६ पुस २०८१ शनिबार
image/svg+xml
कला

पैदलयात्री

तीन लघुकथा

१) पैदलयात्री

‘बुबा दर्शन।’ म्यासेन्जरमा छोराले भन्यो।

सम्पर्क टुटेपछि अत्तालिएका बुबा छोराको  सन्देशले अलि ढुक्क भए। उता आँखाबाट आँसु खसेको छोराले देखेन ‘बाबु सञ्चै छौ?’ उनले पनि सोधेर लेखे । धेरै बेरपछि ‘हजूर’ भन्ने म्यासेज पठायो।

‘कुरा गर्न मिल्दैन?’ बुबाले पनि लेखे।

‘पछि कुरा गरौँला।’ उसले भन्यो। बोल्न नपाए पनि छोरा जिउँदै रहेछ भनेर उता बुबा अलि ढुक्क भए। छोरो पठाउँदा लागेको ऋणको ब्याज तिर्ने झिनो आशा जगायो बाबुमा।

‘बाबु भनेको ठाउँमा पुग्यौ?’ फेरि सन्देश आयो बुबाको।

‘पुग्नै आँटे।’ छोराको छोटो जवाफ थियो।

‘राकेश, तिमीले स्पेनिस भाषा पनि सिकेका हौ नि नेपालमा। एकपटक सोध न डाक्टरलाई कहिले सञ्चो हुन्छ मलाई! मेक्सिकन सेनाले हानेको गोलीको घाउ त साह्रै पोल्दो रहेछ।’ उसले साथीसँग भन्यो।

२) चिन्तक

‘के गर्‍या होला। एउटा पनि काम लाग्ने मान्छे परेन।’ उदयले भन्यो।

‘हो त त्यो पिल्लरे काेषाध्यक्ष भएछ।’ नरेशले थप्यो।

ढकालले थप्यो, ‘सन्तबहादुर काका त अध्यक्ष भएपछि, के काम गर्न सक्लान्?’ 

होटलको साहूजीलाई बिल ल्याउने संकेत गरे र उठ्ने तरखर गर्न थाले।

‘हिजो तिमी गएका थियौ अधिवेशनमा?’ नरेशले सोध्यो।

‘हिजो यसो बसौँ न भन्यो हरिले, दिनभर तास खेलियो। यसो एकपटक त पुगेर देखापरेको थिएँ।’ उदयले भन्यो।

‘म त गइन्।’ ढकालले भन्यो।

‘त्यस्ता संस्थाको अधिवेशन भनेर कसले समय फाल्छ? म त फ्लिम हेरेर बसेँ।’ उठ्न खोज्दै नरेशले भन्यो।

एकपटक सबै हाँसे।

ढकालले पुन: सोध्यो, ‘कोको गएछ्न्?’ 

‘अलिअलि मान्छे त जम्मा भएका थिए रे तर समिति गठन गर्ने बेलासम्म बाह्रतेह्र जना बाँकी रहेछ्न्, उनीहरूलाई नै मिलाएर समितिमा राखेछ्न्।’ उदयले भन्यो।

३) समाचार

‘बुबा फर्कनुभयो?’ मैले सधैं बिहानीको हिँडाइमा भेटिने बुबालाई सोधेँ।

‘हजूर जाँदै गर्नु म त फर्केँ।’ उहाँले भन्नुभयो। उहाँ प्रत्येक दिन बिहान बाटोमा भेटिनुहुन्छ। हाम्रो बोल्ने क्रम यस्तै संक्षिप्त हुन्छ। हामीहरूको नाम र पेशाबारे पनि एक अर्कालाई थाहा छैन। हुन पनि बिहानी हिँडाइमा भलाकुसारी गरेर बस्ने पनि होइन।

उहाँलाई देखेर आज के नमिलेनमिले जस्तै लाग्यो। सोचें, ‘सबै ठिकै छ, के पुगेन र  खोइ?’ झट्ट याद आयो।

‘आज त एफएम बजाउनुभएको छैन त।’ सधैं बिहानको हिंडाइमा समाचार सुनेर राष्ट्रिय र अन्तराष्ट्रिय घटनाको जानकार भइरहने उहाँलाई सोधेँँ।

‘मैले त बेचिदिएँ रेडियो।’ उहाँले भन्नुभयो।

मैले भनें,‘अर्को अलि राम्रो किन्ने होला नि बुबा।’

‘हैन, बिहान अलि मनमा र तनमा ताजगी ल्याउन हिंड्यो। जहिले पनि नराम्रो समाचार मात्र सुन्नुपर्ने, दिनभरि दिमाग खराव।’ उहाँले भन्नुभयो।  

प्रकाशित: २७ आश्विन २०८१ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App