२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

‘बेनीको बजार...’ गीत सर्जक एवं गायिका मना छन्त्याललाई सम्मान

लोकप्रिय गीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ की रचनाकार एवं गायिका मना छन्त्याल श्रेष्ठलाई सदरमुकाम बेनीबजारमा शनिबार एक समारोहबिच सम्मान गरिएको छ।

सदरमुकाम बेनीबजारस्थित वीरेन्द्रचोक टोल विकास संस्थाले पाँच दशकअगाडि गीतसंगीतमार्फत बेनी बजार चिनाउन सफल भएको भन्दै टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ, निर्वतमान अअध्यक्ष दलप्रसाद श्रेष्ठले सम्मान गरेका थिए।

कार्यक्रममा टोलवासीको धेरैकाे उपस्थिति रहेको थियो। सम्मान कार्यक्रममा गायिका छन्त्यालले अहिलेसम्म गीतको लोकप्रियता देखेर उत्साहित भएको बताइन्।

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलोपटक सार्वजनिक भएको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो। रेडियो नेपालमा रेकर्ड भएपछि रेडियो नेपालबाट यो गीत त्यतिबेला निकै बज्यो। धेरैले मन पनि पराए।

गीत  संकलक टीकाबहादुर श्रेष्ठ र धर्मपत्नीसमेत रहेकी गायिका मना छन्त्याल श्रेष्ठको तस्बिर पेन्टिङसमेत गरी प्रचार–प्रसार गर्दै आएको टोल विकास संस्थाले जानकारी दिएकाे छ। संस्थाका अनुसार भविष्यमा टीकाबहादुरको सम्झनास्वरुप सालिकसमेत राख्ने योजना छ।

म्याग्दी नदी र कालीगण्डकीको संगमस्थलमा अवस्थित बेनीबजारले प्राकृतिक सुन्दरता र ऐतिहासिक दृष्टिकोणले लोकप्रियता जमाएको छ। गीतमार्फत देश र विदेशमा चिनिन पुगेको छ। म्याग्दी जेसिजले गीत सर्जक परिवारको अनुमति लिएर नयाँ प्रस्तुतिका साथ म्युजिक भिडियो पुनर्निर्माण गरेको छ।

प्रकाशित: २९ भाद्र २०८१ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App