१६ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

युवराज नयाँघरेको उन्नाइसाैं कृति ‘आगोको बीउ’ लोकार्पण

वरिष्ठ निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको उन्नाइसाैं कृति ‘आगोको बीउ’ निबन्धसङ्ग्रह लोकार्पण भएको छ।

वरिष्ठ आख्यानकार, निबन्धकार, कवि तथा समालोचक कृष्ण धारावासीले नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त कृति लोकार्पण गरेका हुन्।

पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथिसमेत रहेका धरावासीले आफूलाई सबैभन्दा बढी मनपर्ने विधा नै निबन्ध रहेको र ‘आगोको बीउ’ पढदा आफूलाई एकदमै आनन्द महसुस भएको बताए।

निबन्धकार नयाँघरेलाई लेखन यात्रामा निरन्तर हिंड्न र यस्ता कृति सिर्जना गरिरहन सुझाव दिंदै उनले भने, ‘साँच्चै नै उहाँको लेखनमा जादु छ। उहाँ समसामयिक विषय जस्ताको त्यस्तै लेख्नुहुन्छ। एकपल्ट सबैले पढ्नै पर्ने निबन्ध आगोको बीउ र नयाँघरेजीलाई बधाई।’

कृतिकाे टिप्पणी गर्दै आख्यानकार तथा निबन्धकार अनिता कोइरालाले कृतिको नाम आगोको बीउ भए पनि पुस्तकभरि यो शब्द बिम्वको रूपमा प्रयोग भएको बताइन्।

यस्तै कवि,आख्यानकार तथा समालोचक भारती न्यौपानेले नयाँघरेका निबन्धहरूमा विचारको बिस्कुन देख्न सकिने भन्दै यो निबन्ध पढिसकेपछि सारा संसारमा आगोको बीउ सनसनी फैलिने बताइन्।

पुस्तकमा भूमिका लेखनसमेत गरेकी निबन्धकार तथा समालोचक कुमारी लामाले आफूलाई यो कृति अत्याधिक मन परेर नै भूमिका लेखेको बताइन्।

‘जीवन र मृत्युको दोसाँधबाट अगाडि बढेका तथा अनुभव, अनुभूति र ज्ञानले खारिएका दार्शनिक चेतानायुक्त कुराहरू समेटिएको निबन्धकृति आगोको बिउ हो’ उनले भनिन्।

यस्तै निबन्धकार तथा समालोचक ज्ञानु अधिकारीले ‘आगोको बीउ’ शीर्षकले नै तरंगित पार्ने बताउँदै यसले मानवभित्र रहेको संवेदनालाई संयमित बनाउने बताइन्।

कार्यक्रममा बोल्दै कृतिकार नयाँघरेले आफू निबन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने बताए। उनले भने, ‘निबन्ध मेरा लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी हो। हिंड्दा आवाज आउँछ त्यो आवाज मेरो नियात्राका बान्की हुन् भने पुग्ने गन्तव्य मेरो निबन्धको आधार हो।’

२०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’ मा मदन पुरस्कार पाएका उनका यसअघि नियात्रासंग्रह ९ र निबन्धसंग्रह १०  आएका छन्। ‘आगोको बीउ’ कृतिमा आत्मपरक २६  निबन्ध समावेश गरिएको छ।

निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो। आफूलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रूपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन्।

प्रकाशित: ११ आश्विन २०८१ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App