श्रवण शक्ति नभएका अधिकांश व्यक्तिले समुचित प्रोत्साहन नपाउँदा आफ्नो प्रतिभा यत्तिकै खेर फालिरहेका हुन्छन्। सुजल बमले भने श्रवण शक्तिविहीन समुदायका लागि एउटा प्रेरणादायी उदाहरण पेस गरेकी छन्।
२०५८ साउन ६ गते डोटीको चनुकाँडामा जन्मिएकी सुजलले करिब तीन दर्जन म्युजिम भिडियोमा अभिनय गरेर सबैलाई चकित बनाएकी छन्। उनी अहिलेको भाषामा भन्दा ‘भाइरल’ कलाकार हुन्। उनी बिएड अध्ययनरत छिन्।
जन्मिएको ११ महिनासम्म ओछ्यानमा लडिरहेकी र कुनै प्रतिक्रिया नजनाएकी सुजललाई उपचारका लागि भारतको लखनउ पुर्याउँदा मात्र अभिभावकलाई थाहा भयो– उनी सुन्न सक्दिनन्। त्यही कारणले भविष्यमा उनलाई बोल्न पनि समस्या हुने आकलन परिवारले गर्यो। ‘अढाई वर्षको उमेरमा काठमाडौंमा जँचाउँदा हामी पक्का भयौं, हाम्री नानीले भविष्यमा बोल्न सक्दिनन्,’ सुजलका बुवा टेकबहादुर बम भन्छन्, ‘यसपछि भने म छोरीको विषयलाई लिएर गम्भीर भएँ।’
एक त छोरी, त्यसमाथि बोल्न र सुन्न नसक्ने हुँदा अहिलेको प्रतिस्पर्धात्मक समयमा कसरी अघि बढ्ली भन्ने चिन्ता थपिँदै जाँदा टेकबहादुरले डोटीकै बुडरमा रहेको विशेष शिक्षा विद्यालयमा सुजललाई भर्ना गरिदिए।
‘अहिलेको समयमा छोरीहरू शिक्षित भए भने उनीहरू आफ्नो खुट्टामा उभिन सक्छन् र शिक्षित आत्मविश्वासी छोरीहरूले नै अरूसँग प्रतिस्पर्धी हुन सक्छन्,’ टेक भन्छन्, ‘यही सोचेर राम्रो विद्यालयको खोजीमा लागें।’
छोरीले राम्रो पठनपाठनको अवसर पाओस् भनेर ६ वर्षको उमेरमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेस्थित विशेष शिक्षा स्कुलमा छोरीलाई भर्ना गरिदिएको उनी सुनाउँछन्।
डोटीका टेकबहादुरलाई सिन्धुपाल्चोक आउजाउ निकै सास्तीपूर्ण भयो। अझ राम्रो शिक्षाका लागि उनले काठमाडौंको केन्द्रीय बहिरा माविमा भर्ना गरिदिए। त्यही विद्यालयबाट उनले २०७६ सालमा बी प्लस ल्याएर एसइई उत्तीर्ण गरिन्।
अहिले उनी केन्द्रीय बहिरा क्याम्पस नक्सालमा बिएड तेस्रो वर्ष अध्ययनरत छिन्।एसइईपछि के गर्ने भन्ने चिन्ता सुजललाई थियो। उनलाई त्यो बेलासम्म पनि अभिनय आफ्नो रुचिको क्षेत्र हो भन्ने थाहा थिएन। एसइई सकिएकै दिन उनले मिस्टर एन्ड मिस एसइई २०१९ मा प्रतिस्पर्धा गर्ने सोचका साथ त्यसको पर्चा बोकेर बुवा टेकबहादुरलाई दिएकी थिइन्।
सुरुमा त टेकबहादुर छोरीको रहरका कारण चिन्तित भए तर श्रवण शक्ति नभएकै कारण उनले अवसर गुमाउनुहुन्न भन्ने सोचका कारण मिस एसइईका आयोजक आनन्द सिंहलाई फोन गरे। उता आनन्दले पनि यस किसिमको प्रतिस्पर्धी पहिलो पटक आएको भन्दै तुरुन्तै जवाफ दिन सकेनन्।
टेकबहादुरले भने, ‘श्रवण शक्तिविहीनलाई प्रतिस्पर्धीका रूपमा लिन मैले चुनौती दिएँ। त्यसलाई स्विकार्ने हिम्मत छ कि छैन त?’
यस्तो प्रश्नबाट चकित सिंहले एक साताको मन्थनपछि बमलाई फोन गरेर आफूले जीवनमै पहिलो पटक यस किसिमको चुनौती स्विकारेको बताए।
सुजलले यो प्रतिस्पर्धामा भाग लिइन् र उत्कृष्ट चारमा पर्न सफल भइन्। प्रतियोगितामा सुजलले मल्टिमिडिया अवार्ड, मोस्ट कन्फिडेन्ट अवार्ड, अर्गनाइजर्स च्वाइस अवार्ड मात्र हात पारिनन्, उनका पिता टेकबहादुरले पनि छोरीलाई हौस्याएको भन्दै ‘बेस्ट प्यारेन्ट्स अवार्ड’ पनि जिते।
यसपछि भने सुजलका दिन फिरे। उनलाई तत्कालै ‘झिमझिम परेली’ म्युजिक भिडियो खेल्ने प्रस्ताव आयो। माइकल चन्दद्वारा निर्देशित यो भिडियोको खासै चर्चा नभए पनि ‘बैनी झ्यालैमा...’ भने भाइरल बन्न पुग्यो। यो भिडियो अहिलेसम्म एक करोड ४० लाख पटक हेरिसकिएको छ। सो म्युजिक भिडियोको सफलताले सुजललाई त्यही बेला ‘कलेज लभ’ टेलिशृंखला खेल्ने प्रस्ताव आयो।
प्राइम टेलिभिजनबाट केही समय प्रसारित सो शृंखला बहिरा युवतीका सपना र आकांक्षाबारे भएकाले उनले सहजै अभिनय गर्न सकिन्। कोभिड १९ को बन्दाबन्दीपछि भने सो शृंखला बन्द नै रह्यो।
यतिबेला उनी सामाजिक सञ्जालमा बहिरा ‘इन्फ्लुएन्सियर’ बन्न पुगेकी छन्। टिकटकमा उनलाई ६ लाख ८३ हजारले पछ्याउँछन्। फेसबुकमा १ लाख २८ हजार, युट्युबमा ४५ हजार ५ सय र इन्स्टाग्राममा १४ हजारले ‘फलो’ गरेका छन्। उनको एउटा ठुलो ‘फ्यानबेस’का कारण युनिसेफ, एनसेलदेखि नेपाल सरकारका सन्देशमूलक भिडियोमा उनी बेलामौकामा देखा पर्ने गरेकी छन्।
२०७७ सालयता सुजलले मोडलिङ, म्युजिक भिडियो र विज्ञापनहरूमा अभिनय गरेयता घरको बोझ बन्नुपरेको छैन। कहाँकहाँ अवसर छन् भन्ने खोज्दै सुजलले त्यहीँत्यहीँ आफूलाई प्रस्तुत गर्ने गरेकी छन्। यस्तै खोजीका क्रममा २०७७ साउनमा ‘ला ग्राभिटिया ब्युटी कन्टेस्ट’मा सर्वोत्कृष्ट सातमा पर्न सफल भएकी थिइन्।
सुजल भन्छिन्, ‘कोभिडको बेला थियो, यत्तिकै बस्नुभन्दा कहाँकहाँ अवसर छन् भनी खोज्दा ला ग्राभिटिया देखें र अनलाइन अडिसन दिएँ। भारत र नेपालका प्रतिस्पर्धीहरूमा नेपालबाट म मात्र थिएँ। मैले त्यहाँ पनि स्पेसल रिकग्निसन अवार्ड पाएँ।’ मोडलमा हुनुपर्ने सामान्य उचाइमा उनी छैनन्। उनको आँखा सामान्य नेपालीको भन्दा फरक छ। उनका निला आँखाको प्रशंसा हुने गर्छ। ‘ला ग्राभिटिया’मा त उनलाई भारतीय आयोजकहरूले नेपालकी ऐश्वर्या रायसमेत भनिदिए। उनलाई त्यो तुलनाको खुसीभन्दा पनि प्रतिस्पर्धामा भाग लिँदा बढेको आत्मविश्वासप्रति बढी खुसी लागेको छ।
यही आत्मविश्वासले नै अहिले उनी बहिरा कलाकारका रूपमा स्थापित छिन्। उनको सक्रियताको मापन यसैबाट अनुमान गर्न सकिन्छ कि उनले हालसम्म १६ वटा विभिन्न संस्थाबाट सम्मानित भइसकेकी छन्। नौ वटा म्युजिक अवार्ड हात पारिसकेकी छन्। सुजल खुसी हुँदै भन्छिन्, ‘मान्छेले आफ्नो प्रतिभा र कमजोरी दुवै चिन्नुपर्छ र त्यसैलाई बेच्न सक्नुपर्छ। आफ्नो कमजोरीलाई राम्रोसँग व्यवस्थापन गर्न सकेकै कारण अरूले प्राप्त गर्न नसकेको सफलता हात पारें।’
हुन पनि उनलाई २०७८ सालमा नै नेपाल सरकारले जनश्री सेवा पञ्चम श्रेणीको पदक दिएको छ। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट सो पदक पाउनु आफ्नो सबैभन्दा उच्च खुसीको क्षण भएको उनी बताउँछिन्।
यतिबेला उनी मिस युनिभर्स नेपाल २०२४ मा प्रतियोगीका रूपमा छिन्। टप ४५ बाट छानिदै उनी यतिबेला टप २२ बनेकी छन्। यो प्रतियोगितामा सहभागी हुनुको मुख्य कारणचाहिँ यहाँबाट आफू अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न सक्छु कि भन्ने आशा र अपेक्षा हो। अघिल्लो वर्ष यसै मञ्चबाट प्लस साइजकी जेन दीपिका गेरेटले विश्वव्यापी चर्चा बटुलेकी थिइन्।
‘यो प्रतिस्पर्धामा भाग लिन बोल्नुपर्दैन, यहाँ न्यूनतम उचाइको तनाव छैन, यो प्रतिस्पर्धामा विवाहितदेखि अविवाहित सबैले प्रतिभा देखाउने मौका पाउँछन्,’ सुजल भन्छिन्, ‘त्यसैले म यसमा सहभागी भएकी हुँ। पहिलोपटक एक जना बहिरा व्यक्तिको सहभागितालाई आयोजकहरूले पनि सकारात्मक रूपमा लिइरहनुभएकाले प्रतिस्पर्धामा मैले ठुलो सफलताको अपेक्षा गरेकी छु।’
सुजलका पिता टेकबहादुर भन्छन्, ‘छोरीको अभिनय र मोडलिङप्रतिको मोह देखेपछि मैले सक्दो सहयोग गरें। सहयोगअनुसार उनले सफलता पनि हात पारिन्। र, सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ उनलाई देखेर धेरै अपांगता भएका वा बहिराहरूले पनि बाटो देख्न सक्छन्। आज सुजलको सफलता कुनै एक व्यक्तिको सफलता मात्र नभएर श्रवण शक्तिविहीन बालबालिकाहरूको ‘सपना देख्ने र पूरा गर्ने आन्दोलन’ पनि बन्न पुगेको छ। यसमा मलाई सन्तोष लागेको छ।’
प्रकाशित: १७ भाद्र २०८१ ०६:४८ सोमबार