७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

व्यासपीठमा जमेका नेपाली छोरी

अध्यात्म

पुराण, प्रवचन या अन्य कुनै कथाको कुरा आउनेबित्तिकै धेरैले वाचनकर्ताका रूपमा पुरुष पण्डितलाई सम्झन्छन्। तर पछिल्लो समय राजधानीमा भने ‘व्यासासनमा रमेका विदुषीहरू’को चर्चा चल्दै छ।

त्यसो त उनीहरू कथावाचन गर्ने पहिलो या दोस्रो महिला होइनन् तर उनीहरूको चर्चा भने पहिलो या दोस्रो बन्न पुग्यो। पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा चलिरहेको कोटिहोममा भारतबाट आएकी कथावाचिका देवी प्रतिभा र बेलायतबाट आएकी चन्द्रकला सखीले खुबै चर्चा बटुल्दै छन्।

अझ मंगलबार भारत फर्केकी देवी प्रतिभाको चर्चा त शिखरमै पुग्यो। मनमोहक ढंगले कथावाचन गरेकी प्रतिभाले धेरैको मन जित्न पुगिन्। कतिपयले भने उनको कुरा काट्न पनि छाडेनन्। प्रतिभाका वरिपरि रहेका सुरक्षा दस्ता र उनले लैजाने गरेको भन्ने रकमको अनुमानले पनि सामाजिक सञ्जाल ततायो। कसैले नेपाली चेलीको शानका रूपमा लिए भने कसैले त्यसलाई पैसाको लालच र देखावाको पगरी लगाइदिए।

खासमा सम्बन्ध विच्छेदको विषयमा उनले बोलेका कुराले सामाजिक सञ्जाल ततायो। उनले सकभर महिलाले सहनुपर्छ भन्ने भाव राखेकी थिइन्। यसलाई धेरैले अधिकारको कुरासँग जोड्न पुगे। उनले धर्मशास्त्रमा सम्बन्ध विच्छेद भन्ने शब्द छैन भन्दै सकभर महिला–पुरुष मिलेर जानुपर्ने भाव राखेकी थिइन्।

‘उनको भनाइमा महिलालाई कमजोर आँकलन गरिएको छ, जुन हामीलाई मन परेन,’ सामाजिक सञ्जालमा रश्मि दाहाल लेख्छिन्, ‘महिलाले मात्र सहनुपर्छ भन्ने कहाँ छ?’ 

कतिपयले भने उनको खुला ढंगले प्रशंसा गरेका छन्। उनले नेपालीको शान बढाएको चर्चा गर्दै उनको भनाइमा सहमत भएको भाव पोखे। ‘उनको वाचनशैली र विचारले मलाई पशुपतिपरिसर डो¥याइरह्यो,’ राजु बस्नेत लेख्छन्, ‘उनीजस्ता कथावाचिकाका कारण धार्मिक कार्यक्रममा रौनक पनि बढेको छ।’ चेलीहरूले व्यासमा बसेर उत्कृष्ट प्रवचन गरेको देख्दा मन भित्रैबाट खुसी भएको उनले लेखेका छन्।

त्यस्तै अर्का एक पाठकले देवी प्रतिभाले महिलालाई अपमान हुने गरी केही बोलेकी छैनन्, केवल शास्त्रको कुरा गरेको सुनाए। ‘प्राचीन समयमा महिलाको रक्षा पुरुषले गर्ने गरेका थिए,’ सामाजिक सञ्जालमा विनीत पाण्डे लेख्छन्, ‘सायद त्यसलै उहाँको कुरामा त्यस्तो भाव आएको हुन सक्छ।’

फेरि उनी आफैं पनि महिला भएका कारण महिलाको अपमान हुने कुरा बोल्न नसक्ने उनले सुनाए। ‘उहाँ महिलाहरूको शान हुनुहुन्छ। महिला सशक्तीकरणको ज्वलन्त उदाहरण हुनुहुन्छ,’ उनी लेख्छन्, ‘उहाँको भाव पक्कै पनि महिलालाई होच्याउने थिएन।’

कतिपय भने रश्मि, राजु र विनीतको भनाइसँग सहमत छैनन्। उनीहरूले राम्रा कुराको कदर गरिनुपर्ने, नराम्रा कुरालाई सुधार्ने अवसर दिनुपर्ने अभिप्राय राखेका छन्। ‘जुन प्रकारले अहिले देवी प्रतिभालाई ट्रोल गरिएको छ, त्यो गरिरहन आवश्यक थिएन,’ सञ्चारकर्मी बबिता बस्नेत लेख्छिन्, ‘उनी जेन्डर स्टडिजकी प्राध्यापक या लेक्चरर होइनन्, न त महिला अधिकारवादी नै हुन्।’

उनी र उनीजस्ता कथावाचकहरूबाट पितृ सत्तालाई सघाउ पुग्ने वाणीहरू बोलिन सक्छन्, जसलाई समझदारहरूले ‘योचाहिँ गलत भयो, अर्कोपल्टदेखि सुधार गर्नू है’ भन्न सक्ने ठाउँ र अवस्था रहन्छ भन्ने बस्नेतको बुझाइ छ।

‘सुझाव दिँदा पनि गल्तीहरू दोहोरिए भने फरक दृष्टिकोण बनाउन मिल्ला तर अहिले त हामीले उनलाई के के भन्यौं भन्यौं ! विदेशी कथावाहकहरूलाई हामीले भनेको अर्थ नहुन सक्छ,’ उनी लेख्छिन्, ‘तर प्रतिभा नेपालकी छोरी भएकीले उनका गल्तीहरू औंल्याउने र भरपुर प्रशंसा गर्ने दुवै हक हामीलाई छ।’

यता देवी प्रतिभाले पनि आफ्ना विषयमा हल्ला बढी चलेको सुनाइन्।  उनले आफ्नो दक्षिणाको कुनै रेट नतोकिएको बताउँदै आयोजकले जति दिए पनि सहर्ष स्विकार्दै आएको सुनाइन्। ‘मेरो रेट ५० लाख, एक करोड भन्ने सुन्दा मलाई हाँसो उठ्यो,’ उनी भन्छिन्, ‘त्यस्तो केही छैन। मलाई तिलक लगाएर एक रूपैयाँ दिए पनि सहर्ष स्वीकार छ।’ भागवतको कुनै मूल्य नहुने बताउँदै यसलाई ज्ञानको वर्षाका रूपमा लिनुपर्ने सुनाइन्।

‘भागवत आफैंमा अनमोल ग्रन्थ हो। न कसैले खरिद गर्न सक्छ न बेच्न सक्छ,’ उनले भनिन्, ‘मलाई मानव सेवा फाउन्डेसनले बोलाएको हो। उहाँले जे दिनुभएको छ, त्यो मलाई स्वीकार छ।’

त्यस्तै सम्बन्ध विच्छेदको प्रसङ्गमा पनि अपव्याख्या भएको उनले सुनाइन्। ‘भगवान् श्रीकृष्णले गोपिनीहरूलाई भनेको कुरा सुनाउँदा मैले भनेजस्तो गरी व्याख्या गरियो,’ उनले भनिन्, ‘व्यासपीठमा बसेपछि धर्मग्रन्थको कुरा गर्नु मेरो धर्म हो।’

अनि नारीले पुरुषको सम्मान गर्नुपर्ने कुरा मात्र होइन, पुरुषले पनि नारीको सम्मान गर्नुपर्ने कुरा आफूले भनेको बताउँदै पछिल्लो कुरालाई चाहिँ हटाएर क्लिप राखेकोमा दुःख लागेको उनले सुनाइन्। ‘जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि रमाउँछन्,’ उनले भनिन्, ‘तर यो कुरालाई छाडेर पुरुषलाई नारीले सम्मान गर्नुपर्छ भन्ने कुरा मात्र हाइलाइट गरेछन्।’

त्यस्तै सुरक्षाकर्मीको विषयमा पनि यो कुनै सोख नभएर भिडबाट सहजै निस्कने उपाय भएको सुनाइन्। ‘यहाँ मात्र होइन, भारतका विभिन्न सहरमा कथावाचन गर्दा पनि सुरक्षाकर्मी योभन्दा बढी हुन्छन्, उनले भनिन्, ‘यसबाट निरास हुनुपर्ने कुनै कारण छैन।’ 

देवी प्रतिभा मंगलबार भारत फर्केकी छन्। भारत जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी देवी प्रतिभाले जन्मभूमिप्रतिको माया भाव देखाउँदै भुइँलाई ढोगेकी छन्। उनको १४ दिनको नेपाल बसाइमा प्रशस्तै चर्चाका साथै विवाद र आलोचनाको पनि सामना गर्नुप¥यो। अझै पनि उनले दिएको अभिव्यक्तिको आलोचना गरिरहेका छन्, त कतिले उनको समर्थन पनि।

यो भ्रमणभन्दा अगाडि देवी प्रतिभा नेपालमा कमै परिचित थिइन्। नेपालमै जन्मेकी, नेपाली छोरी भए पनि उनले भारतलाई कर्मथलो बनाउँदै आएकी छन्। काभ्रे मण्डनदेउपुरामा उनको जन्म भएको हो। साधुराम पराजुली र इन्दिरा पराजुलीकी माइली छोरी भएर जन्मेकी उनी बाल्यकालदेखि नै वृन्दावन बस्न थालिन्। अहिले उनी भारतका विभिन्न स्थानमा धार्मिक कथावाचन र प्रवचन दिँदै हिँडिरहेकी छन्।

एक महिना चल्ने कोटिहोम गत असार २९ गते सुरु गरिएको हो। यसमा कोटिहोममा सहभागी भक्तजनले करोडौं रूपैयाँ सहयोग गरिरहेका छन्। विभिन्न ठाउँबाट विभिन्न वक्ताहरू आइरहेका छन्, वाचन गरिरहेका छन् तर धेरैको ध्यान भने देवी प्रतिभाजस्ता वाचिकामा परेको छ।

त्यस्तै सोही कार्यक्रममा आएकी अर्की वाचिकाले पनि धेरैको ध्यान खिच्दै छिन्। पशुपतिनाथ मन्दिरमा जारी कोटिहोम महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको प्रवेश भएको छ। बेलायतबाट भर्खरै आएकी उनले कथावाचन सुरु गरिसकेकी छन्।

निधारमा मोटो चन्दन र कानमा फूल सिउरिएकी उनलाई महायज्ञ स्थलमा भव्य स्वागत भयो। मधुर मुस्कानसहित उनी व्यासमा उक्लिँदै गर्दा भक्तजनहरूले करतल ध्वनिका साथ स्वागत गरे। यस्तो ध्वनि सम्भवत कमै सुन्न पाइन्छ। आउनु अगावै चर्चा बटुलेकी यी कलिलो उमेरकी कथावाचकलाई हेर्न धेरै उपस्थित थिए।

र्‍यापमा रमाउने उमेरकी सखीले रामभजन गाउँदा धेरैको मन जित्यो। ‘हामीले कल्पना गरेभन्दा धेरै राम्रो वाचन सुन्न पायौं,’ गोठाटारका मुरारी पुडासैनी भन्छन्, ‘उनीजस्ता किशोरी वाचकका कारण सुन्नेमा थप उत्साह छाएको छ।’ 

उनको शालीनता र अबोधपनले धेरैलाई मोहित बनाइरहेको उनले सुनाए। सखी स्वयंले पनि आफू विज्ञानको विद्यार्थी भएको भन्दै कुनै विदुषी वा विद्वान् नसम्झिन आग्रह गर्दै कथावाचन गरेकी थिइन्। विज्ञान र अध्यात्मको त्यो सङ्गम साच्चै नै रहरलाग्दो थियो।

पश्चिमा संस्कृतिमा पुगेकी सखीले नेपालजस्तो महान् संस्कार र संस्कृति कतै नपाएको सुनाइन्। ‘मैले धेरै देशहरूको भ्रमण गरेँ तर यहाँको जस्तो महान् संस्कार, संस्कृति अन्त कतै पाइनँ,’ उनले भनिन्, ‘यहाँको जस्तो प्रेम, सद्भाव, आमा–बुबा, एकआपसमा भाइचारा अन्य कुनै राष्ट्रमा देखिनँ। त्यसैले हाम्रो नेपाल राष्ट्र महान् छ।’

उनले आफ्नो मातृभूमिमा भएको यस्तो दिव्य आयोजनामा म यहाँ नआईकन बस्न नसकेको सुनाउँदै प्रेमका कारण यहाँ आएको सुनाइन्। ‘प्रिय भक्तजन, म आफूलाई कुनै विदुषी ठान्दिनँ। म कुनै विद्वान् पनि होइन। म त सामान्य भौतिक शिक्षाअन्तर्गत बायोलोजीको विद्यार्थी हुँ,’ उनले भनिन्, ‘मैले बाल्यावस्थादेखि नै सन्त सद्गुरुदेवको कृपा प्राप्त गरेको छु।

बाल्यावस्थादेखि नै स्वनामधन्य जसको स्मरण मात्रले पनि मनमा शान्ति प्राप्त हुन्छ, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अध्यक्ष अनन्त श्रीविभूषित नित्य गोपाल दासी महाराजजी गुरुदेवको कृपा प्राप्त गरेको छु।’

उनले विज्ञान र अध्यात्मलाई सहज ढङ्गबाट बुझाउने प्रयास पनि गरिन्। ‘शिवजीले गलामा के लगाउनुहुन्छ? सर्पलाई धारण गर्नुहुन्छ। शिवजीको बहान गोरु हुनुहुन्छ। माता पार्वतीको बहान सिंह। कार्तिकेयको बहान हो मयूर। फेरि गणेशजीको बहान हो मुसा,’ उनले भनिन्, ‘साइन्समा भनिएको इकोलोजी सिस्टम हो यो।’

यति हुँदाहुदै पनि शिव परिवारभित्र एकापसमा कहिल्यै पनि कलह छैन भन्दै उनले नेपालमा पनि सबै मिलेर बस्नुपर्ने सुझाइन्। ‘यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेकानेक जातजाति त छौं, सबै एकसाथ मिलेर बस्न सक्छौं, मिलेर बस्नुपर्छ,’ उनले भनिन्, ‘जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ?’

लामो समयसम्म विदेशमा बसे पनि यी चेलीहरूमा नेपालप्रतिको मायामा भने कुनै कमी छैन। ‘मलाई अत्यन्त गौरव लाग्छ कि म भारतमा बसे पनि म नेपालकी छोरी हो ! मेरो बसाइ त वृन्दावन हो तर मेरो जन्म नेपालंमा भएको हो,’ देवी प्रतिभा भन्छिन्, ‘नेपाल आएर यहाँहरूको माया र प्रेम देखेर मलाई खुसी लाग्छ कि म नेपालको छोरी हो।’

प्रकाशित: १९ श्रावण २०८१ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App