१) मुक्तक
अदालत पनि आज अदालत जस्तो रहेन
नागरिकको यो देशमा कुनै इज्जत रहेन।
भ्रष्ट र पापीहरूले देश नै कब्जा गरेपछि त
असल र आदर्श मान्छेको कुनै जरुरत रहेन।
२) मुक्तक
कोही आउँछ मेरो हातमा हतकडी लगाउँछ
आफ्ना भन्नेहरू पछाडिबाट थपडी लगाउँछ।
जो दरिद्र छ मानसिक रोगी छ उसैले हमेसा
दुनियाँलाई आफ्नो मात्रै गफ बढी लगाउँछ।
३) मुक्तक
जिन्दगीदेखि पनि यति हतार नगर्नुस्
म भन्छु एक्लै एक्लै बजार नगर्नुहोस्।
अचेल मुसाफिर घरघरमै भेटिन्छन्
बाटोमा कसैलाई प्यार नगर्नुहोस्।
४) मुक्तक
आमा किन रोएकी होलिन् बाको तस्विर हेरेर
आज असाध्यै भावुक छिन् बाको तस्विर हेरेर।
ढोका र झ्यालहरू बन्द नगर्नु बत्ती ननिभाउनु
बोल्दा बोल्दै हुनु भो शब्दविहीन बाको तस्विर हेरेर।
५) मुक्तक
अझै पनि उस्तै छ हेर मनको बह तिम्रो पनि मेरो पनि
केही फरक लाग्दैन जीवनको सतह तिम्रो पनि मेरो पनि।
त्यही रात हो निथ्रुक्कै भिजेको जहाँ हामी बास बस्यौ
किन ओभाएको छैन अझै गह तिम्रो पनि मेरो पनि।
६) मुक्तक
आऊ अन्तिम पटक एउटा दस्तखत गरेर जाउ
मेरो आग्रह तिमीलाई एकपटक संगत गरेर जाउ।
खराब या सही फैसला तिमीलाई छोडेर आएको छु
पटकपटक माग्दिनँ तिम्रो सहयोग मद्दत गरेर जाउँ।
७) मुक्तक
तिमीसँग बिताएको त्यही एउटा याद बाँकी छ
झरीले निर्घात रूझाएको त्यही एउटा याद बाँकी छ।
बिर्सन खोजें मैले घामजून जस्तै तिम्रो अनुहार
तर झ्यालबाट चिहाएको त्यही एउटा याद बाँकी छ।
८) मुक्तक
सरकार केके सोचिरहेको छ यसरी तल्लीनसँग
छिमेकी आँखा गाडिरहेको छ मेरो देशको जमीनसँग।
जब गल्ती गरेर पनि तिमी माफी माग्दैनौ सरकार
सिद्धान्त बेचेर को बाँच्न सक्छ यसरी कठिनसँग।
९) मुक्तक
पुग्दैन शहर छोडेर गाउँतिर कहिल्यै अवसर पुग्दैन
कोही बाँचून या मरून कर्णालीमा डाक्टर पुग्दैन।
जिन्दगी बेचेर जिन्दगी चलाउनु छ कसैकसैलाई
विदेशमा छन् सन्तान गाउँमा बा आमाको रहर पुग्दैन।
१०) मुक्तक
गुनासोहरू पनि बजारमा बेचिने भइदिए
दुःखपीडाहरू सय हजारमा बेचिने भइदिए।
मुटुमा हिर्काएर घाउ बनाउने मान्छेहरू
एकदिन अवश्य भेटिन्थ्यो प्यारमा बेचिने भइदिए।
प्रकाशित: १९ श्रावण २०८१ ११:२२ शनिबार





