१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘प्याकुली’ म्यूजिकल फिल्म सार्वजनिक

वैदेशिक रोजगारीमा गएको युवाको कथामा आधारित ‘प्याकुली’ नामक म्यूजिकल फिल्म सार्वजनिक भएको छ।

काठमाडौंको सिटिसी मलस्थित वन सिनेमा हलमा शनिबार आयोजित समारोहमा म्यूजिकल गीति फिल्म युट्यूबमार्फत सार्वजनिक गरिएको हो।

नीतिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बालकलाकार रोनिश खड्का, अर्जुनकाजी श्रेष्ठको अभिनय रहेको छ।

आरआर (रामहरि) खड्काको शब्दमा रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ।  शिशिर गरूङले निर्माण गरेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन्।

लाइक माइण्डस् नेपालले सम्पादन गरेको भिडियोको कलर ग्राफिक्समा राकेश दाहालले योगदान दिएका छन्। क्रियटिभ डाइरेक्टर शिशिर अर्याल र सहायक निर्देशक उत्सव पौडेल रहेका छन्।

समाजको कथालाई आफैं भोगेर शब्दमा उतारेका आरआर खड्काले म्यूजिक भिडियोका मुख्य चरित्र निर्वाह गरेका छन्। ‘गाउँसमाजमा घटिरहेको घटना शब्दमा उतारेका छौं। अरूका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन्। कहीं सत्य घटना पनि होलान्। तर, अरूका कुरा सुनेर कुनै कदम नचाल्नुस्। श्रम गर्ने परिवारले कागले कान लग्यो भनेर पछि लाग्नेभन्दा पनि कान छाम्ने गरौं। यो गीतको यही सन्देश हो,’ उनले भने।

खड्काले यो घरघरको कथा भएको बताए। ‘अधिकांश मान्छे विदेशमा छ। श्रीमान विदेशमा, श्रीमती गाउँमा, सफा नियतले पनि बोल्नै अप्ठेराे छ। मैलै गाउँमै भोगेको कथा हो। समाजप्रति दायित्व लागेर यो निर्माण गरेका हौं। मनोरञ्जन मात्र होइन सन्देश पनि दिउ भन्ने मुख्य ध्येय हो,’ उनले स्पष्ट पारे।

गीतको भिडियोमा अभिनय गरेकी तलिशा गुरूङले नेपाली समाजको कथालाई प्रस्तुत गर्ने पात्रको रूपमा काम गर्न पाउँदा खुसी लागेको बताइन्। ‘प्याकुली एक वर्षपछि रिलिज भयो। राम्रो भिडियो आएको छ। भिडियो हेर्दा म नै होइन जस्तो लाग्यो। गाउँको गृहणी जस्तो महसुस भयो। अब मूल्यांकन गर्ने स्रोत दर्शकको कुरा हो। वास्तविकता भन्दा कुरा सुनेको भरमा सम्बन्धहरू ब्रिगिरहेको हुन्छ। यो घरघरको कथा हो,’ उनले भनिन्।

कलाकार महेश खड्काले प्याकुलीमा जोडिन पाउँदा आफ्नो काम फरक पाएको बताए। ‘दु:ख पाएको युवाको क्यारेक्टरमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

गायक बाबुल गिरीले यो अहिलेसम्मकै फरक खालको उत्कृष्ट गीत भएको बताए। समाजको कथामा चित्रण गरिएको गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलिरहेकोभन्दा फरक परिवेशमा बनेको गीत उत्कृष्ट भएको बताइन्। ‘गीत आफैमा राम्रो बनेको छ। प्रशंसा गर्नै पर्दैन। मिठो बनेको छ। साथीहरूसहित हामी सबै रोइरहेको थियौ। बाकसमा लास आउने तथा अन्य दृश्यले दशैको माहोल फिल भयो। चलिरहेकोभन्दा अलि फरक गीत बनेको छ। मन छोयो। दशर्कले पनि स्वत: मन पराउनु हुनेछ। यस्तो राम्रो गीत बनिरहोस्,’ उनले भनिन।

गीत सार्वजनिक समारोहमा दिपाश्री निरौला, शिवहरि पौडेल, गीतकार शंकर अधिकारी गायल, निर्देशक ज्ञानेन्द्र देउवा लगायत कला क्षेत्रका निर्माता निर्देशकको उल्लेख्य उपस्थिति रहेकाे थियो।

प्रकाशित: २७ श्रावण २०८१ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App