मान्छेका अनेक व्यक्तित्व हुन्छन्। अर्को शब्दमा भन्नुपर्दा मान्छेभित्र धेरै प्रकारका क्षमता लुकेका हुन्छन्। कसैसँग भरमार कलाकारिता -गाउने, नाच्ने, अभिनय गर्ने, चित्र–मूर्ति बनाउनेलगायतका प्रतिभा हुन्छन् भने कोही खेलकुदको क्षेत्र– फुटबल, क्रिकेट, एथलेटिक्स वा इनडोरलगायतका खेलहरू खेल्नमा माहिर हुन्छन्।
अमरदीप सुनुवार एक त्यस्तै प्रतिभावान् व्यक्ति हुन्-जोभित्र एकसाथ स्पष्ट रूपमा दुईवटा व्यक्तित्व अन्तरनिहित देखिन्छन्। तर, ती दुवै व्यक्तित्व एक–आपसमा अत्यन्तै विपरीत धारका छन्। एकातिर उनी निजामती क्षेत्रका एक कुशल प्रशासक हुन् भने अर्कातिर त्यो व्यक्तित्वसँग सिधै सम्पर्क नभएको उनको साहित्यिक व्यक्तित्व छ।
मूलतः गीति–रचना गर्न रुचाउने अमरदीपका केही गीतहरू रेकर्डिङ भएर प्रसारणमा समेत आइसकेका छन् भने गीत–लेखनकै समानान्तर– कविता पनि लेखिरहेका छन्। यहाँ सन्दर्भ कविताकै छ। साहित्यिक पुस्तकहरूसँगको साक्षात्कारसँगसँगै खास गरेर कवितासम्बन्धित पुस्तक-पत्रिकाहरूसँगै अध्यययन बढ्न लाग्यो। यसरी, आफ्नो रुचीकरणको विषय साहित्यको सुवासबाट प्रत्यक्ष सुवासित हुन् भन्ने उनी आफ्नो स्वीकारोक्ति जनाउँछन्।
उनले निकै लेखे कविता। विभिन्न पत्रपत्रिकामा छापिए पनि। नछापिएर यसै थन्क्याइए पनि। अन्ततः पछिल्ला पाँच वर्षमा सिर्जित कविताहरूलाई सँगालेर एउटा सिङ्गो सङ्ग्रह बनाउने निधो गरे र त्यही सोचअनुरूप ‘पृथ्वीको श्वेतपत्र’ शीर्षक दिएर एउटा कृति प्रकाशन गर्न पुगे।
करिब चार दर्जन कविताहरू सङ्गृहीत ‘पृथ्वीको श्वेतपत्र’ हेर्दा जति आकर्षक छ, भित्र पृष्ठहरूमा अङ्कित शब्दहरूको समायोजनबाट निर्मित कविताहरू पनि उत्तिकै मोहित पार्ने खालका छन्।
‘सहरको चल्तीको सुपरमार्केटमा
मान्छेको रहर सजाइएको छ
र्याकमा सजाइएका सामानमा
मान्छेको इच्छा झुन्ड्याइएको छ...
मानवता बिर्सिएको सुपरमार्केटमा
सहरका बासिन्दाहरूको जीवनशैली
सुपरमार्केटको रङझैँ बदलिएको छ।’
गाउँमा जन्मिएर त्यहींको परिवेशमा हुर्किएका कारण कवि अमरदीपको लेखनमा गाउँसँगको ‘एटेचमेन्ट’ र सहरको कथित आधुनिक विकासप्रति प्रत्यक्ष रुष्टता देखिन्छ।
विकासका नाममा सहरभित्र घरहरू अग्लिँदै गएका र ती अग्ला घरमा बस्ने मान्छेभित्र मर्दै गएको संवेदनहीनता, मौलाउँदै गएको छलकपट, जालझेल र स्वार्थीपनालाई कवितामा उतार्न बाध्य रहेका उनी गाउँमा भएको विकासविरोधी भने कदापि होइनन्। परिवर्तनलाई उनी पनि स्वीकार्छन्। तर, जति नै आफ्नो गाउँमा परिवर्तन देखिए पनि उनका लागि आफ्नो गाउँ अत्यन्तै प्रिय, स्निग्ध, मनमोहक, प्रेमिल र हार्दिक लाग्छ उनलाई।
समाजका हरेक क्षेत्रमा ‘सम्भावना’ उनको कविताको दृष्टिकोण हो। आशा मात्रै होइन, भरोसाको पनि अपेक्षा गर्छन् उनी। समाज भिन्न–भिन्न समुदाय, जाति, धर्म, सम्प्रदायमा विभाजित भए पनि सबैले मानवताको भाव राख्नुपर्ने उनको आग्रह देखिन्छ। यसका लागि समाजमा एक आपसमा ‘सद्भाव’ नै पहिलो सर्त हो। सबैभन्दा पहिले मान्छेले आफूलाई अनुशासनमा राख्यो भने मात्रै सद्भावको बीज रोपिन्छ, जसमा आफू उभिएको माटोप्रति इमानदारी र चरित्रमा नैतिकता जोडिन आवश्यक छ। यति हुने हो भने देशको झन्डा उठाएर राष्ट्रियता पनि जगाउनै पर्दैन, प्रत्येक जनजनमा स्वभावतः राष्ट्रियता जागृत भइहाल्छ। अझ यसभन्दा अघि बढेर कवि अमरदीपले राष्ट्रको घेरालाई नाघेर सम्पूर्ण पृथ्वीप्रति प्रेम झल्काउँछन्। यसैको द्योतक हो-विशेषतः पर्यावरणीय सुगन्ध उनका कवितामा पाइन्छ।
‘सूर्यको सौर्यमा सुवासित पृथ्वीमा
सूर्यकै सेराफेरो संसार देखेका नानीबाबुहरूले
उभिएर जन्मभूमिको माटोमाथि
हेरेर प्रत्येक बिहानीमा अर्को सूर्योदय
पढ्नु छ जिन्दगीको पाठ
सिक्नु छ सफलताको सूत्र
र चढ्नु छ जीवन सार्थकताको सोपान।’
उनका कविताहरूले स्पष्ट देखाउँछन्– पर्यावरण र जीवन एक–आपसमा पूरक छन्। सम्भवतः यही आधारशीलामा उभिएर उनले कवितासङ्ग्रहको नाम राखेको हुनुपर्छ– ‘पृथ्वीको श्वेतपत्र’। पुस्तकको शीर्षकअनुरूप नै अधिकांश कविताहरूमा प्राणीजगत्सँग पृथ्वी–प्रकृतिका दुखेसाहरू र तिनका चाहनाहरू मूल रूपमा देखाइएका छन्।
‘नदीको शपथ’ शीर्षकमा– नदी आफ्नो स्वभावमा अविरल बगिरहेर चुपचाप आफूभित्रका पीडालाई शमन गर्ने चाहना व्यक्त गरिएको छ। ‘आधुनिक चराहरू’मा शान्तिका प्रतीक मानिएका परेवाहरू आधुनिक चराहरूको झम्टाइमा परेको र त्यो प्रहारलाई निस्तेज पार्न कवि लागिपरेको कुरा गर्छन्। ‘सहिदगेटसँग प्रश्न’मा समाजबाट हराइसकेका आदर्शको खोजी गर्दै सहिदका रगतको मूल्य सोधिएको छ।
सङ्ग्रहभित्रका कतिपय कवितामा भनिएको मानव बस्तीको विस्तृतिसँगै पर्यावरणीय ह्रासोन्मुख वातावरणमा पानीको अभाव स्पष्ट देखिँदै गएको छ। सुक्दै गएका तालतलैया र नदीहरूले त्यसको पुष्टि गर्दै गइरहेको छ। ‘मेरो लिखु नदी’मा कवि अमरदीप चिन्ता व्यक्त गर्छन्-
‘विकासको विद्रुपताले च्यापिएकी छौ
जलविद्युत्को नाममा तिम्रो सौरभमा
कालोमोसो दलिएको छ
तिम्रो यौवन बलात्कृत
भएको छ।’
उनी चाहन्छन्– भौतिक रूपमा सुके पनि किनारका बस्तीहरूमा आस्थाको लिखु नसुकोस्, त्यसैको पानी पिएर बाँचेकाहरू विश्वासको लिखु नसुकोस्, लिखुकै पौरखमा नाचेकाहरूको सभ्यताको लिखु कहिल्यै नसुकोस्!
‘पृथ्वीको श्वेतपत्र’ पढिसकेपछि कवि अमरदीप सामान्यतः समकालीन अन्य कविहरूका दाँजोमा केही अर्थमा पृथक् देखिन्छन्। भन्ने गरिएझैं सामान्य आँखाले नपहिल्याइएको विषयवस्तुलाई देख्न सक्ने सूक्ष्म दृष्टिकोण कविहरूमा हुन्छ भनेर मान्ने हो भने त्यस्तो दृष्टिकोण अमरदीपमा पनि छ। अर्थात् कविमा हुनुपर्ने लाक्षणिक गुण उनमा पनि छँदै छ। फरक के छ भने, उनको कविताको प्रस्तुतिमा पाइने विषयवस्तु सानो घेराभित्र रुमलिएको छैन।
आज लेखिने गरेको प्रायः माया–प्रेम, वियोग, आँसुका गीत गाइरहने कविहरूको सीमित घेराभन्दा फुत्तै बाहिरिएका छन् उनी। रोइरहनुभन्दा हाँसिरहनु भन्ने सकारात्मक अभिव्यक्ति दिएर पृथ्वीका आजका बासिन्दालाई प्रत्यक्ष सरोकार राख्ने मूलतः आफू उभिएको माटोसँगको सम्बन्धप्रति उनले सचेत गराएका छन्। जसमा सांस्कृतिक चेतनालाई बढी उजागर गरिएको छ।
भूमिकामा डा. लक्ष्मणप्रसाद गौतमले भनेकै छन्- ‘उनका कविताले देशको समृद्धि र जनताको सम्पन्नताको अपेक्षा त राखेका छन् नै, आफ्नो किराँत संस्कृति–चेतनालाई पनि उनका कविताले अभिव्यक्त गरेको पाइन्छ। जीवनदर्शन र यथार्थको समीकरणमा संवेदनाको कवितात्मक उपासनाका रूपमा यस सङ्ग्रहका कवितालाई लिन सकिन्छ। यी कविताहरूले आजको नेपाली कविताको एउटा पहिचान बोकेका छन्।’
अत्यन्तै उज्यालो किरण बोकेर आएको यो ‘पृथ्वीको श्वेतपत्र’का कविता असामाजिक प्रतीकका रूपमा रहेका ‘काला पदार्थ’हरूमाथि धावा बोल्नमा सक्षम रहून् ! कवि अमरदीपलाई शुभकामना!
प्रकाशित: ३ कार्तिक २०८१ ०६:३३ शनिबार