१) जस
करारमा जागिर पाएपछि ऊ निकै प्रफुल्ल भयो। ‘ल मैले गर्दा जागिर पायौ। बधाई छ!’ हाकिमले जस लिन खोजे।
हुन त उसले प्रतिस्पर्धा गरेरै नाम निकालेको थियो तैपनि सोच्यो,‘ हाकिमले नै मलाई जागिर दिएका हुन्।’
जागिर खाएको तीन महिना नबित्दै उसले जागिरबाट हात धुनुपर्यो। कारण थियो, स्थायी कर्मचारीको आगमन।
कनिष्ठताको आधार देखाएर हाकिमले सहानुभूति देखाए, ‘यसपालि मैले होइन नियमले हटाएको हो, तिमीलाई। ऊबेलामा त मैले पनि सहयोग गरेकै हुँ।’
२) श्रमको उपयोग
“बाबु, यो ग्याँस सिलिन्डर उचालेर भान्साकोठासम्म ल्याइदे न!”
“सक्दिनँ आमा, मलाई हतार छ।” आमाले भनेको उसले मानेन।
“छोरा, यो धानको बोरा मेसिनसम्म लैजानु थियो। बाउछोरा भएर आधाआधा बाँडेर त्यहाँसम्म पुर्याउनुपर्यो। लौ न!”
“सक्दिनँ बा, मलाई हतार छ।” बाबुको आग्रहलाई पनि उसले अटेर गर्यो।
बाबु र आमाले आफैले काम गरे। छोरो उता जिमखानामा फलामका डन्डी उचालेर पसिना चुहाउँदै थियो।
३) महँगाे सम्मान
राम्रो नतिजा ल्याएबापत ऊ जिल्लामा पुरस्कृत हुने भयो। आमासँग उसले बाटाखर्च माग्यो। आमाले जानेआउने भाडा दिइन्।
भव्य सम्मान गरियो। उचालिनसक्नुको ठुलो फ्रेम थियो। चिल्लो र दरो कागजमा लेखिएको प्रमाणपत्र थियो।सयपत्रीको मालाको साथमा खादाको ओइरो लाग्यो। निधार रातै भयो।
कार्यक्रम लामै भयो। कार्यक्रम सकेर सबै लाखापाखा लागे।
फर्कँदा गाडी छुट्यो। धन्न चिनेको साथी भेटियो र ५ सय रुपियाँ सापट माग्न भियायो।
त्यही पैसा लिएर ऊ होटेलमा बास बस्न पुग्यो। सादा खाना खायो अनि कमन बेडमा सुत्यो।
ऊ सुत्ने बेलामा मनमा कुरा खेलाउँदै थियो, “यो खादा र फ्रेम बिक्री हुने भए साथीसँग लिएको सापटी पैसा तिर्न पुग्थ्यो कि!”
प्रकाशित: २९ आश्विन २०८१ ०९:०२ मंगलबार