सन् १९४६ देखि १९६४ सम्म जन्मिएका पुस्तालाई पश्चिमाहरूले बेबी बुमर्स भन्छन्। यो पुस्ताले आफ्नो जीवनको ७० औँ जन्मदिन मनाइरहेका छन् वा मनाउने तयारीमा छन्।
दोस्रो विश्वयुद्धपछि जन्मिएको यो पुस्ताले जनसंख्या बढाउने काम मात्र गरेन, तिनले आशावाद पनि जन्माए। यो बेला अमेरिकी जनसंख्यामा आएको उछाललाई बेबी बुम नामकरण गरिएको हो। यसैको देखासिकीमा पश्चिमा मुलुकहरूले सो अवधिमा जन्मिएका पुस्तालाई बेबी बुमर्स नामकरण गरे।
एक अध्ययनअनुसार, बेबी बुमर्सको आयु त लामो देखिएको छ तर तुलनात्मक रूपमा उनीहरूका अभिभावकको तुलनामा यिनको स्वास्थ्य अवस्था उति राम्रो देखिएको छैन। दोस्रो विश्वयुद्धभन्दा पहिले जन्मिएका वा त्यसपछि जन्मिएकाहरूको स्वास्थ्यमा तात्विक फरक देखिन थालेको छ।
रोचक त के देखिएको छ भने जेनरेसन एक्सका नाउँमा चिनिने सन् १९६५ र १९८० को बीचमा जन्मिएकाहरूको स्वास्थ्य बेबी बुमर्सको तुलनामा स्वास्थ्य स्थिति अझ बढी खस्किन थालेको छ। यद्यपि, उनीहरूले लामो आयु पाएका छन् तर स्वस्थजीवन भने पहिलेको तुलनामा कम पाइरहेका छन्। लामो आयुका कारण उनीहरूमा रोगले डेरा जमाएको भने होइन। सानै उमेरमा पनि धेरैजसोमा मोटोपन, चिनीरोग तथा अन्य घातक रोगहरू देखिएको छ।
जर्नल्स अफ जेरेन्टोलोजीमा हालै प्रकाशित एक अध्ययनअनुसार अचेल क्यान्सर, फोक्सो तथा मुटुका समस्या तथा उच्च कोलेस्ट्रोल ४० तथा ५० वर्षकै उमेरमा सर्वसाधारणमा देखिन थालेको छ।
अध्ययनकी प्रमुख लाउरा जिमेनो भन्छिन्, ‘सन् १९४५ पछि जन्मिएकाहरूमा स्वास्थ्यसम्बन्धी सचेतना निकै सशक्त रूपमा बढिरहेको छ। यसका बाबजुद पनि घातक रोग तथा अक्षमता अघिल्ला पुस्ताभन्दा अझ बढी घटिरहेको देखिएको छ।’
यस अध्ययनमा ५० वर्ष उमेरलाई एउटा सीमारेखा मानिएको थियो। बेबी बुमर्सदेखि अहिले ५० वर्ष उमेरमा रहेका अमेरिका, बेलायत तथा युरोपका विभिन्न मुलुकमा बस्ने अधवैंशेहरूमाझ गरिएको अध्ययनमा यस्तो समस्या देखिएको हो।
प्रकाशित: २ कार्तिक २०८१ ०८:४७ शुक्रबार