४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

अब डेउडा खेल्ने छैनन् बोगटी!

अग्लो ज्यान, घोप्टे जुँगा, आँखामा चस्मा र भादगाउँले टोपी पहिरिएका एक वृद्ध जो सुदूरपश्चिममा हुने हरेक सांस्कृतिक कार्यक्रममा अग्रभागमा दोहोरी डेउडामा जमेका देखिन्थे। कैलाली, कञ्चनपुरमा हुने डेउडा प्रतियोगिता होस् या दोहोरी डेउडा खेलमा एकतर्फको गीतेरु भई सवालजवाफ फर्काउने कार्यमा अग्र भागमा हुन्थे चर्चित डेउडिया दलबहादुर बोगटी। हो, उनै डेउडिया बोगटी अब कुनै पनि डेउडा खेलमा देखिने छैनन्।

डेउडा प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा वरिष्ठ डेउडा गायकका रूपमा सुदूरपश्चिममै परिचित नाम हो दलबहादुर बोगटी। धनगढीको मटियारीस्थित केदारेश्वर धाममा कपल्लेकी जाँतमा डेउडिया भएर भदौ ३१ बेलुका डेउडा खेल्न गएका बोगटी साइकल चढेर राति घर फर्कने बेलामा हाइस गाडीले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको विहीबार दिउँसो १ बजे मृत्यु भयो।

नागरिककर्मीसँग केही समय अगाडिको गफगाफमा उनले डेउडा आफ्नो जीवन भएको बताएका थिए। डेउडा भनेपछि बोगटीलाई केही चाहिँदैन थ्यो। उनी डेउडा खेलमा जमेपछि खाना खान बिर्सन्थे। उनले नागरिककर्मीसँगको भेटमा पुरानो कुरा स्मरण गर्दै भनेका थे, ‘मैले दुई दिन तीन रात लगातार दोहोरी डेउडा खेले, त्यो खेलमा खाना खान जाँदा प्रतिष्पर्धी महिला कलाकारसँग हार्नुपर्ने भएकाले भुटेका भट्ट र मकै गोजीमा राखेर सवाल फर्र्काउँदै भेट भरेको थिएँ।’

धनगढीमा गौरा पर्वको समयमा डेउडा खेल सुरु गराउने पनि बोगटी नै पहिलो व्यक्ति हुन्। धनगढीमा गौराको समयमा डेउडा खेल सुरु हुने बेला उनी प्रहरी नायव निरीक्षकमा हसुलिया इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। त्यही समयमा (२०५२) धनगढीस्थित घर आएका बेला नगरपालिका अगाडिको खाली जमिनमा तत्कालीन सेती अञ्चल प्रहरी गुल्मबाट सादा पोशाकका प्रहरीलाई निम्त्याएर डेउडा खेल्न लगाएको उनले हामीसँग स्मरण सुनाएका थिए।

आफूले डेउडाको प्रचारप्रसार र डेउडामा नयाँ पिढीलाई आकर्षण गराउन त्यो बेला गौरामा डेउडाको सुरुवात गराएको उनले बताएका थिए। २०५२ पछि उनकै नेतृत्वमा पछिल्ला वर्षहरूमा गौरामा धनगढीमा विशाल डेउडा प्रतियोगिता हुँदै आएको हो। ‘धनगढीमा डेउडा खेलको सुरुवात गराएँ,’ उनीसँगको भेटमा भनेका थिए,‘त्यसपछिका वर्षहरूमा त यहाँका स्थानीय आफैं जुटेर डेउडा खेल्न थाले।’ खेलमा एकतर्फबाट गीत गाउने दलबहादुर नै हुन्थे।

दलबहादुरको डेउडा प्रवेशः

२०११ सालमा शिखर नगरपालिका–२, घङडा (मुडेगाउँ गाविस–९) डोटीमा जन्मेका बोगटी सुदूरपश्चिम प्रदेशमै चर्चित डेउडियाका रूपमा गनिएका व्यक्ति हुन्। किशोरावस्थाका दलबहादुर गाउँ माथिको डाँडोमा साथीभाइ जम्मा गर्थे। पल्लो गाउँका केटी साथीलाई निम्तो पठाउँथे,‘आज राति डेउडा खेल्न आउनू?’

उनको निम्तो कुनै किशोरीले नकार्दैन थिइन्। किशोरीहरू पनि दलबहादुरसँग डेउडामा दोहोरी खेल्न पाउँदा मक्ख पर्थे। पातलो र गोरो वर्णका दलबहादुरसँग उस्तै डेउडाका शब्द पनि मुखमै झुण्डिएका हुन्थे। र, पो किशोरी पनि उनीसँगै आकर्षित हुन्थिन्। त्यो समय मनोरञ्जनको कुनै साधन नै थिएन गाउँघरमा। मनोरञ्जनका लागि थियो त मेलापर्वमा मात्रै डेउडा। तर, किशोरावस्थाका केटाकेटीलाई भने बूढापाकाकै डेउडा हेरेरै चित्त बुझाउनुपर्थ्याे । किशोरहरू पनि बूढापाकाबाटै सिकेर गाउँमा ‘चोरी डेउडा’ घन्काउँथे। दलबहादुर साथीभाइलाई जम्मा पार्थे र पल्लो गाउँका केटी साथीलाई राति डेउडा खेल्ने निम्तो पठाउँथे। केटी साथीहरू पनि एक घरमा जम्मा हुन्थे र राति अभिभावकलाई जानकारीबिनै जंगल हुइँकिन्थे। वल्लो गाउँका केटा र पल्लो गाउँका केटी समूहबीच अभिभावकको आँखा छलेर रातभर गाउँ माथिको डाँडोमा ‘चोरी डेउडा’ घन्कन्थ्यो।

त्यो बेला केटा र केटीले दोहोरी डेउडा खेल्न वर्जित थियो। किशोरकिशोरी अभिभावकको आँखा छलेर डाँडामा गएर रातभर चोरी डेउडा खेल्थे। कुनै दिन अभिभावकले केटा र केटीबीच डेउडा खेलेको थाहा पाउनेबित्तिकै रिसाउँथे। चेलीबेटीलाई केटाहरूसँग डेउडा खेल्नु हुँदैन भनेर सम्झाउँथे। त्यो बेलाको चोरी डेउडादेखि अहिलेको प्रतियोगितासम्मको डेउडामा गीत गाउँदै आएका दलबहादुरले चोरी डेउडादेखि अहिलेको प्रतियोगितासम्म आइपुग्दा डेउडामा आकाश पातालको फरक आइसकेकोनागरिककर्मीसँग सुनाएका थिए।

अभिभावकको आँखा छलेर राति केटा र केटी समूहबीचको चोरी डेउडा खुबै रमाइलो लाग्ने गरेको अनुभव सुनाउँदै उनले भनेका थिए,‘मेरो जीवनमा डेउडाको रस त्यही चोरी डेउडाबाटै बसेको हो।’

गाउँमा त्यो बेला डेउडा गाउनेलाई हात जोडेर गाइदिन आग्रह गरिन्थ्यो।  

उमेर बढ्दै जान थालेपछि आर्थिक अवस्था सुधार्न भन्दै उनी १८ वर्षको उमेरमा नेपाल प्रहरीमा प्रवेश गरे। उनी प्रहरीमा रहँदा पनि फुर्सद पाउनेबित्तिकै मेलापातमा डेउडा घन्काइहाल्थे।

आफ्नो जीवनकालमा नेपाल प्रहरीको अनुशासनभित्र रहेर जति पदक जिते त्यो भन्दा बढी डेउडा प्रतियोगितामा भाग लिएर सम्मान र पुरस्कार प्राप्त गरे दलबहादुरले। डेउडा गाएरै उनले  सुदूरपश्चिमाञ्चल साहित्य समाजबाट प्रतिभा पुरस्कार, नेपाल भाषा संस्कृति सम्बद्र्धन समाजबाट सम्मानित, जिजिकोट सलेना सेवा समाज डोटीद्वारा सम्मानित तथा विभिन्न चलचित्रमा पनि उनले कलाकारको भूमिका निर्वाह गरेका थिए।

चलचित्रमा योगदान पु¥याएको भन्दै उनलाई गत असारमा चलचित्र विकास बोर्डले पनि सम्मानित गरेको थियो। उनी दुई दर्जन बढी साहित्य र संस्कृति सम्बन्धि संघसंस्थाबाट सम्मानित भइसकेका डेउडिया तथा चलचित्रकर्मी हुन्।

उनले डोटेली भाषाको गौरी, धन्यमाया जाल, नेपाली भाषी दुर्गा मल्ल, नशा एक लत र कोपिला सिरियल तथा दुई दर्जन बढी डेउडा गीतमा अभिनय गरेका थिए। प्रहरीमा रहेर ३२ वर्ष सेवा गरेका दलबहादुर अवकाशपछि पनि डेउडा क्षेत्रकै लागि रातदिन लागिरहेकै थिए।

बोगटीको निधनले सुदूरपश्चिमको कला, साहित्य, संगीत क्षेत्रमा अपूरणीय क्षति भएको डेउडा प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष प्रेम विवश चन्द बताउँछन्। स्वर्गीय बोगटीका  १०४ वर्षीय आमा, दुई पत्नी दुई छोरा र छोरी छन्।  

प्रकाशित: ४ आश्विन २०८१ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App