लोकसाहित्यका विविध विधामध्ये लोकगीतको विशिष्टता छुट्टै छ। सौन्दर्य, शृङ्गार, सुखदुःख, उत्साह र भावलाई सरल ढंगबाट स्वरको लहरीमा पोखिने गीतहरूले लोकगीतको संज्ञा पाउँछन्। लोकगीतको सर्वोच्च आकर्षणको पक्ष भनेकै लय हो भन्दा कुनै अतिशयोक्ति नहोला। यस्ता गीतमा हाँसो, रोदन, आशा, निराशा, प्रेम, बिछोड अनि सम्भावनाको सचित्रता हुन्छ। सत्यमोहन जोशी (२०१४ः२५) का अनुसार लोकगीत भनेको लोकजीवनको रागात्मक स्वतःस्फुर्त लयात्मक अभिव्यक्ति हो।
नेपाल बहुजाति र बहुभाषी मुलुक हो। यहाँ बसोबास गर्ने सबै जातजातिका आआफ्ना रीतिरिवाज, धर्मकर्म, मूल्यमान्यता, सम्पदा, साहित्य र संस्कृति छन्। यसैगरी नेपालको पूर्वी आर्य समुदायमा पहिले सँगिनी र बालन गीतहरू प्रचलित थिए। यिनको उत्पत्ति कहिले र कसरी भयो भन्ने यकिन तथ्य नभए तापनि मानव सभ्यताको आरम्भमा लोकगीतको प्रारम्भसँगै भएको लोम्याक्सले उल्लेख गरेका छन्।
हामीले तीन प्रकारका सम्पदाहरू धार्मिक, सांस्कृतिक र प्राकृतिकलाई मानेर आएका छौं। यसअन्तर्गत सँगिनी र बालन सांस्कृतिक सम्पदा हुन्। यी गीतहरू समाजका हुन्। यिनीहरू यथार्थ धरातलमा उभिन्छन् किनकि यिनीहरू समाजमा जन्मिन्छन्, समाजमा बाँच्छन् र समाज नै बोल्छन्।
स्वतःस्फूर्त, सकोमल र लयात्मक अभिव्यक्तिबाट सुसज्जित यी गीतहरू वास्तवमा समाजका ऐना हुन्। मध्य लयमा गाइने यी गीतमा जीवन र जगत्का करुण रसहरू भेट्न सकिन्छ। मैले दिन प्रतिदिन पाश्चात्य गीतसंगीतको ओझेलमा छाया पर्दै गएको र नयाँ पुस्तामा यसको ज्ञान र विषयवस्तुबारे जानकारी होस् भन्ने हेतुले सँगिनी र बालन नाचबारे यो सामग्री तयार पारेकी हुँ।

सँगिनी र बालन फरक फरक प्रकृतिका लोकगीत हुन्। यिनका आआफ्नै विशेषता र प्रकृति छन्। सँगिनी महिलाहरूले गाउने गीत हो भने बालन पुरुषहरूले गाउने गीत हो। यी दुवै गीत समूहमा गाइन्छन्। यद्यपि यिनको मर्म फरक छ। बालनमा देवीदेवताको भक्तिभजन र महिमा गाउने प्रचलन भए तापनि सँगिनीमा भने प्रेरणा, हर्ष, रोदनजस्ता सबै खाले कुरालाई समावेश गरेर गाउन सकिन्छ। विषय उठान गर्ने, गाथा भन्ने र विसर्जन गर्ने दुवै गीतका समानता हुन्।
बाबा र ज्यूको नि धुरी है भरी २
परेवा घुरुरु मेरो बाबा
परेवा घुरुरु
नौडाँडा काटी नि दिहाल्यौ बाबा
मन रुन्छ धुरुरु मेरो बाबा
मन रुन्छ धुरुरु
उल्लिखित गीत हिन्दु परम्पराअन्तर्गत अझ भनौं पूर्वीय हिन्दु धर्मावलम्बीहरूले विवाह, व्रतबन्ध, तीज, पूजाआजाजस्ता कार्यहरूमा ताली बजाएर घुम्दै नाच्ने ‘सँगिनी’ गीतको एक अंश हो। यसको इतिहास अलिखित भए तापनि यो नाचमा महिलाहरूले समूहमा गोलो घेरा बनाएर धार्मिक ग्रन्थहरू रामायण, महाभारत, गीता, पुराणजस्ता काव्य ग्रन्थहरूका कथनलाई मात्र नभएर सामूहिक रूपमा आफ्ना भोगाइ, वेदना र खुसीहरूलाई लयमा रूपान्तरित गरेर गाउँदै घुमीघुमी नाच्छन्।
यसरी आफैं गाउँदै सामूहिक रूपमा नाचिने नाच वास्तवमा नै हेर्न र सुन्न रोमाञ्चकारी हुन्छ। अझ यो गीत गाउँदागाउँदै कति आमा–दिदीबहिनीहरू भावविह्वलसमेत हुने गर्छन्।
विडम्बना बढ्दो आधुनिकीकरणसँगै यो नाच बिस्तारै लोप हुने स्थितिमा पुगिसकेको छ। अचेल घरगाउँदेखि सहरसम्म पुराना मौलिक भाका गुन्जिन छोडिसकेका छन्। धार्मिक–सामाजिक कार्यक्रमतिर समेत मौलिक गीतहरूभन्दा पश्चिमेली आधुनिक गीतसंगीत अहिलेको पुस्ताको पहिलो रोजाइमा पर्नु र आफ्नो मौलिक ज्ञानप्रति रुचि नहुनु हाम्रो संस्कृति खतरामा पर्नुको गम्भीर संकेत हो।
मेरो बाल्यकालमा गाउँघरमा प्रशस्त मात्रामा बालन, सँगिनी नाच देखेकी मैले दुई दशकपछि आउँदा देख्न नै छोडेँ, आफूसँग पनि कहींकतै ‘सँगिनी नाचेको/गाएको अनुभव नभएपछि मैले पाँचथर फिदिम निवासी शान्ता गौतमसँग यसबारे अन्तक्र्रिया गर्ने मौका जुराएर यसबारे खोज अनुसन्धान र भलाकुसारी चलाएँ। उनका अनुसार पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्ना मौलिक परम्पराहरू हस्तान्तरण गर्न नसक्नु र नयाँ पुस्तामा आधुनिकतामा बढ्ता चासो र रुचि हुनुले यसको प्रवर्धन हुन नसकेको तर्क छ।
आफूहरूले पनि विभिन्न धार्मिक–सांस्कृतिक कार्यक्रममा आमाहरूसँगै नाच्न र गाउन सिकेको मिठो सम्झना आज पनि दिमागमा उत्तिकै ताजा रहेको उनी बताउँछिन्। यसमा गीतको माध्यमबाटै सवालजवाफ गरिन्थ्यो, टाढाटाढाबाट लामो समयपछि भेला भएका दिदीबहिनी, साथीसँगीबिच होस् वा माइतीसँग गीतबाटै आफ्नो हालखबर र परिस्थितिबारे जानकारी गराइन्थ्यो। उनी यसरी गाउँछिन्:
सवाल
यो बर्खामासको उर्लिंदो भेल
कहाँबाट आयौ हे मेरा भाइ
बाआमा कस्ता छन्?
जवाफ
यो बर्खामासको उर्लिंदो भेलमा
भेटघाट गर्न आएको दिदी
बाआमा निकै छन्।
आफ्नो पालामा आफूहरू कसैको बिहे, व्रतबन्धमा रातभरि सँगिनी नाचेर उज्यालो बनाउने गरेको आज पनि उनका आँखामा झलझली रहेको गौतम बताउँछिन्। ‘सँगिनीकै माध्यमबाट समाजमा देखिएका कुरीति र कुसंस्कारलाई हटाउन राहत मिल्नेखालका सन्देशमूलक गीतहरू पनि आफूहरूले गाउने गरेको बताउँछिन्।
छोरीलाई दाइजो नदेऊ बाबा
बेलैमा पढाइदेऊ मेरा बाबा
बेलैमा पढाइदेऊ
समाजको माझमा छोरीको पनि
प्रतिष्ठा बढाइदेऊ मेरा बाबा
प्रतिष्ठा बढाइदेऊ !
कुरीति कुसंस्कार हटाउन बाबा
चेतना चाहिन्छ मेरा बाबा
चेतना चाहिन्छ
शिक्षित छोरी नि भएमा मात्र
जहाँ नि अटाइन्छ मेरा बाबा
जहाँ नि अटाइन्छ !
साँचो अर्थमा भन्नुपर्दा लोकसंस्कृतिका दृष्टिकोणले नेपाल संसारकै सर्वोच्च स्थानमा रहे तापनि हामीले यसको महत्त्वलाई बुझ्न र सही ढंगले संरक्षण गर्न सकेका छैनौं। हाम्रा मौलिक र परम्परागत संस्कृतिहरू हाम्रै समाजका ऐना हुन्। यिनीहरूले हाम्रा प्राचीन सभ्यताको इतिहास मात्रै बोकेका छैनन्, समाजमा एकाकार भएर जिउन सिकाउनेदेखि लिएर सबै जातजाति, भाषा, धर्म र परिवेशलाई आत्मसात र सम्मान गर्दै सहिष्णुताको भावना जागृत गराई समाजमा शान्ति र सद्भाव बढाउन र कायम राख्न सिकाउँछन्।
आजको पुस्ता रोजगारी र पढाइका सिलसिलामा बिदेसिनु, विज्ञान प्रविधिको विकासको उपभोगमा अभ्यस्त हुनु, पाठ्यक्रममा उति चर्चा नहुनु तथा स्वदेशकै सहरमा बस्ने र त्यहींको रहनसहन एवं संस्कृतिको सिको गर्ने भएको हिसाबले हाम्रा संस्कृति तथा मौलिक परम्पराहरू इतिहास बन्ने खतरा दिन प्रतिदिन बढिरहेको छ।
हिन्दु परम्परामा बेहुली लिएर आउने दिन रातभरि सँगिनी गाएरै उज्यालो पारेको अनुभव फिदिम नगरपालिका–१२ निवासी देवीमाया आचार्यको पनि छ। पहिलाको तुलनामा नाच्नेगाउने शैली नै परिवर्तन र आफ्नो जमानाका यस्ता गीतहरू सुनाउँदा आफ्ना छोराछोरी, नातिनातिना छक्क पर्ने, यस्तो पनि गीत हुन्छ र भनेर शंका गर्ने गरेको उनको अनुभव छ।
यसैगरी नेपाली लोकसाहित्यमा पाश्चात्यलगायत अन्य सांस्कृतिक अतिक्रमणसँगै ग्ल्यामर गीतहरूको वर्चस्व बढ्दै जानु, इतिहासमा यी गीतसम्बन्धी कुनै पनि अभिलेख अभिलेखीकरण नगरिनुले यसको अस्तित्व नै खतरामा परेको तितो यथार्थ पाँचथरका अग्रज साहित्यकार प्रेम ओझा बताउँछन्।
उनका अनुसार यसको प्रवर्धनमा स्थानीय तहदेखि नै अभिलेखीकरणको सुरुवात गर्दै तालिम र प्रदर्शनीहरू सञ्चालन गर्ने, विभिन्न मेला तथा पर्वहरूमा यस्ता खालका कार्यक्रमहरूको आयोजना र प्रचारप्रसार हुनुपर्छ। ओझा भन्छन्, ‘बालनको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का दश अवतारलाई लिएर गरिएको हो। त्यसैले यो धर्मशास्त्रमा आधारित छ।’
बाहुन–क्षत्रीबाहेक नेपालका अन्य समुदायमा कम प्रचलित बालन देवीदेवताको गुणगानमा केन्द्रित रहेको पाइन्छ। सृष्टिकालदेखिका भगवान्का लीला र अवतारहरूको वर्णन बालनमा हुन्छ। त्यसैले गेयात्मक पक्षको प्रबलता र त्यसमा नाचसमेत प्रस्तुत गरिने हुँदा यसको एउटा उद्देश्य श्रोताको मनलाई आकर्षित गर्ने रहेको पाइन्छ।
बालन लोकगीतको छोटो अंशः
होला होला होला होला होई
यसै र गाउँका पशुपतिनाथ हो
लौ रक्षे गरिदेऊ न
हाम्लाई रक्षे होला
हामी जप्छौं नारायणकै नाम
होला होला होला होला होई
ॐ श्री नम
ॐ श्री नम
जपौं भाइको नाम
यो लोकभाका पुरुषहरूले समूह बनाएर घुम्दै आफूले मानी आएका देवीदेवताका नामका श्लोक गाउँछन्। बालन विशेषतः जाग्राम बस्दा अभिनयात्मक र लयात्मक शैलीमा ५÷७÷९ जनाको समूह बनाएर गाइन्छ। यो खेल्नुअघि घरमुलीले घरमा देवीदेवता बनाउने, पूजाआजा गर्ने, नैवेद्य चढाउने र आरती गर्ने चलन रहेको कुरा फिदिम–४, गढीनिवासी कुमार ढकाल बताउँछन्। उनका अनुसार यो नाचमा खैँजडी, मुजुरा, ख्यालीलगायतका बाजाहरू बजाएर चुड्का प्रहसनमा समेत प्रस्तुति दिने प्रचलन रहेको छ। बालनलाई राम र कृष्ण चरित्रमा आधारित बनाएर स्तुति गाइन्छ:
होला होला होला होई
प्रजापति विष्णु वसुदेव हुन
तनका पिता
मथुरा नगरीमा जनम हुँदा देवकी हुन तनकी माता।
गोकुल नगरीका वसुदेव राजा माग्न आए तनलाई दिए
वसुदेव राजा बिहा गर्न आए, मधुरामा बरियात ल्याए।
वसुदेव देवकीले विवाह हुँदा बजाए नौमती बाजा
हिरा र मोतीका गहना पहिर्याए रत्नका दिए हिरा।
देश राजतन्त्रात्मक पद्धतिबाट गणतन्त्रात्मक पद्धतिमा र हिन्दु अधिराज्यबाट धर्म निरपेक्ष राज्यमा परिणत भयो। यी परिवर्तनहरूले नेपाली संस्कृतिका फरक पक्षहरूमा ल्याएको परिवर्तन, जागरण र नयाँ धारणाहरूलाई समेटेर विविधतायुक्त राष्ट्रिय संस्कृतिको समष्टिगत र सन्तुलित रूपमा सम्बोधनको वातावरण सिर्जना गर्नका लागि राष्ट्रिय संस्कृति नीति २०६७ तर्जुमा गरेको हो तर राज्यले सनातन मौलिक संस्कृति र सम्पदाको उचित संवर्धनका निम्ति नीतिगत रूपमा व्यवस्था गरे तापनि व्यवहारमा खासै लागु भएको देखिन्न।
यस्ता मौलिक परम्पराहरूलाई जोगाएर स्वदेशी तथा विदेशी पर्यटकहरूको आवागमनमा वृद्धि भई राष्ट्रले गौरव गर्दै राष्ट्रिय आम्दानीमा सहयोग पु¥याउनका लागि हाम्रा सम्पदा र संस्कृतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। हाम्रा मौलिक संस्कृति भनेका आधुनिक संस्कृतिको जग भएका हिसाबले पनि यिनीहरूको प्रवर्धन जरुरी छ।
अब मौलिक सम्पत्ति संरक्षणका निम्ति उपयुक्त उपाय र प्रविधिको पहिचान गर्दै त्यसको व्यवस्थापनका निम्ति स्रोतसाधन र जनसहभागिता जुटाएर भावी पुस्तालाई अभ्यास गराउने र हस्तान्तरण गर्नका निम्ति कार्यक्रमहरू तय गर्नुपर्छ। वर्तमान शिक्षा प्रणालीमा नै यसको महत्त्वबोध गराएर यसप्रतिको आस्था र गरिमा कायम गर्ने किसिमका औपचारिक र अनौपचारिक शैक्षिक सामग्रीहरूको व्यवस्था गरी मौलिक ज्ञान आर्जनको बाटो देखाउनु नै लोप हुनबाट जोगाउने सशक्त माध्यम हो।
बाहुन–क्षत्रीबाहेक नेपालका अन्य समुदायमा कम प्रचलित ‘बालन’ देवीदेवताको गुणगानमा केन्द्रित रहेको पाइन्छ। सृष्टिकालदेखिका भगवान्का लीला र अवतारहरूको वर्णन बालनमा हुन्छ। त्यसैले गेयात्मक पक्षको प्रबलता र त्यसमा नाचसमेत प्रस्तुत गरिने हुँदा यसको एउटा उद्देश्य श्रोताहरूको मनलाई आकर्षित गर्ने रहेको पाइन्छ।
प्रकाशित: १९ श्रावण २०८१ ०६:३६ शनिबार





