एउटी युवतीका लागि दुलही हुन पाउने दिनको कल्पनामा जसरी मन रमाएको हुन्छ, ठीक त्यसरी नै मेरो मन भने रमाएको थिएन।
श्रीमानको घरमा पुगेर टेक्ने पाइलाको तरंग मनमा पालेकी त थिएँ तर आफ्नो जन्मघर छोड्नु पर्दाको पीडा पनि सँगसगै बोकिरहेकी थिएँ। त्यही भएर होला, इन्गेजमेन्टको दिनमा म जति उत्साहित थिएँ, बिहेको दिन नजिकिंदै गर्दा बिस्तारै त्यो मेरो उत्साह खिइँदै गएको थियो। हुँदा हुँदै बिहेको दिनमा आएर त्यो उत्साह सॉंच्चिकै बिलाएर गयो। बिहेको दिनभर त नरमाइलो लागिरहेको थियो। अझ सॉंझ हुने बेला खास गरी मलाई अन्माउने बेला बुवाआमाका आँखामा उर्लेको बाढी देखेपछि त झन् आफूलाई सम्हाल्नै सकिन। अलिकति बचाएर राखेको विवाहको उत्साहलाई बाआमासँगको बिछोडको पीडाले सर्लक्क निल्यो। बाबाआमा र मेरा आँखाबाट सायद पहिलोचोटि त्यति धेरे आँसु त्यही दिनमा झरे।
पहिलो दिन स्कुल जॉंदा जसरी मैले आमालाई समातेर छोड्न सकेकी थिएन, त्यसरी नै मैले आमालाई छोडिनै सकिन। मलाई याद छ, बाबाले मलाई हातमा डोराएर पहिलो दिन स्कूल लागेर छोडनुभएको थियो, बाबा र म दुवै रोएका थियौ, स्कूल छोडेर बाबा रुँदै फर्किनुभएको थियो। आज त्यसरी नै बाबाले हातमा डोराएर श्रीमानसँग कारमा छोडेर फर्किदा उहाँका आँखामा नारायणी बगिरहेको थियो।
कर्म घरमा आइसकेपछि पनि मेरो मन थमिसकेको थिएन। बिहेको खुशी र बाआमासँगको बिछोडको पीडाको तराजुमा म कहिले तल कहिले माथि भैरहे। म चंगा बनेर यो नयॉं घरमा आएकी त थिए होला तर त्यसको लट्टाई अझै मेरो पुरानै घरमा थियो। हिजोसम्म मैले आफ्नो भन्ने गरेको मेरो घर, एकैदिनमा विशेषण थपिएर माइती घर बनेको थियो। किन हो कुन्नि मेरो मन यति चॉंडै यसलाई स्विकार्न तयार भएन, मलाई मात्र त्यस्तो हो कि हरेक नवदुलहीलाई यस्तै हुन्छ कुन्नि? मलाई जानन मन लागेर आयो।
विशेष गरी मलाई अन्माएको घर जसमा मेरो पनि शारीरिक र मानसिक श्रमको ठूलो हिस्सा परेको छ अनि मेरो कोठा, जुन मेरो प्रिय साथी थियो, जहाँ बसेर मैले जिन्दगीका कोमल सपनाहरू देखेकी थिएँ, मेरो ओछ्यान जहाँ मैले पीडाका थकान मेटाउँथे आज हेर्दा हेर्दै सबै मबाट टाढा पुगे। बाआमा जस्तै मलाई यी सबै कुरा उत्तिकै माया लागेर आयो। जतिखेर पनि मेरो उही आँगन, घर अनि मेरा यादहरू नोस्टाल्जिक बनेर सताइरह्यो।
हिजो जस्तै लाग्छ हामीले त्यो घर बनाएको। बुवाले नयाँ घर बनाउने भनेर भन्नुभो। घर त हाम्रो पुरानो मोडलको भए पनि नराम्रो थिएन। तर उतिबेला हाम्रो छरछिमेकमा पक्की घर बनाउने लहर चलेको थियो र त्यस लहरमा हामी पनि उभिने भएका थियौं। त्यतिखेर म सात कक्षामा पढ्थे। म घरको जेठो सन्तान, बाबाले जुनसुकै नयाँ काम या निर्णय गर्दा आमासँगै मसँग पनि सल्लाह गर्नुहुन्थ्यो। भाइ अलिक सानै थियो। नयाँ घर बनाउने कुरामा पनि हामी सबैको सल्लाह भयो। त्यतिबेला इन्जिनियरबाट घरको नक्सा बनाउने चलन थिएन। एकदिन बुवा, आमा र म बसेर घरको नक्सा बनायौं।
मैले भनेअनुसारको घरको नक्सा तयार भयो र ठेकदारलाई देखायौं। ठेकदारले नक्सामा केही थपघट गरेपछि हाम्रो घरमा जग खन्ने काम शुरू भयो। हाम्रो पुरानो घरमा भाइको र मेरो कोठा एउटै थियो। त्यतिबेला मलाई सबैभन्दा खुसी त यो अर्थमा भयौं कि नयाँ बन्ने घरमा भाइको र मेरो कोठा अलगअलग हुने भो। मेरो पनि आफ्नै कोठा हुने भो।
घर बनाउन पूरा एक वर्ष लागेको थियो। बुवा जागीरमा व्यस्त र भाइ सानो भएकाले घरको हिसाबकिताव आमा र मैले राख्थ्यौ। घर तयार हुँदा म ठुलो स्कुल अर्थात् मावि पढ्ने भैसकेकी थिएँ। घरमा कुन सामान राख्ने, कहॉं राख्ने, कस्तो पर्दा राख्ने, सोफा कस्तो राख्ने, रंग कस्तो लगाऊने, सबैमा मैले नै सल्लाह दिन्थें।
भाइ मभन्दा पॉंच वर्ष कान्छो थियो। उसलाई घर बनाउँदा केके भयो केही थाहा थिएन। खाली बालुवा र गिट्टी खेलाएर बस्थ्यो। बाबा र मैले पाइपबाट पिचिर्र पारेर बन्दै गरेको घरको भित्तामा पानी छ्याप्थ्यौं। भाइ त्यसमा म गर्छु भन्दै अगाडि बढ्थ्यो। तर बाबा सानो छ भनेर उसलाई दिनु हुन्नथ्यो। अनि ऊ हामीसँग रिसाएर आमालाई गुनासो गर्न जान्थ्यो।
घरमा सबैभन्दा ठुलो र राम्रो कोठा छानेर लिन पाएकी थिएँ। आफ्नै कोठा भएपछि मलाई पढाइमा भाइले डिस्टर्व पनि गरेन। आफ्नो इच्छाअनुसारका रङ र फर्निचर राखेर मैले कोठालाई दुलहीजस्तै सजाएकी थिएँ। कोठाको भित्तामा र सिलिङमा पनि मैले आफूलाई मन पर्ने रङग लगाएकी थिएँ। कहिलेकाहीं मामाघर जॉंदा र एकदुई रात उतै बस्दा पनि म मेरो घर र कोठालाई निकै मिस गर्थें। हाम्रो घर त्यो एरियामा सबैभन्दा राम्रो भनेर अरूले भनेको सुन्दा सबैभन्दा खुशी म हुन्थें। म नै त्यो घरको मुख्य डिजाइनर थिएँ। हाम्रै घर हेरेर छिमेकमा अरुले पनि हाम्रो जस्तै घर बनाएका थिए।
मैले एमए सक्दा भाइले प्लसटु सकायो। सक्नेबित्तिकै ऊ अस्ट्रेलिया जान्छु भनेर मरिहत्ते गर्न थाल्यो। बुवाआमाले त उसलाई पठाउन मान्नुभएकै थिएन। तर उसले मलाई प्रयोग गरेर बाआमालाई फकाउन लगायो। मैले नै बुवाआमालाई सम्झाएपछि मात्र उहॉंहरू उसलाई अस्ट्रेलिया पठाउन तयार हुनुभयो।
भाइ अस्ट्रेलिया गएपछि केही दिन खै के सोचेर हो बाआमा निकै उदास देखिनुभयो। मैले जागीर थालेकी थिएँ। उमेर पुगेकी छोरी भएर होला, मलाई बिहेका लागि माग्न आउनेहरू प्रशस्त थिए, बुवाआमा त मेरो बिहे गरिदिन तयार नै हुनुहुन्थ्यो। तर म तयार थिइन।
भाइ विदेशमा भएको र मेरो बिहेपछि बुवाआमा घरमा एक्लै हुनुहोला र उहॉंहरूलाई गाह्रो होला भनेर मैले निकै राम्रा बिहेका प्रस्तावहरू अस्विकारेकी थिएँ। एक न एक खोट लगाउदै बिहे अस्विकारको थाहा पाएपछि बाआमा मैले बिहे नै गर्दिन कि भन्ने चिन्ता लिन थाल्नुभएछ, एकदिन आमाले मलाई भन्नुभो– छोरी, बिहे भनेको उमेरमै गर्नुपर्छ, यसरी राम्रा रिस्ताहरू आएको बेलामा नकार्नु हुँदैन।
मैले आमाको कुरा काट्दै भनेकी थिएँ -आमा अझै तीन वर्ष पर्खनुस, भाइ पनि अस्ट्रेलियाबाट पढेर फर्किन्छ अनि बिहे गरौला, भाइ पनि घरमा नहुँदा मेरो बिहेपछि हजुरहरू एक्लै हुनुहुन्छ। मलाई बिहेको कुनै हतार छैन, हजुरहरु किन आतिरहनुभएको छ मैले बुझ्न सकिरहेकी छैन।
आमाले भन्नु भो -तिमीले अब हाम्रोभन्दा पनि आफ्नो जीवनबारे, आफ्नो घरपरिवारबारे सोच्नुपर्छ छोरी, हामी त अझै गर्न खाने सक्ने नै छौ।
बुवाआमाले मेरो भविष्यमाथि चिन्ता गरेर सहानुभूति देखाउनुभएको हो कि, आफ्नो कर्तव्य पूरा गर्न खोज्नुभएको थियो कुन्नि, पछि आएर उहाँहरूकै इच्छाबमोजिम नै मैले चल्ने निधो गरें। आफूले चिनेको केटाको प्रस्ताव भएकाले विवाहको प्रस्ताव स्वीकारेकी थिएँ। भाइलाई मेरो बिहेमा आउने ठूलो मन थियो तर विचरा भिसा एक्सटेन्सन गर्न पासपोर्ट इम्मिग्रेशनमा पठाएको रैछ। बिहेमा आउन पनि पाएन। बिहेको दिन फोनबाटै रोयो, मलाई पनि रुवायो।
सामान्यतया बिहे भएको तेस्रो दिन दुरान फर्काउन माइत जाने चलन हो। मलाई भने भोलिपल्टै जाउँ जस्तो भएको थियो। तीन दिन मलाई तीन वर्षभन्दा लामो लागेको थियो। तर, जुन कुराको चाहना बढी हुन्छ त्यही नै प्राप्त गर्न गाह्रो हुँदोरहेछ। हामीलाई त झन् उल्टो समस्या आइलाग्यो। बिहेको भोलिपल्ट सासू आमा बाथरुममा लडेर घाइते हुनुभयो र उहाँलाई तुरुन्तै हस्पिटल लानुपर्यो। सासूलाई अस्पतालमा छोडेर दुरान जान मिलेन। तिन दिनपछि मात्र हस्पिटलले डिस्चार्ज गर्यो।
पाँचौ दिनमा म दुरान फर्काउन माइत जान पाएँ। खुसीले मेरो मन नाचिरहेको थियो। धेरे दिनको कुहिरोपछि घाम लागेजस्तो अनूहार उज्यालो भएको थियो– ‘हेरहेर माइत जान पाएर कस्तो खुसी देखिएकी? गाडी चढ्ने बेला श्रीमानले भन्नुभएको थियो।’ मलाई कतिखेर पुगौं र आमालाई गम्लङङ अँगालो हालौं जस्तो भएको थियो।
हामी पुग्दा घरमा बिहेको दिन पुजा गरेका ध्वजापताकाहरू अझै उस्तै थिए यसले जो कोहीलाई पनि यहाँ हालसालै बिहे भएको रहेछ भन्ने थाहा दिन्थ्यो। तर शुभविवाह लेखिएको तुल र टेन्टहरू भने हटाइसकिएको रहेछ। घरको एउटा कुनामा फाल्न राखेको अलिकति फोहरको थुप्रो अझै बाँकी थियो।
हामी आउने भनेर बाबाले अफिस जानुभएको रहेनछ। बार्दलीमा बसेर बाबाआमा हाम्रै बाटो हेरिरहनुभएको थियो। हामीलाई देखेपछि बाहिर आँगनमा लिन आइपुग्नुभयो। आमा त भेटनेबित्तिकै रनुभयो। बाबा भने मुसक्क हाँसेको देखें। म भने संसारका सबै खुसी पाए जस्तो आनन्द मानिरहेकी थिएँ। दुरान फर्काएर म अर्कों दिन कसरी फर्केर जाने होला भन्ने पनि मैले बेलाबेला सम्झिरहेकी थिएँ।
बैठकमा बसेर चिया पियौ। सामान्य गफगाफ भए। एकछिनमा आमा उठेर भान्सातिर लाग्नुभयो। म दौडेर आफ्नो कोठातर्फ गएँ। ढोका खोल्न खोजे तर ढोका भित्रबाट बन्द रैछ, खुलेन। एकजना केटा मान्छे भित्र फोनमा कुरा गर्दै गरेको सुनें। मेरो निधार खम्चियो। मेरो कोठामा केटा मान्छे किन छ? को मान्छे हो यो? मन भत्र शंका र आश्चर्यको सुरुंग बन्यो। अहिले आमासँग कुरा गर्नुपर्ला भनेर म फेरि सरासर बैठक कोठामै फर्किए, मेरो श्रीमान र बुवा गफ गरिरहनुभएको थियो।
बेलुकाको खाना खाईवरी सुत्ने बेला हुँदै थियो। आमाले हामीलाई बैठकमा ओच्छ्यान लगाइदिनुभयो। मलाई आमाको ब्याभार चित्त बुझेन।
मैले अचम्म मान्दै सोधे–आमा, माथि मेरो कोठा के भो र? हामी उता मेरै कोठामा अटिहाल्छौ नि? अनि साचै अघि मेरो कोठामा कोही केटा मान्छे बोलेको सुनें, को हो नि?
आमाले हाँस्दै भन्नुभयो-ए सॉंच्चि, तिमीलाई त थाहा पनि छैन नि। हेर न अब तिम्रो बिहे पनि भइहाल्यो, हामीलाई पनि साथी हुन्छ, कोठा पनि खाली किन राख्नु भनेर तिम्रो कोठा त हामीले भाडामा पो लगाइदियौं त छोरी।
मलाई पहिले त आमाले ठट्टा गरे जस्तो लाग्यो, अनि फेरि दोहोरयाएर सोधे, आमाले उही कुरा दोहोरयाउनुभयो त्यसपछि भने मेरो शरीरको फुर्ति एक्कासी निस्केर मलाई छोडेर अर्कै बाटो लाग्यो। आमाको हॉंसो मेरो छातीमा गएर बॉंड जस्तै गाड्यो। तातो चियालाई फ्रिजमा राखेर सेलाएजस्तै म पनि एकैचोटी सेलाए। मेरो अनुहारमाथि कसैले कालो मोबिल छ्यापे जस्तो लाग्यो। आमाको ठाऊमा डरलगडो आकृति उभिएको जस्तो लाग्यो।
त्यसपछि म केही बोलिन। बोल्ने कुरा त धेरै थिए तर त्यस्को कुनै अर्थ नै रहेन। फिस्स हॉंसें या हॉंसे जस्तो गरें। मेरो मनमा भने सुनामी नै चल्यो। ’अहो मेरो कोठा भाडामा दिंदा मलाई नै नसोध्ने? कम्तीमा मलाई एक वचन त सोध्नुपर्ने?’
मलाई बाबाआमासँग पहिलोचोटि यति धेरै रिस उठ्यो। म आमालाई सघाउन भान्सामा पनि गइन।
पाहुना सरह हामी बुढाबुढी त्यो रात बैठकमै सुत्यौं। बिहे हुनुभन्दा पहिले पनि बेलाबेला म आफ्नो कोठा छोडेर बैठक कोठामा धेरै चोट सुतेकी छु। तर आजको यो सुताइ मेरा लागि नितान्त फरक भयो। सायद रोजाइ र बाध्यतामा यही नै भिन्नता होला। निद्रा के लग्थ्यो र? आँखामा निद आउनुभन्दा पहिले नै मनका नमीठा कुराहरु बाटो छेकेर अगाडि तगारो बने। बैठकमा सजाइएका सामानहरुले पनि मलाई गिज्याए जस्तै लग्यो। कसलाई भन्नु मनको यो कुरा? श्रीमानलाई माइतीको गुनासो के गर्नु, अनि माइतीमा गुनासो गर्ने मान्छे को पाउनु?
मेरो मनले त धेरे टाढाटाढासम्म पनि सोच्न थाल्यो, मैले उसलाई स्वतन्त्र छोडिदिए। ‘जाबो मेरो आफ्नो भन्ने एउटा कोठा पनि रैनछ यो घरमा मैले यतिका वर्ष कसरी बिताएँ ह’म्ला?’
मलाई लाग्यो’हिजो सानो कुरा गर्दा पनि मसँग सरसल्लाह गर्ने बुवाआमा आज बिहे हुनेबित्तिकै यति टाढाकी भए कि मैले पन्ध्र वर्ष बसेको कोठा म पॉंच दिन घरबाहिर जॉंदा मलाई नै नसोधी भाडामा दिनुभयो’।
जताबाट सोचे पनि मनले चित्त बुझ्ने ठाउँ फेला पार्न सकेन। यो घरमा मेरो अस्तित्व भनेको भाडावालको जस्तो मात्र त रैछ। बाआमालाई त के फरक पर्यो र? म गएँ अर्को भाडावाल आयो त्यो कोठामा। अझ फाइदा नै भयो होला। कम्तीमा भाडावालाले त पैसा तिर्छ। म त त्यो पनि तिर्थिन। अर्थात् बुवाआमाले बिहे नहुन्जेलसम्म मलाई निशुल्क भाडामा पो दिनुभएको रैछ कोठा।’
बिहेअघि मलाई लाग्थ्यो म पनि बाआमा र भाइ जस्तै यो घरको एक हिस्सा हुँ। होइन रहेछ, मेरो सोचाइ गलत रहेछ। माइतीघर त हाम्रा लागि एउटा डुंगा मात्र रहेछ श्रीमानको घरसम्म तारिदिने, त्यसपछि काम सकियो। आज आएर लाग्यो माइतीघर भन्नु त अधियामा लगाएको खेत जस्तो रैछ, जोतुन्जेलसम्म मात्र आफ्नो।
म रातभर यस्तै कुरा सोचेर बसें। एक घण्टा पनि निदाइन। त्यति हतार गरेर आएको यो घरमा बिहान कहिले होला र यो घर छोडेर हिंडौला जस्तो भयो।
बिहान आमाले चिया लिएर बैठकमै आउनुभयो। हामी उठिवरी बसेका थियौ। चिया पिउन पनि मन लागेन। मलाई हिजोकै कुराहरूले चिमोटिरहेकाले मन निकै दुखेको थियो। आमा सायद चाहनुहुन्थ्यो म केही सुखदुखका कुरा गरुँ तर मलाई कत्ति रुचि थिएन।
-नानी, तिम्रो त आँखा कस्तो सुनिएको? राति तिमी राम्रोसँग सुतिनौ र? आमा बोल्नुभयो। यस्तो लग्थ्यो आमालाइ मेरो मनमा आगो लगेको थाहा नै छैन।
मैले आमाको प्रश्नको जवाफ दिन कुनै जरुरी ठानिन बरु रातभरि उठेको रिस पोख्दै प्रतिप्रश्न गरें- आमा तपाईले मलाई किन सोध्नुभएन मेरो कोठा भाडामा दिंदा पनि?
मेरो प्रश्न आमाका लागि अपेक्षित थिएन। उहॉंले अनुहारले त्यो देखाइरहेको थियो।
“अब तिमीलाई त्यो कोठा किन चाहियो र छोरी? तिमी आउँदालाई त बैठक कोठा छँदै छ नि। तिमी त अब हाम्रा लागि पाहुना भयौ।“
सम्झाउँदै आमाले आफ्नो भूमिका त निभाउनुभयो, तर मेरो मनमा बलेको आगो भने निभाउन सक्नुभएन।
“भनेपछि म हजुरहरूको पाहुना। अनि आजबाट यो घर मेरा लागि गेष्ट हाउस। त्यही भन्न खोज्नुभएको हैन आमा?“
आमालाई यति भन्ने हिम्मत मलाई कहॉंबाट आयो थाहा भएन। आमा केही बोल्नुभएन। अर्कोतिर फर्किनुभयो। मैले उहॉं सुँक्कसुँक्क गरेको मात्र सुनें।
(कथाकार धर्म सापकाेटा राजुकाे कथासंग्रह बाटाेमा सङ्गृहीत।)
प्रकाशित: १ भाद्र २०८१ १३:१६ शनिबार