७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

संस्कार व्यक्तित्वको प्रतिबिम्ब

निबन्ध

मानव जीवनमा संस्कारको सर्वाधिक महत्त्व रहन्छ भन्ने कुराबाट कोही अनभिज्ञ छैन। संस्कृति र संस्कार झट्ट सुन्दा समान अर्थ लाग्नेजस्ता भए पनि यिनको अर्थगत गहिराइ फरक छ।

संस्कृतिलाई मूर्त र अमूर्त दुई श्रेणीमा राखेर बुझ्ने गरिएको छ। यसलाई जातीय, भाषिक, क्षेत्रीय आदिमा पनि वर्गीकृत गर्ने गरिन्छ। संस्कृति बढी त सामाजिक तवरमा विस्तारित हुन्छ। अमूर्त संस्कृतिका आयामहरू पारिवारिक तहदेखि विस्तारित हुँदै राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरसम्म नै फैलिन्छन्। राष्ट्रिय स्तरमा स्विकारिएका सांस्कृतिक आयामहरू मुलुककै पहिचानका आधार बन्छन्।

वैयक्तिक तवरमा अपनाइने संस्कारलाई संस्कृतिकै सुक्ष्मतम स्वरूपमा सम्झन सकिन्छ। संस्कार सामाजिक तवरमा परम्परागत जीवन पद्धतिको दर्शनीय व्यावहारिक स्वरूपमा रहन्छ। संस्कारलाई अमूर्त संस्कृतिभित्रकै एउटा अभिन्न आयामका रूपमा पनि सम्झिइन्छ। संस्कार वैयक्तिक व्यवहारबाट अनुभव गरिन्छ भने संस्कृति सामूहिक तवरबाट प्रतिबिम्बित रहन्छ।

अमूर्त संस्कृतिका स्वरूपहरू स्वाभाविक तवरले अस्पर्शीय रहन्छन्। यी अनुभवगम्य वा अनुभूतिगम्य रहन्छन्। हाम्रा धर्म, चाडपर्वादि कर्महरू, सांगीतिक स्वरूपहरू सबै अमूर्त हुन्। जीवनको पूर्वाद्र्धदेखि जीवनक्रम अनि जीवनोत्तरसम्मका संस्कारहरू, सार्वजनिक तवरमा देखिने–देखाइने माङ्गलिक वा अमाङ्गलिक कार्यहरू सबै अमूर्त हुन्।

मूलतः अमूर्त संस्कृति मानव जीवनको व्यवहार हो। व्यवहार नै जीवन हो। व्यवहार भनेको व्यक्तिलाई समाजसँग गास्ने माध्यम हो। मानिसले सामाजिक बन्ने आधार उसले अपनाएको व्यवहार हो। जन्मदेखि मृत्युपर्यन्त सामाजिक व्यवहारको चक्रीय क्रमबद्धता निरन्तर रहन्छ।

अमूर्त संस्कृतिको यस असीम अभिमण्डलको केन्द्रमा मानिस रहेको छ। मानिस मानिसलाई आपसमा र परस्परमा जोड्ने सूत्र पनि उसले अवलम्बन गर्दै आएको संस्कार हो, संस्कृति हो। अन्य मानवेत्तर प्राणी र मानिसका बीचमा भिन्नता गराउने तत्त्व नै संस्कृति हो।

जब मानिस सांस्कृतिक पात्रका रूपमा उपस्थित रहन्छ, उसमा व्यक्तित्वरूपी तत्त्व स्वत अन्तरनिहित रहन्छ। त्यसैले सांस्कृतिक मानिस स्वयं नै एक व्यक्तित्व हो। व्यक्तित्वको विकास हुनु भनेको सांस्कृतिक मानिसको विकास हुनु हो। व्यक्तित्व विकासको आरम्भ मानव जीवनको प्रारम्भसँगै हुन थाल्ने कुरा मानवशास्त्रीहरू बताउँछन्।

मानिस क्रमिक रूपले व्यक्तित्व आर्जन गर्दै जान्छ। व्यक्तित्व आर्जन प्राकृतिक तवरले वा स्वाभाविक तवरले हुँदै जान्छ। व्यक्ति वा मानिस व्यक्तित्वमा रूपान्तरण हुँदै जानु भनेको उसको परिष्कृतीकरण हुँदै जानु हो। मानिसको परिष्कृतीकरण हुनुको पनि सीमा छैन। मानिसको परिष्कृतीकरणतर्फको यात्रा सांस्कृतिक सान्निध्य वा त्यसको अवलम्बनकै विन्दुबाट आरम्भ हुन्छ।

अमूर्त संस्कृतिको वैयक्तिक आयाम व्यक्तिको आचरण, विचार, बोली, व्यक्तिगत सम्बन्ध, चारित्रिकता, नैतिकता, संयमता, सजगता, हार्दिकता, व्यावहारिकता, अनुशासन, विवेक आदि गुणमा विस्तारित रहन्छ। यिनको सम्प्रेष्य अर्थात् व्यावहारिक प्रवाहमयताबाट व्यक्तिको गुणवत्ता चहकिलो बन्दै जान्छ। त्यही गुणवत्ता नै वैयक्तिक संस्कार हो भन्न सकिन्छ।

संस्कारपूर्ण मानिस व्यक्तित्वमय बन्दै जान्छ। औपचारिक अध्ययन वा शिक्षण संस्थाहरूबाट प्राप्त ज्ञान संस्कार विकासका लागि महत्त्वपूर्ण माध्यम बन्छ। ज्ञानवृद्धिका लागि स्वाध्ययन अझ महत्त्वपूर्ण माध्यम बन्छ। ज्ञान विस्तार मात्रले मानिस संस्कारपूर्ण भने बन्दैन। संस्कार र ज्ञान दुवै सम्मिलित व्यावहारिक अवलम्बनबाट व्यक्तित्वको परिष्कृतीकरण हुँदै जान्छ।

परिष्कृतीकरण हुनु भनेको विस्तारीकरण हुँदै जानु हो। ज्ञान र संस्कारको सहविस्तारीकरणले व्यक्तिलाई उचाइतिर लैजान्छ। फेदीबाट क्रमशः उचाइतिर उक्लिँदै गएको व्यक्तिले आफ्नो वरपरको सामाजिक–सांस्कृतिक–आध्यात्मिक परिवेशलाई चिनेको हुन्छ।

आफूले टेक्दै आएका नरम वा खस्रा सतहका अनुभवहरू उसको व्यक्तित्व निर्माणका रसायन बन्छन्। यस्ता अनुभवले उसलाई वा उसको संस्कारलाई परिमार्जन गरिरहेका हुन्छन्। परिष्कृतिसहितको विस्तृतीकरण बढ्दै जाँदा मानिसले असाधारण सामथ्र्य प्राप्त बन्छ। मानिसले आफ्नो आयु अवधिमा प्राप्त गर्ने महामानवत्व भन्नु त्यही नै हो। मानवरूपी देवत्व पनि त्यही नै हो। यो सबै संस्कारकै कारण सम्भव हुने हो।

परिवार र समाजबाट एवं औपचारिक वा अनौपचारिक अध्ययनबाट अनि आफ्नै अनुभवबाट सिकिने र बुझिने सामान्य कुरा हुन् यी। संस्कार यतिमै मात्र सीमित छैन। यसले जीवनका प्रत्येक क्षणलाई प्रभाविक पारिरहेको हुन्छ।

मानिस भन्नु नै संस्कारको उपज हो। व्यवहारमा संस्कारका कैयौं पक्ष वा रेसालाई मानिसले बेवास्ता गरिरहेको हुन्छ। कुरा वा सिद्धान्त र व्यवहारमा केही न केही भिन्नताको अनुभव भइ नै रहन्छ। तर पनि व्यक्तिले ज्ञान र व्यवहारलाई स्मरण गर्दै आफूलाई कर्ममा अग्रसर गराउन सक्छ। संस्कारलाई व्यक्तित्वको प्रतिबिम्बका रूपमा बुझ्न सकिन्छ।  

प्रकाशित: १९ आश्विन २०८१ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App