२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

फिल्म 'पूर्ण बहादुरको सारङ्गी' को टिजरमा बुवा र छोराको बिछोडको पीडा

आगामी कात्तिक १५ (लक्ष्मीपूजा) लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म 'पूर्ण बहादुरको सारङ्गी' को टिजर सार्वजनिक भएको छ।

टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन्। गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडको पीडा टिजरमा समेटिएको छ।

बुबाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ।

प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै सुरु हुन्छ। त्यसपछि विजय आफूले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन्। आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्‍याउने गरेको, अरूको घरघरमा पुगेर सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर गएर सफलता पाओस् भनेर कल्पना गरेको सम्झिन्छिन्।

प्रकाशले सहरबाट फर्किएपछि बुवाले छोडेर गएर सारङ्गी जतनले  खोल्दै बुवाले काँधमा बोकेर हिँड्ने गरेको सम्झिन्छन्। अरूको अगाडि शीर झुकाउनु नपर्ने गरी पढाउने बुवाले गरेको प्रतिबद्धतासँगै टिजर सकिन्छ।

एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धि समेटेको छ।

'पूर्णबहादुरको सारङ्गी एक विपन्न बुवाको आफ्नो सन्तान प्रतिको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो। यही आउँदो बुवाको मुख हेर्ने दिनलाई मध्यनजर गर्दै हामीले तमाम बुवाहरूलाई उहाँहरूको सङ्घर्षलाई समर्पित गर्दै हामीले यो सानो टिजर सार्वजनिक गरेका हौं,' निर्माता विनोद पौडेलले भने।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिस बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ।

सेभेन सिस सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन्।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन्।

प्रकाशित: १६ भाद्र २०८१ १८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App