अभिनेत्री तथा मोडल रजनी गुरुङको 'साँच्चै भन त' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। बुधबार उनको आफ्नै युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो।
'मंगली' उपनामले परिचित रजनीले यसपटक आफ्नै प्रस्तुति रहेको भिडियोमार्फत दर्शकमाझ उपस्थित भएकी हुन्। गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वरले थप सौन्दर्य प्रदान गरेको छ भने शिव हमालले शब्द र संगीत तयार पारेका छन्।
भिडियोमा रजनीसँगै कलाकार पल शाह र विजय पुनले अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी र निर्देशन मौसम हिमालीले गरेका हुन्।
रजनी गुरूङले यसअघि 'टलकजंग भर्सेस टुल्के', 'मट्टीमाला', 'साली कसको भेनाको', 'महाजात्रा' लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन्।
यस्तै, 'कहाँको साइनो', 'सोल्टी बजार' जस्ता चर्चित गीतमा पनि उनको अभिनय देख्न पाइन्छ। विशेष गरी, हास्य सिरियल 'मेरी बास्सै' मा 'मंगली' पात्रको भूमिकामा देखिँदै उनले दर्शकहरूबीच आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्।
रजनीले पहिलो पटक आफ्नै प्रस्तुति रहेको गीत ल्याउँदा उत्साहित भएको बताएकी छन्। "यो गीत फरक शैलीको भए पनि मौलिक छ, र दर्शकहरूले यसलाई मन पराउने विश्वास छ," उनले भनिन्।
कलाकारीताको लामो यात्रामा मंगलीको भूमिकामार्फत दर्शकहरूको मन जित्दै आएकी रजनीले यसपटकको भिडियो पनि सफल हुने अपेक्षा व्यक्त गरेकी छिन्।
प्रकाशित: २७ भाद्र २०८१ १६:३३ बिहीबार