६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

लोग्नेस्वास्नी

लघुकथा

‘सधैं यस्तै भएपछि म कसरी खप्नु।आठ महिने छोरालाई पिठ्यूँमा पटुकाले बाँध्दै ऊ एकोहोरो फतफत जारी राख्छे। घरको कामकाज कत्ति पनि नसघाउने। घर भन्नु नै के छ र। एउटा फुसले छाएको छाप्रो। एक जोडी बाख्रा, अन्डा पार्ने तीन कुखुरा अनि घर वरिपरि अलिकति बारी। बस् त्यत्ति हो।

आफू फुपूको घरमा एक साता बस्न आएको बेला भेट भएको हो फुपूको भान्जा ऊसँग। उसकाे बोलीचाली र बानीबेहोराले मोहनी लगायो। फुपूकहाँ दुई दिन बसेपछि उसले मलाई भगायो।

एक साता लुकाएर राख्यो। त्यसपछि उसकाे घर यो छाप्रामा ल्यायो। आफूलाई पनि त माया गर्ने लोग्ने पाएपछि के चाहियो र। मेरो माया पनि ऊमाथि कम थिएन। अहिले पनि त्यत्तिकै छ। तर यो मूर्ख भयो। घरमा स्वास्नी र सानो छोरा छ भन्ने कुरा घरबाट बाहिर निस्केपछि बिर्सन्छ। त्यसले आजकल न कुनै आइमाईले फसाई कि‘ भन्दै चमेली एकालाप गरी मन बुझाउँदै थिई। अब त्यो आएपछि म आज ठिक पार्छु। कि तँ यो घरमा बस कि म बस्छु‘ भनेर झगडा नगरी भएन। म जस्ती तरुनीले पोइल जाऊ भने जत्ति पनि केटो पाउँछु।‘

भोक लागेर आउँछ त्यो अब। आलुको तातो झोल तरकारी र कोदोको रोटी पकाएर राखेको चिसो भैसक्यो। आफूलाई पनि त भोक लाग्यो नि। एक्लै खान मन लाग्दैन।आमा नभएको त्यसलाई माया गर्ने म मात्र त छु नि। बिचरो कति भोक लाग्यो होला भन्दै खानेकुरा भुंग्रामा राख्न अगेनामा गै।

मौकाले त्यो दिन नरेले गाउँमा मेलो जान पाएको थियाे। हातमा पैसा पनि थापेको थियो। गाउँकै कान्लामुनिकी मुसुरी कान्छीको भट्टी पसलमा पसेर धित मरूञ्जेल रक्सी धोक्यो। बुढीलाई खुशी पार्नुपर्छ भनेर अलिकति पैसा उसले कट्टीमा लुकाएको थियो।

लागेको सुरमा उसले मुसुरीलाई ‘मैले आज कमाएको अलिकता पैसा बुढी खुशी पार्न कम्मरमा लुकाएको छु’ भन्न भ्यायो।

मुसुरीले पनि मौकाको फाइदा उठाउँदै भनी, ‘नरे रात पनि परिसक्यो। तिम्रो बुढी बच्चा च्यापेर सुतिसकी। आज मैसँग सुत। पानी परेर जाडो पनि छ। हामी न्यानो गरी सुतौंला।’

‘आम्मै नि मुसुरी तिमीले के यस्तो पापी कुरा गरेको। घरमा मेरी स्वास्नी नखाईकन मलाई कुरेर बसेकी छे। मैले उसलाई धोका दिनु हुन्न। पाप लाग्छ बाबै’ भन्दै ढोका खोलेर बाहिर निस्कियो।

प्रकाशित: ३२ श्रावण २०८१ ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App