१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

क्यानभासमा मौलिकता

कला

कलाकार नवीन्द्रमान राजभण्डारीको कलामा मौलिकता लेपन भएको सहजै दर्शकले महसुस गर्छन्। कलाप्रदर्शनीको माहोलमा टाँगिएका क्यानभास–चित्रहरूका साथ उहाँको चित्र अलग्ग चिनिन्छन्।

यसरी चिनिन सक्नु कलाकारको आफ्नो विशिष्ठ पहिचानको झलक हो किनभने आज पुराना र नयाँ कलाकारहरूको भिडमा सिर्जनात्मक मौलिकताको खोजी एउटा जटिल विषय बन्दै आइरहेको छ। यही क्रममा स्थापित हुने र विस्थापित बन्नेको होडबाजी पनि छ। यो होडबाजीमा नौलो कामको उपस्थिति गराई त्यसमा नियमित रचना–कौशल देखाउनु महत्त्वपूर्ण कुरा हो।

यस कार्यमा नवीन्द्रमानले स्पष्ट क्षमता देखाइसक्नुभएको छ। त्यसो त, उहाँ नेपाल सरकारको निशान छाप डिजाइनका मुख्य व्यक्तिसमेत हुनुहुन्छ। पाठ्यक्रम विकास केन्द्रमा लामो समय सेवा गरी पाठ्यपुस्तकहरूको डिजाइन, सम्पादन, लेखन आदिमा समेत उहाँको योगदान रहेको स्मरणीय हुन्छ। कला ग्यालरीको सञ्चालन, व्यवस्थापन तथा कलापत्रिका प्रकाशनमा पनि उहाँले गहकिलो भूमिका निर्वाह गरिसक्नुभएको छ ।

उहाँ चित्रसिर्जना, कलालेखन तथा अध्यापनका क्षेत्रमा सुपरिचित र प्रसिद्धि प्राप्त व्यक्तित्व हुनुहुन्छ। ‘पाश्चात्य कलाको सङ्क्षिप्त इतिहास’ शीर्षकीय पहिलो र दोस्रो भाग उहाँका महत्त्वपूर्ण कृति हुन्। यी दुई कृतिले पाश्चात्य कलाका विविध सन्दर्भमा विद्यार्थी, शोधार्थी, अध्येता, पाठक सबैलाई धेरै खुराक प्रदान गर्छ।

कला किताबहरूको लेखन र प्रकाशनको अभावमा कलापारखी पाठकहरू अन्य भाषाका किताब खोजेर पढ्नुपर्ने बाध्यता थियो। कम्तीमा पनि नेपाली भाषामा लिखित कृतिको प्रकाशनले सीमित संख्यामै भए तापनि पठन संस्कृतिमा निश्चय नै टेवा पुगेको विश्वास गर्न सकिन्छ। यसका साथै कलाको विकसित रूप रहेको पाश्चात्य मुलुकका कलाकार र तिनका कलामाथि गरिएको जानकारीमूलक लेखनले ललितकलाको समष्टिगत पाटोमा धेरै कुराको बोध गराउँछ।

नवीन्द्रमान राजभण्डारीले साढे चार दशकदेखि देखापरेका अमूर्त शैलीमा काम गर्ने आधुनिक नेपाली चित्रकारहरूको पुस्तालाई प्रतिनिधित्व गर्नुहुन्छ। यस दृष्टिले उहाँ नेपाली कलामा स्थापित कलाकार हुनुका साथै कुशल कलालेखकका रूपमा पनि अग्रज सर्जक हुनुहुन्छ। उहाँले आफ्नो सिर्जना–यात्राको थालनी जलरङ माध्यममा दृश्यचित्रबाट गर्नुभयो। त्यसपछिका केही वर्ष तेलरङ र मिश्रित माध्यममा आधुनिक शैलीमा ‘फिगरेटिभ’ चित्रहरू प्रशस्तै रचना गर्नुभएको थियो। जुन चित्रहरूको संयुक्त प्रदर्शनीमा सहभागिता भए। तिनले आवश्यक चर्चा पनि पाए। कलाकार राजभण्डारीले विगत दुई दशकदेखि भने लगातार केही भिन्न प्रकृतिको कलाकर्म गर्दै आइरहनुभएको छ। ती चित्रहरू एक्रिलिक्स माध्यमद्वारा अमूर्त शैलीमा चहकिला रङ–विन्यास तथा अनियमित बुट्टेदार टेक्सचरको प्रयोग गर्दै कलामा नयाँपनको मिठास चखाउँदै आइरहनुभएको छ।

अहिले उहाँ वैदिक शब्दावली, जस्तै– ‘पञ्चतत्त्व’, ‘तमसोमा ज्योतिर्गमय’, ‘सर्वेभवन्तु सुखिनः’ आदि शीर्षकमा आधारित चित्र–शृङ्खलाहरू बनाउनमा तल्लीन हुनुहुन्छ। चित्रकार राजभण्डारी सिर्जनाका यी तमाम कामका अतिरिक्त सिर्जना कलेज अफ फाइन आर्टसमा कला इतिहास विषयक अध्यापनसमेत गर्नुहुन्छ। साथै सो कलेजको उहाँ सहायक प्रिन्सिपल पनि हुनुहुन्छ। कलामा सधैं नयाँपन र अलग मौलिकताको बीजारोपण गर्दै उहाँ सिर्जनामा तल्लीन रहँदै आउनुभएको छ।

कलाकार नवीन्द्रमान राजभण्डारीको कलाशैली र सिर्जनालाई बुझ्न, हेर्न र मनन महसुस गर्नका लागि प्रदर्शनीमा राखिएका दुई थान कलाकृतिहरू नै काफी छन्। अनि कलामा मस्तले आनन्दित भएर अनेकअनेक कल्पना–गंगामा सयर गर्नका लागि, असत्यबाट सधैं सत्यको मार्गमा हिँड्नका लागि, अन्धकारबाट उज्यालोतिर लम्किनका लागि र जीवन सधैं चलायमान अर्थात् गतिशील वा भनौं सिर्जनशील कर्महरूमा तल्लीन रहिरहनका लागि ‘तमसोमा ज्योतिर्गमय’ समय सान्दर्भिक सिर्जना लाग्छ ।

शान्त, सुन्दर र सौम्य कलाकर्मी, सिर्जनधर्मी मनहरूसँगको भेट, भलाकुसारी कलाकृति जत्तिकै सौन्दर्यले ओतप्रोत रहेको महसुस गर्न सकिन्छ। सम्बन्धको यो क्रमागत सिलसिलामा विराम लाग्नु होइन, भेटाइ, बोलाइ वा आपसी संवाद र संलापको मैत्रीपूर्ण क्रम कहिल्यै भङ्ग हुनु हुँदैन।

वास्तवमा यथार्थ पनि यही हो किनभने गत हप्ता मात्रै समापन भएको सो आर्ट फेस्टिवलमा नेपाली ललितकलाका स्वनामधन्य कलाकारहरूका प्रतिनिधिमूलक कलाकृतिहरूको सामूहिक प्रदर्शनी थियो। जसले नेपाली कलाको पछिल्लो सिर्जनात्मक मौलिकतालाई सार्वजनिक गरेको स्पष्ट झल्किन्थ्यो।

सोही प्रदर्शनीमा कलाकार नवीन्द्रमान राजभण्डारीको कला–शृङ्खलाका क्यानभास चित्रहरू समकालीन नेपाली कलाको प्रतिनिधि सिर्जना हुन्। जहाँ कलाकारले ‘तमसोमा ज्योतिर्गमय’का शाश्वत भाव–भङ्गीलाई रङका प्रभावकारी गतिका साथ अत्यन्त सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ। यी चित्र–शृङ्खलाका पृष्ठभूमितिर नियाल्दा यिनमा शास्त्रीय मूल्यमान्यताका विम्बहरू आधुनिक समयका दस्ताबेज बनेर प्रस्तुत भएका छन्।

 

यसरी उहाँका चित्र–शृङ्खलाका यी सुन्दर र मौलिक कलाकृतिहरू परम्परा र आधुनिकको सम्मिश्रणमा तर बेग्लै कलात्मक उचाइको यात्रामा अविराम हिँडिरहेका छन्। यो हिँडाइको गति एकप्रकारले नेपाली कलाको सिर्जनात्मक कर्मको फड्को हो भन्दा अतिशयोक्ति हुँदैन। 

प्रकाशित: १२ आश्विन २०८१ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App