२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

जसले दसैं धान्न भूमिका खेलिरहे...

दसै र चिउरा परिपूरक हुन् किनकि दसैंमा भोज खाइन्छ र भोजको मुख्य परिकार हुन्छ-चिउरा। भक्तपुरको सन्दर्भमा यही चिउरा बनाउने पुस्तौं पुस्तादेखिको काममा लागिरहेका एकजना युवा हुन्-वीरेन्द्र जति। राम्रो शिक्षादीक्षा अनि नेतृत्वदायी कला रहे पनि उनी बाजेबुबाले गर्दै आएको पुख्र्यौली पेसामै सीमित छन्।

वीरेन्द्र २०५२ सालमा प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्णपछि आफ्नो बुबाले अँगाल्दै आएको ताइचिन चिउरा उत्पादन गर्ने पेसालाई सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् अहिलेसम्म पनि। उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा प्रवीणता प्रमाणप्रत्र तह र स्नातक तह उत्तीर्ण गरी स्नातकोत्तर तहमा अध्ययन गर्दै गर्दासम्म बुबाले सञ्चालन गर्दै गरेको घरेलु उद्योग व्यवस्थापनको जिम्मा आफैंले लिइसकेका थिए। किनभने उनका बुबाआमा शिक्षित नभएकाले आफ्नो पेसालाई विस्तार गरेर ठूलो बनाउन सम्भव थिएन, जो वीरेन्द्र चाहन्थे। त्यो ताइचिन चिउराको व्यापारलाई अझ व्यवस्थित र मर्यादित तवरले चलाउन सकेमा नाम र दाम दुवै कमाउन सकिन्छ भन्ने उनको सोचाइ बन्यो।

आफ्नो पेसामा सक्रिय रहँदै जाँदा उनी भक्तपुर घरेलु तथा साना उद्योग संघको कार्य समिति सदस्यको जिम्मेवारीमा पुग्न सफल भए। त्यसलगत्तै संघकै सिफारिसमा उनले जापानको सदस्य राष्ट्र नेपालको आर्थिक सहयोगमा छिमेकी मित्रराष्ट्र भारतको कानपुरमा उद्योगको क्षमता वृद्धिसम्बन्धी अध्ययन अवलोकन भ्रमणमा भक्तपुर जिल्लाका १३ जना ताइचिन चिउरा उद्यमीहरूको टोलीको उपनेताका रूपमा सहभागी हुने अवसर पाए। त्सस भ्रमणलगत्तै फेरि नेपाल–तिब्बत व्यापार मेलामा सहभागी हुने अवसर पाए। यी सबै अवसर उनलाई बाबुले स्थापना गरेको उद्योगलाई निरन्तर अगाडि बढाउँदा प्राप्त भएका हुन्।

आफ्नो पेसाबाट चाहेजति उत्पादन गर्न सके कमाउन सम्भव छ भनेर महसुस गरेका उनले धेरै उत्पादन गर्न सकिने मेसिन भारतबाट आयात गरी सञ्चालनमा ल्याए। त्यसपछि उद्योगको क्षमतामा वृद्धि भई उत्पादकत्वसमेत बढेको छ।

यसरी व्यवसाय बढाए पछि उनको आम्दानी वृद्धि भई क्रय–शक्तिमा उल्लेख्य सुधार आयो, जसले गर्दा उनको परिवारको जीवनस्तर पहिलेभन्दा धेरै माथि पुगेको छ। यसरी काम गर्दै जाँदा उनी पेसाका माध्यमबाट निकै अघि बढिसकेका थिए।

सफल हुँदै जाँदा अवसरहरू पनि खोज्दै आउँछन् भने झैं भयो उनलाई। युरोपियन युनियनको लगानीबाट सञ्चालित परियोजनामा उनको लक्ष्मी चिउरा मिल सञ्चालन हुन थाल्यो। यस परियोजनाको मुख्य उद्देश्य उद्योगमा हुने धुलो र धुवाँको प्रदूषणमा न्यूनीकरण गर्ने रहेको थियो। यस परियोजनाअन्तर्गत चार वर्षको निरन्तर अध्ययनपछि कम पैसामा धुलो तान्ने मेसिन जडान गरे उनले। यसले हाल चिउरा उद्योगमा धुलोबाट हुने प्रदूषण ७० प्रतिशतसम्म नियन्त्रण भइसकेको उनी बताउँंछन्। यो प्रविधि हाल भक्तपुरका सम्पूर्ण चिउरा मिलमा सफलतापूर्वक जडान गरी सञ्चालनमा रहनुमा वीरेन्द्रको अग्र्रणी भूमिका रहेको छ।

वि.सं २०६७ सालमा नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उत्तीर्ण गरेपछि उनी निकै दोधारमा परेका थिए। अधिवक्ताको अभ्यासमा जाने कि विकसित भइरहेको उनका बुबाको पेसालाई निरन्तरता दिने? त्यसै सिलसिलामा उनका बुबाले यही पेसालाई अगाडि बढाउन सल्लाह दिए। त्यसपछि पिताको सल्लाह शिरोपर गरी अधिवक्ताको पेसालाई त्यागी यही पेसालाई मर्यादित बनाई उत्पादन वृद्धि गरी उद्योगलाई फराकिलो बनाउने निर्णय लिन पुगे। यही पेसा अँगालेकै कारण २०७३ सालदेखि भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षको नेतृत्व बहन गर्ने अवसर पनि उनले पाएका थिए। उनकै नेतृत्वमा नेपालको ७७ जिल्लाको घरेलु संघहरूमध्ये सर्वप्रथम सूर्यविनायक नगरपालिका– ६ गणेश मन्दिर जाने बाटोमा संघकै नाममा सुविधासम्पन्न भवन बनाउन सफल भए।

यही पेसाकै कारण नेपाल सरकार उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरबाट उत्पादनतर्फ उत्कृष्ट उद्यमीको सम्मान पनि पाए। त्यति मात्र होइन, जापानको आयोजनामा फिजीमा आयोजित कार्यक्रममा नेपालको प्रतिनिधित्व गरी सहभागी हुने अवसर पनि उनैले पाए। यी यावत् अवसरका कारण पनि उनी आफ्नो उद्योग व्यवसायलाई दत्तचित्त भएर अगाडि बढाइरहेका छन्। दसैंमा खाने भोजको मुख्य परिकार लोकल ताइचिन चिउरा उत्पादनमा उनी लागिरहेका छन्।

प्रकाशित: २४ आश्विन २०८१ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App