१) तिम्रो सहर
तिम्रो सहरभन्दा मलाई
मेरै गाउँ ठिक लाग्छ
यस सहरमा त म
मालिक र व्यापारीको घर देख्छु
सोझालाई भजाएर खाएको भेट्छु।
मेरो गाउँमा
बिरामीले खाने दवाईलाई
तिम्रो सहरमा
युवायुवतीले बिहानै खाएको देख्छु
आफ्नो हात धारिलो हतियारले रेट्ने
हिंस्रक मान्छे देख्छु।
गाउँमा पानी पिउन दिँदा पुण्य हुन्छ भन्थे
दही र मोही बेच्न पाप ठान्थे
तिम्रो सहरमा व्यापार देख्छु
पैसाबिना दिसापिसाब गर्न नपाइने
तिम्रो सहरमा
अपार सास्ती भोग्छु
तिम्रो सहरमा मन नभएका
मानवरुपी दानव देख्छु
बिनापैसा बाँच्न गाह्रो
आमाबाउभन्दा उच्च
पैसा ठान्ने भेट्छु
आफ्नै नामको घरमा बस्दा
छोराबुहारीलाई भाडा तिरेको हेर्छु
माता देवता हुन्
पिता देवता हुन्
म गाउँमा सुन्थेँ
तिम्रो सहरमा त छोरासँग बोल्दा पनि
बुहारीलाई सोधेको सुन्छु
संस्कार हराएको
मानवता हराएको
तिम्रो सहरमा
मान्छेभित्र मान्छे मार्ने विषाक्त कीटाणु भेट्छु
बागमती, बिष्णुमती जस्ता
पवित्र गङ्गा
र तिनका कथामा
नाली बगेको देख्छु
ईश्वरकै सन्तान मानिसले
संस्कारहीन विचारले
तिम्रो सहरलाई कुसंस्कृत बनाएको देख्छु।
२) उज्यालो
मैले
ज्योतिको निमित्त
मैनको साहारा लिएँ।
थाहा छ,
मैन पग्लिएर सकिन्छ
अनि, अँध्यारो निश्चित छ।
समयसमयमा दियोभित्र तेल थपेझैँ
मैन थपे पनि
शिखा छउन्जेल मैन बल्छ
आफू बल्दै
वरिपरि ज्योति छर्छ
मैन र शिखा छउन्जेल
उज्यालो निश्चित छ।
कुन वेला मैन छाडेर
शिखा खरानी हुने हो
थाहा छैन
कुन वेला मैनले छाड्ने हो
त्यो पनि थाहा छैन
सकिनु नै मुक्ति होइन
मुक्ति मैन छउन्जल
मुक्ति शिखा छउन्जेल
हुनै सक्दैन
त्यसैले मृत्यु हार होइन
मृत्यु जित होइन
मृत्यु मुक्ति पनि होइन
मैनको जीवन
प्रकाशसँग छ
व्रिmया र कीर्तिसँग छ
बनेपछि बिग्रन्छ
बनेको बिग्रनका लागि हो
जीवन छउन्जेल उज्यालो दिनबनेको हो
यही बन्नुको कर्म हो।
मैनको सहारा शिखा
शिखाको सहारा मैन
उद्देश्य दुवैको प्रकाशित गर्ने
आफू सकिएर उज्यालो बनाउने
साथ दिने पनि सकिन्छन्
साथ पाउने पनि सकिन्छन्
सकिएको मैन मात्र होइन
शिखा पनि हो
शिखा मात्र होइन
मैन पनि हो
त्यसैले मैन बनेर जलाउने
शिखा बनेर जल्ने
दुवैको एउटै चाहना छ
चारैतिर उज्यालो
वरपर उज्यालो
आफू बाँचुन्जेल उज्यालो
अरु केही आशा छैन
बस ! अहिले जिउँदो छु
दिने प्रयासमा छु उज्यालो।
३) मलाई चाहिँदैन
नदेखेको स्वर्ग जान
टिकट चाहिंदैन
टिकटका लागि मलाई
पैसा चाहिँदैन
म यो देशको हुँ
बाँच्नलाई रोजगार चाहिन्छ
मेरो श्रमको बदला
बिहानबेलुकी खान
अन्न चाहिन्छ
गर्मी, जाडो र वर्षा थेग्न सक्ने
लुगा चाहिन्छ
थाक्दा आराम गर्न
सपना नबिथोलिने गरी निदाउन
एउटा ओत लाग्ने
छाप्रो चाहिन्छ
घामपानीको शरीर
उपचार गराउने
अस्पताल चाहिन्छ
सन्तान मेरा पनि छन्
तिनलाई बचाउने
शिक्षा चाहिन्छ
अलिकति परिवारकै मनोरञ्जनका लागि
नाच्ने, गाउने र भुल्ने संसार चाहिन्छ
यत्ति भए पुग्छ
मलाई पैसा चाहिँदैन।
तिम्रो धनको महल चाहिन्न
किनेर ल्याएको
खुसी चाहिन्न
सापटी लिएको
सुख चाहिंदैन
जन्मेपछि मर्नुपर्छ
मरेपछि मेरो पूजाका लागि
धन चाहिंदैन
धन साधन हो, साध्य होइन
चराचुरूङ्गी, जीवजन्तु,
वनस्पतिलाई जस्तै
खुला आकाश,
अलिकति हावा,
थोरै पानी,
जिउ तातो बनाउने
प्रकाश भए पुग्छ
स्वर्ग जाने टिकट किन्न
मेरा सन्तानले
धर्तीमा बसी बाटो बनाइदिन
अनि तर्पण दिएर स्वर्ग पु¥याउन
ज्याला दिन धन चाहिंदैन
म प्रकृतिको अवतार भएकाले
यही प्रकृतिमा बाँच्न
मेरै अधिकार भए पुग्छ
मलाई तिमीले बकसमा दिएको
दया र सहानुभूतिको दान चाहिंदैन
बस ! बाँच्न पाए पुग्यो
मलाई तिम्रो धन चाहिंदैन।
४) भगवान्
कवि हौ, तिमी!
तिमीले भगवान् मरे भन्न पाउँदैनौ
मलाई आशामा बचाउने
भोलिका लागि बाँच्न
धैर्य गर्न सिकाउने
अमूर्त, अदृश्य, अजर,
अमर छन् भगवान्
मेरा आस्थाका भगवान्
तिम्रो स्वार्थका लागि मरे
भन्न पाउन्नौ
तिमीले देखेनौ,
तिम्रा पुर्खाले देखेनन् भनी
अहं प्रस्तुत गरी
मेरो आस्था लडाउन
विचारका तर्क दिई
सङ्गठनले आक्रमण गर्न
एक छाक खान
एक धरो लाउन
एकछिन सहानुभूति बेचेर
मेरो जन्मजात आस्थासँग
खेल्न पाउन्नौ
तिमीले मेरो आस्थाको भगवान्
मरे भन्न पाउन्नौ
मेरा भगवान् अविनाशी छन्
मेरो सास फेराइमा छन्
मेरा काममा छन्
मैले तिमीलाई हेर्ने
दृष्टिकोणमा छन्
मैले तिमीलाई गर्ने गरेको
सत्कारमा छन्
यो आकाश, धर्ती, हावा,
पानी प्रकृति विज्ञान हो,
यी भूगोल हुन्
यसमा भगवान् भए देखाऊ भनेर
चुनौती दिन नआऊ
मेरो आस्थामा बनेको
मलाई विपनामा कर्म, र
सपनामा हौसला दिने भगवान्
मरे भन्न नआऊ।
म मान्छे हुँ
मानवता मेरो धर्म हो
म मान्छे हुँ
मेरा कर्म देवकर्म हुन्
म मान्छे हुँ
मेरो अन्तप्रेरणा भगवान् हुन्
म दुःखी भएको बेला
प्रेरणा बन्ने मेरो आत्मा
मेरो भगवान् हो।
प्रकृतिको पूजक म
म भगवान्मा विश्वास राख्छु
मेरो विश्वासमा आँच दिई
मलाई बाँच्न नदिन
भगवान् मरिसके भन्न
हे कविरूपी रचनाकार
भगवान् मरे भनी
मेरो भावनासँग
खेल्न नआऊ।
५) मेरो देश महान् छ
मेरो देश सबैभन्दा माथि छ
सगरमाथा यसको साक्षी छ
पराधीन नभएको इतिहास
प्रमाण छ
समुद्रको शिर हो मेरो देश
यो सबैभन्दा माथि छ।
मेरो देश नेपालले
गोपाल, किराँत, लिच्छविको
संस्कृति बोकेको छ
मल्ल र शाह वंशको समाज छ
शिवले दिएको कल्याण छ
सीताले सिकाएको मर्यादा छ
गौतम बुद्धले बनाएको
शान्ति छ
संसारलाई मानवताको
इतिहास सिकाउने
प्रकृतिभन्दा माथि कोही छैन
प्रकृति बचाउँदा हामी बाँच्छौं भनी
पूजालाई संरक्षण मान्न सिकाउने
मेरो देश विचारमा माथि छ
हो, मेरो देशमा
बहुदलले बहुलाएका,
गणतन्त्रका साथ
गिद्ध र हुँडार बनेका
लुछ्नेहरूको जमात छ
मेरो देशले वर्तमानमा
चित्कार भोगेको छ
यसलाई हामी मिलाउँछौं
यो मेरो घाउ हो
मेरो घाउ निको पार्न
बाहिरी औषधि
जत्ति लगाए पनि
आत्मबल मेरै चाहिन्छ
म त्यही बल उमार्दै छु
मेरो देश बनाउने
मेरै देशमा स्रोत र साधन छन्
मेरो देश बनाउन
मेरै देशका कर्मी छन्
मैले मेरो देश बनाउन
मेरै मनलाई आह्वान
गरिरहेको छु
हातमा लड्डु लिएर
मेरो देश माग्न नखोज
म यही देशका लागि
एक्लै भए पनि लडिरहेछु।
म देशका लागि सिकार खेल्न सक्छु
म देशका लागि रगत दिन सक्छु
म देशका लागि जाग्न सक्छु
म देशका लागि पाउ परेर
जगाउन पनि सक्छु
मेरै देशलाई घाउ बनाएर
पिप बनेका पराधीनहरूलाई
निचोरेर फाल्न पनि सक्छु।
मलाई घाउ निचोरेर
आफैंलाई दुःख दिने
मन नभएर हो
घाउ सुकाएर
औषधि गर्न खोजेको
मबाट मलाई छुटाउन नखोजेको
तर सुसङ्गतिका लागि
धेरैको भलाइका लागि
शरीरको मासु झिकेर
फाल्न सक्छु
म मेरो देशका लागि
गिद्ध र हुँडारहरूसँग लड्न
शिव रूप छाडेर रौद्र रूप लिन सक्छु
म सरस्वती, लक्ष्मी, सन्तोषीका लागि
काली बन्न सक्छु।
सचेत बन
मबाट
सहनशीलता तोड्न नखोज
शान्ति भत्काउन नखोज
सिंहको सन्तान सिंह हुन्छ
स्याल हुँदैन
माटाको माया
स्वावलम्बी हुनुमा छ।
मलाई नजिस्क्याऊ
मेरो देश शिरमा छ
यहीँको माटामा छ
धर्म र संस्कृतिमा छ
यसलाई भत्काउन नखोज
बिसाएको मेरो हतियार
झिक्न लगाउन नखोज
देशका लागि मेरो अहम्
निदाएको छैन
मलाई लाछी नसम्झ।
(कवि पुष्कर खड्काकाे ‘हराएकाे दिन’ कवितासंग्रहमा सङगृहीत।)
प्रकाशित: ८ आश्विन २०८१ ११:२४ मंगलबार