय बास बस्छ, त्यति समयका लागि उसको घर त्यही हो।

बेल्जियममा बसुन्जेल पंचम बेल्जियमकै हुन्। जब बेल्जियम छोडेर अन्यत्र जान्छन्, उनी पुगेको देशका हुन्छन्। ‘प्रवासी जहाँ जतिन्जेल बस्छ, त्यतिन्जेल उसको देश त्यही हो।’ यो कथन मलाई निकै मन पर्‍यो। लाग्छ, धेरै पाठकलाई मन पर्नेछ।

प्रकाशित: ३ कार्तिक २०८१ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App