लघुकथा समाज,नेपालले ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ साहित्यकार आरआर चौलागाईलाई प्रदान गरेको छ।
समाजले लघुकथा दिवसकाे अवसरमा सर्वनाम नाट्यघरमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नाटककार अशेष मल्ल, समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले चौलागाईलाई उक्त सम्मान अर्पण गरेका थिए।
यसैगरी नगद दश हजार रकम स्व.कथाकार पूर्णप्रसाद ब्रम्हाणका सुपुत्र उपप्राध्यापक दिनेश शर्मा तथा सुपुत्री निर्मला शर्माले चौलागाईलाई अर्पण गरेका थिए।
कार्यक्रममा सम्मानित स्रष्टाले साहित्यिक लेखनीका अनुभव सुनाउँदै माथिको आदेश शीर्षककाे लघुकथा वाचन गरेका थिए।
प्रमुख अतिथि वरिष्ठ नाटककार मल्लले सम्मानित स्रष्टालाई बधाई दिंदै आफ्नाे लघुकथा लेखन यात्राकाे अनुभव सुनाएका थिए।
समाजका संस्थापक अध्यक्ष ‘रोदन’ले आफ्नै पालामा स्व. ब्रम्हाणको नाममा पुरस्कार र सम्मानको सुरुवात गर्ने अवसर पाएकाे खुसी पाेखेका थिए। उनले लघुकथा लेखनमा आएका विकृत पक्ष औल्याउँदै सबैले सुधार्नुपर्ने बताएका थिए।
समाजका अध्यक्ष गोपाल अश्ककाे अध्यक्षता र सचिव श्रीबाबु कार्कीकाे सञ्चालनमा भएकाे उक्त कार्यक्रममा साहित्यकार नवराज रिजालले सम्मानित स्रष्टाकाे संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।
त्यस्तै कार्य समिति सदस्य राजेश खनालले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए। त्यस्तै कार्यक्रममा लघुकथा केन्द्रकी अध्यक्ष लता केसी, खेमराज पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सर्वनामको सहआयोजनामा भएको उक्त कार्यक्रममा सम्मानित स्रष्टा चौलागाईकाे “यमराजको फैसला र दाइजो लघुकथामाथि सर्वनाम परिवारले नाटक मञ्चन गरेकाे थियाे। राज शाहले उक्त दुवै नाटककाे निर्देशन गरेका थिए।
लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको २०६५ सालमा ‘विघटनको तयारीमा’ लघुकथासङ्ग्रह प्रकाशित छ। उनका विभिन्न पत्रपत्रिकाका, लघुकथाका फेसबुक पेजहरूमा थुप्रै लघुकथा प्रकाशित छन्। उनका नौलो विहानी कवितासंग्रह, विघठनको तयारी लघुकथा लगायत ११ कृति प्रकाशित छन्।
प्रकाशित: ६ भाद्र २०८१ ११:५४ बिहीबार





